राष्ट्रिय कीर्तिमानका लागि कहिलेसम्म ओलम्पिक धाइरहने ?
पदक पनि कि विवादको जात्रा मात्र ?
काठमाडौं । केवल ३४ हजार जनसंख्या भएको देश सान मारिनोले पदक जित्यो । ६३ हजार मात्र जनसंख्या भएको देश बर्मुडाले त स्वर्ण पदक नै चुम्न सफल भयो । फिलिपिन्सले ओलम्पिक सहभागिताको ९७ वर्षपछि पहिलो स्वर्ण पदक जित्यो । यि टोक्यो ओलम्पिक २०२१ का यस्ता समाचार हुन जसले ओलम्पिकमा साना देशको सफलता र जित सम्भव हुने उदाहरण दिने समाचार हुन् ।
तर, ओलम्पिकमा नेपालको सहभागिता र त्यससँग सम्बन्धित समाचार यस्तो खुसीको खबर कहिले आउला ? वर्षौँदेखिको पर्खाइ यसपटक पनि पर्खाइमै सीमित रह्यो । नेपाल र टोक्यो ओलम्पिक २०२१ बारे आएका केही समाचारका शिर्षक यस्ता रहे—
ओलम्पिकमा सहभागी हुने खेलाडी ५ तर पदाधिकारी २६ जना ।
ओलम्पिकको तयारी गरिरहेका खेलाडी अन्तिम समयमा प्रतियोगितामा जानबाट वञ्चित ।
खास पदाधिकारी भन्दा पदाधिकारीका नाममा अरु व्यक्ति जापान जाने ।
नेपाली खेलाडी पहिलो चरणबाटै बाहिर ।
नेपालको चुनौती समाप्त । र सबैभन्दा खुसी हुनुपर्ने खबर रह्यो ।
नेपाली खेलाडीद्वारा राष्ट्रिय कीर्तिमान कायम
नेपाली खेलाडीले ओलम्पिकमा प्रतिस्पर्धा गर्न थालेको ६ दशक पुग्दा पनि खुसी हुनुपर्ने खबर अझै आउन सकेको छैन । अर्थात् हरेक प्रतियोगिता सहभागितामा सीमित र राष्ट्रिय कीर्तिमानलाई स्वर्ण पदक मान्नुपर्ने अवस्थाबाट माथि उठ्न सकेको छैन ।
नेपाल फेन्सिङ संघका अध्यक्ष सुनिलकुमार श्रेष्ठ जुडोको अफिसियल बनेर ओलम्पिक पुग्न कुनै लाज मानेनन् ।
खेल पदाधिकारीको ध्याउन्न पनि ओलम्पिकमा पदक होइन, सहभागिता र भत्तामा केन्द्रित देखिन्छ । खेल संघमा पदक कसरी ल्याउन सकिन्छ भन्नेबारे होइन, आफू वा आफ्नो गुटका व्यक्तिलाई कसरी ओलम्पिकमा सहभागी गराउन सकिएला भन्ने ध्याउन्नमा मस्तराम रहेको हो जस्तो देखिन्छ । होइन भने लगातारको निराशाजनक प्रदर्शन हुँदा कम्तिमा देशले सहभागिता नै नजनाएको खेलका पदाधिकारी कुन मुख र नैतिकताले ओलम्पिकमा सहभागी हुँदा हुन् ? यो अहिलेको मात्र होइन वर्षौंदेखिको यथार्थ हो ।
टोक्यो ओलम्पिकमा सहभागी खेलाडी तथा अफिसियललाई राष्ट्रिय खेलकुद परिषद्ले दैनिक २५ डलर उपलब्ध गराएको छ । राखेप स्रोतकाअनुसार अहिले पेस्कीस्वरुप दैनिक २५ डलर लिएका छन् । उनीहरुलाई ओलम्पिक कमिटीले दिने भत्ता छुट्टै छ । भत्ताका लागि खेलकुद पदाधिकारीले महामारीमा पनि जापान जान छाडेनन् । अझ पदीय मर्यादा भुलेर पदाधिकारीले जापान जान तँछाडमँछाड नै गरे । भलै तीव्र आलोचनापछि केही प्रतिनिधि जापान गएनन् ।
सर्वाधिक चर्चा नेपाल ओलम्पिक कमिटी (एनओसी) को सचिव तथा नेपाल कबड्डी संघको अध्यक्ष तुलसा थापाको भयो । सांसदसमेत रहेकी थापा भत्ताकै लागि पदीय मर्यादा भुलेर जुडोको म्यानेजर बनेर टोक्यो पुगिन् । नेपाल फेन्सिङ संघका अध्यक्ष सुनिलकुमार श्रेष्ठ जुडोको अफिसियल बनेर ओलम्पिक पुग्न कुनै लाज मानेनन् ।
तेक्वान्दो संघका अध्यक्ष प्रकाशसमसेर राणा सुटिङको म्यानेजर बनेर बक्सिङ संघका अध्यक्ष राम अवाले स्विमिङको म्यानेजर बनेर जापान पुगे । एनओसी उप–महासचिव पिताम्बर तिम्सिनालाई एथलेटिक्सको म्यानेजर बनाएर जापान जान भनिए पनि अमेरिकामा रहेका उनी अन्तिम समयमा जापान गएनन् ।
यो संघभित्रका वरिष्ठहरुले कसरी राजनीतिक पावर र पहुँचका आधारमा ओलम्पिकलाई घुम्ने र भत्ता पचाउने माध्यम बनाउँछन् भने सानो उदाहरण हो यो । यो नयाँ होइन वर्षौदेखि चल्दै आएको ‘परम्परा’ नै बनेको छ । तर राखेप र पदाधिकारी कसैले यो गलत संस्कार तोड्ने आँट गरेका छैनन् । बरु यो नयाँ चलन होइन भन्दै प्रश्रय नै दिइरहेको छ ।
नेपाल र पदक
नेपाल अहिलेसम्म ओलम्पिक पदक नजिक पुग्न सकेको छैन । पहिलो चरण पार गरेको इतिहास पनि दुर्लभै छ । यो पटक पनि अवस्था फरक रहेन । टोक्यो ओलम्पिकमा प्रतिस्पर्धा गरेका पाँचमध्ये तीन खेलाडीले प्रदर्शनमा सुधार गर्दै राष्ट्रिय कीर्तिमान बनाए । तर समग्रमा उनीहरुको अवस्था पुछारभन्दा केही माथि मात्रै रह्यो ।
नेपाली पौडीमा एकछत्र राज गर्दै आएकी गौरिका सिंहले १ सय मिटर फ्रिस्टाइलमा १.००.११ मिनेटको समय निकाल्दै लामो कोर्टमा राष्ट्रिय कीर्तिमानमा सुधार गरिन् । सर्वाधिक आशा गरिएकी उनी आफ्नो हिटमा चार जनामा तेस्रो रहिन् ।
त्यस्तै अलेक्जेन्डर (एलेक्स) शाहले पुरुष १ सय मिटर फ्रिस्टाइलमा ५३.४१ सेकेन्डको समय निकाल्दै आफ्नै कीर्तिमान भंग गरे । त्यस्तै कल्पना परियारले सुटिङ्गको १० मिटर एयर राइफलमा ६१६.८ स्कोर गर्दै पहिलो दिन आफ्नै नामको दुई वर्ष पुरानो कीर्तिमान तोडिन् । जुडोकी सोनिया भट्टको भने ओलम्पिकमा पहिलो बाउट जित्ने चाहना नै पुरा भएन । एथलेटिक्सकी सरस्वती चौधरीले आफ्नै कीर्तिमान भंग गर्न सकिनन् ।
समग्रमा नेपालको ओलम्पिकमा प्रदर्शन केवल सहभागिता मात्र रह्यो । तर, यो सहभागिता मात्रमा पनि नेपाल सन् २००४ र २००८ भन्दा पनि पछि छ । कीनकी त्यतिबेला नेपाली खेलाडीले छनोट चरण पार गरेर ओलम्पिक खेलेका थिए । अहिले नेपालका सबै खेलाडी वाइल्ड कार्ड र विश्वव्यापी सहभागिताको आधारमा मात्र ओलम्पिकमा छनोट भएका छन् ।
ओलम्पिक छात्रवृत्ति
नेपाललाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले तयारीका लागि नै रकम उपलब्ध गराउँछ । अझ केही खेलाडीका लागि त छात्रवृत्तिको पनि व्यवस्था हुन्छ । कीर्तिमान राखेका तीनै खेलाडीले ओलम्पिक छात्रवृत्तिमा करिब दुई वर्ष तयारी गरेका थिए । त्यसअन्तर्गत उनीहरूलाई मे, २०१९ यता प्रशिक्षण र प्रतियोगिताका लागि मासिक ५ सय अमेरिकी डलर दिइएको थियो । तर, विश्वकै सबैभन्दा प्रतिष्ठित खेलका लागि उनीहरूको तयारी अपुरो देखियो । उनीहरुको प्रदर्शन ओलम्पिकमा सहभागी उत्कृष्ट होइन मध्यम खेलाडीको स्तरमा पनि रहेन ।
गौरिकाले २०७१ सालयता नेपाली पौडीमा एकछत्र राज गरिरहेकी छन् । लन्डनमा परिवारसँगै रहेर पढाइ र ट्रेनिङ्ग गरिरहेकी उनी नेपाली पौडीमा कीर्तिमानकी पर्यायजस्तै हुन् । उनले १२औं सागमा एक रजत र तीन कांस्य हात पारेकी थिइन् भने नेपालमा नै आयोजना भएको १३औं सागमा चार स्वर्ण, दुई रजत र तीन कांस्य जित्दै सनसनी मच्चाएकी थिइन् । एलेक्सको तयारी पनि उस्तै रह्यो । तर यो पटक खेलाडीका लागि कोरोना महामारीले केही असहज अवस्था भने ल्याएकै हो । खेलकुद मन्त्रालय, राखेप र ओलम्पिक कमिटीले यो महामारीमा पनि खेलाडीलाई पर्याप्त अवसर सिर्जना गर्न सक्थे ।
तर त्यसका लागि उनीहरुले चाहनुपर्थ्यो । यी निकाय र खेल संघहरु कति गैरजिम्मेवार थिए र छन् भन्ने कुरा त गोपिचन्द्र पार्कीले अन्तिम समयमा ओलम्पिकमा खेल्न नपाएको र त्यसको ढाकछोपका लागि तीन पक्षले मिलेर निकालेको वक्तव्यबाटै थाहा हुन्छ । वर्षौँ तयारी गरेको खेलाडीले खेल्न जान नपाउँदा पनि खेल पदाधिकारीहरुले मेल हेर्न भ्याइन, कम्प्युटर बिग्रेको थियोजस्ता तर्क गरे र त्यही बहानामा उन्मुक्ति पनि पाए ।
त्यो ओलम्पिक
नेपालले ओलम्पिक सहभागिताको आधा शताब्दी बढी समय अनुभवकै लागि मात्र खेलेको, अब पदक जित्नका लागि खेल्नुपर्ने र त्यसको तयारी ढिला भइसकेको मत राख्नेहरु कम छैनन । तेक्वान्दोकी संगीना वैद्यले २००४ मा एथेन्स ओलम्पिकमा छनोट चरण पार गरेर सहभागिता जनाएकी थिइन् । त्यस्तै तेक्वान्दोका दीपक विष्टले पनि २००८ मा बेइजिङ ओलम्पिकका लागि छनोट चरण पार गरेर सहभागिता जनाएका थिए ।
त्यसबाहेक बाँकी सबै नेपालीले विश्वव्यापी सहभागिता र आमन्त्रित कोटामा ओलम्पिकमा प्रतिस्पर्धा गरिरहेका छन् । गौरिका, एलेक्स र सरस्वतीले विश्वव्यापी सहभागितामा तथा सोनिया र कल्पनाले आमन्त्रित कोटामा प्रतिस्पर्धा गरे । त्यसैले पनि ओलम्पिकमा नेपाली खेलाडीको प्रदर्शन केवल राष्ट्रिय कीर्तिमान सुधार गर्ने अभियानमा सिमित भएको छ ।
यो क्रम कहिले रोकिने यसको जवाफ दिने निकाय चार वर्षपछि हुने ओलम्पिकका लागि अहिलेबाटै राजनितिक लाइन मिलाउन लागिसेकेको छ । फेरी चार वर्षपछि उहि कथा पात्र फरक भएर उदाउने पक्का छ ।
खेलकुदको विकासका जतिसुकै गफ हाँकेपनि यही सोच र पाराले अझै धेरैवटा ओलम्पिकमा नेपालले पदक जित्ने सम्भावना आकाशको फलसरह मात्र हो भन्नेमा सायद कसैको दुईमत होला ।