गण्डकीमा जनमोर्चा संसदीय दलको नेतामा पियारी

पोखरा । गण्डकी प्रदेशसभाअन्तर्गत राष्ट्रिय जनमोर्चाको संसदीय दलको नेतामा पियारी थापा चयन भएकी छन् । दलका नेता कृष्ण थापालाई पार्टी ह्वीपविपरीत काम गरेको आरोपमा पदमुक्त गरेपछि उनको सट्टामा पियारी दलको नेता बनेकी हुन् । नयाँ सरकार गठन गर्ने बेला पार्टीको निर्देशनअनुसार उनले प्रभावकारी भूमिका खेलेकी थिइन् ।

मंगलबार बसेको संसदीय दलको बैठकले केन्द्रीय निर्देशनअनुसार थापालाई दलको सचेतक बनाउने निर्णय गरेको हो । उनी यसअघि सचेतक थिइन् । सचेतकको जिम्मेवारी भने अर्का सांसद खीमबिक्रम शाहीले पाएका छन् । तीन सदस्यीय जनमोर्चा कृष्ण थापालाई कारबाही गरेपछि दुई सदस्यमा खुम्चिएको छ । शाही यसअघि नै प्रदेश मामिला समितिको सभापतिमा निर्वाचित भएका छन् ।

प्रदेश सरकारले राजनीतिक नियुक्ति दिने निकायमा दलको तर्फबाट पहल गर्ने निर्णय पनि भएको छ । गण्डकी सरकारले साना दललाई समेत सुविधा दिनेगरी दोहोरो थ्रेस होल्ड हटाउने निर्णय गरेको छ । यसअघि गण्डकीमा दलको मान्यता पाउन १० प्रतिशत थ्रेसहोल्ड कटाउनुपर्ने बाध्यकारी व्यवस्था राखिएको थियो ।

अहिलेको नेपालको संविधानअनुसार साढे १ प्रतिशत थ्रेस होल्ड कटाएका दललाई सुविधा दिने निर्णय भएको छ ।

थापाले दलको नेताको हैसियतामा सुविधा पाउनेछिन् । अर्को दल जनता समाजवादी पार्टीमा पनि दुईमात्रै सांसद छन् । त्यहाँ भने दलको नेतामा हरिशरण आचार्य थिए । उनी अहिले मन्त्री बनेका छन् । गण्डकी सरकारले संशोधन गरेको विधेयक प्रदेशसभामा दर्ता भइसकेको छ । अब सुरु हुने प्रदेशसभा बैठकमा टेबुल गर्ने र त्यहाँबाट पास भएपछि कार्यान्वयनमा जानेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *