होटलमा भेरोसेल भेटिएपछि गोकर्णेश्वरद्वारा खोप कार्यक्रममा कडाइ (तस्बिरहरू)
काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाको बेसीगाउँस्थित ग्रेस मःमः पसलमा भेरोसेल खोपका भायल र सिरिन्ज भेटिएपछि नगरपालिकाले खोप कार्यक्रममा कडाइ गरेको छ ।
गोकर्णेश्वर नगरपालिकाको सो स्थानमा खोपका खाली बोतल र सामग्री भेटिएको र केहि व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गरिएको प्रहरी वृत्त बौद्धका प्रमुख प्रहरी नायव उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिएका छन् ।
उनले घटनाको बारेमा थप अनुसन्धान भइरहेको पनि बताएका छन्। उक्त खोप मःमः पसलनजिकै रहेको फार्मेसीबाट लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उक्त फार्मेसीबाट प्रहरीले २ जना स्वास्थ्यकर्मीलाई पक्राउ गरी सामान्य सोधपुछ गरेर छाडेको छ ।
घटनाको बारेमा थप अनुसन्धान जारी रहेकाले सोधपुछ गरी छाडिएका व्यक्तिहरूको परिचय पनि गोप्य राखिएको वृत्त प्रमुख न्यौपानेले बताए ।
उक्त घटनाको बारेमा नगरपालिकाको स्वास्थ्य शाखामा सम्पर्क गर्दा नगरपालिकामा रहेको मौज्दात खोप नहराएको स्वास्थ्य शाखा प्रमुख उपसचिव हरिप्रसाद उपाध्यायले बताए ।
नगरपालिकाले आफूसँग मौज्दात रहेको खोपमा अरु थप खोप मगाई मंगलबार स्थानीयबासीलाई ३००० डोज भेरोसेल खोप लगाइँदैछ । हरेक वडामा स्थानीय वडा अध्यक्षको सिफारिससहितको कुपन बाँडी आज नगरपालिकाले खोप कार्यक्रम संचालन गरेको हो ।
९ वटै वडामा बिहान ८ बजे देखि १० सम्म कुपन बाँडेर ११ बजे पछि स्थानीय सहयोगी माविमा खोप लगाउन सुरु गरेको हो ।