मैदानभित्र र बाहिर पारस

एक प्रकारको हौसला थियो । तर अब त्यो पनि नरहने भयो । तर यो खल्लोपनभित्र ‘पारस क्रिकेटबाट टाढा रहँदैनन्‚ अब के गर्लान् भन्ने’ कौतुहल पनि मिसिएको थियो । पारसले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिए । त्यो  पनि कोरोना महामारीको समयमा, कुनै खेल मैदानबाट नभई सामाजिक सञ्जालबाट। पारसका  लाखौँ समर्थकले उनको सन्न्यासको पल (जुन हरेक फ्यानले हेर्न चाहन्छ)  महसुस गर्न पाएनन् । यो खबरले अरुसँगै मलाई पनि नरमाइलो लाग्यो । अब राष्ट्रिय क्रिकेट जर्सीमा उनलाई देख्न पाइनेछैन । कप्तानी छाडेपनि उनी मैदानमा थिए ।

दुई वर्षअघि उनले कप्तानको जिम्मेवारीबाट विश्राम लिँदा मैले एउटा ब्लग लेखेको थिएँ (कप्तान होइन‚ भाइ भन्नुस् भाइ) । नेपाली क्रिकेटमा सर्वाधिक चर्चित खेलाडी पारसले क्रिकेटरको भूमिकालाई नै छाडेको यो पलमा अब के लेखौं ? विषयको त कमी थिएन ।

उनीसँगका स्मृतिहरू यति छन् कि शब्दमा उतार्न सकिन्न । आफ्नै आँखा अगाडि पारसको क्रिकेट करियर मौलाएको हेरियो । उनको नेतृत्वमा नेपाली क्रिकेट फस्टाएको हेरियो । उनको निडर नेतृत्वमा अरु क्रिकेटरहरू परिपक्व भएको हेरियो । अझै मन अघाएको छैन । नेपाली क्रिकेटका पर्याय बनिसकेका पारसलाई क्रिकेटबाट अलग्याएर हेर्न पनि त सकिन्न । त्यसैले पनि उनको जीवनको यो महत्वपूर्ण निर्णयमा केही नलेखी बस्न सकिएन । कहाँबाट सुरु गर्ने होला ?

यो पनि : ‘अलि छिटो भयो कि !’

पारसको ठुलो समर्थक तथा मेरी सहकर्मी प्रियंका कापरसँग मैले यो मेरो उकुसमुकुस शेयर गरेँ । ‘पारस भनेको नेपाली किक्रेटको आशा हो, जबसम्म उनी छन्, नेपाली क्रिकेटमै छन् । उनको भूमिकामात्रै फरक होला, हो‚ यहि आशाको बारेमा लेख्नुस्’ उनले यो सटिक सल्लाह दिइन् । यहाँनेर लाखौँ समर्थकको जस्तै उनको र मेरो कुरा मिल्यो ।

शायद धेरै समर्थक र नेपाली क्रिकेटका शुभचिन्तकको मनमा पनि यहि सवाल अनि यस्तै निष्कर्ष होला यतिबेला ।

‘अन्तर्राष्ट्रिय क्रिकेटरका रुपमा मेरो यात्रा टुङ्गिएको छ तर नेपाली क्रिकेटको लागि मेरो सपना भने अझै पनि बामे सर्दैछन्‚’ उनले निकालेको वक्तव्यमा पनि यहि वाक्य लेखेका छन् । पारस यस्ता क्रिकेटर हुन्‚ जो मैदानभित्र र बाहिर उत्तिकै राम्रो क्रिकेट खेल्न सक्दथे । मैदानमा उनी ब्याट र बलले प्रहार गर्दथे भने मैदान बाहिर नेपाली क्रिकेटको बारेमा चिन्ता व्यक्त गरेर क्रिकेटमा देखिएका वेथितिलाई व्यवस्थापन गर्न खोज्दथे ।

मैदानमा घण्टौँ बिताउने मात्र नभई नेपाली क्रिकेटको उचित व्यवस्थापनका लागि मध्यरातसम्म पनि छलफलमा व्यस्त रहन सक्दथे । यहि व्यक्तित्वले उनलाई अरुभन्दा बेग्लै र विशेष बनाएको छ । त्यसैले त उनको सन्न्यास घोषणामा ‘किन यति छिटो ?’ भनेर सामाजिक सञ्जालमा धेरैले प्रश्न गरेका छन् ।

यो पनि : पारसको सन्न्यासपछिको सामाजिक सञ्जाल

साथमा उनको सफल दुई दशकको यात्रामा योगदानको कदर गर्दै ‘धन्यवाद अनि आगामी दिनमा सफलताको कामना’ गरेका छन् । उनीप्रतिको यो सरोकार, यो शुभच्छा खेर नजाने संकेत पारस आफैँले गरिसके‚ क्रिकेट व्यवस्थापनमा जोड दिने प्रतिक्रिया दिएर ।

हारको संघारमा पुगेर पनि जितको हिसाबकिताब गर्न नछाड्ने गज्जबको क्षमता उनमा छ । अब लथालिङ्ग क्रिकेट व्यवस्थानलाई समेट्ने र युवा क्रिकेटरमा सम्भावनाका क्षितिज उघार्ने जोडघटाउ गरेरै उनले यो सन्न्यासको निर्णय लिएका होलान् । उनको यो निर्णयमा, सफल कप्तान, सफल खेलाडीका लागि मैदानभित्रको इनिङका लागि बधाई ।

‘क्रिकेट व्यवस्थापन’को मैदानबाहिरको अबको दोस्रो इनिङका लागि शुभकामना । हारको संघारबाट हतोत्साहित नभइकन जितको स्वाद  चखाउने क्षमता भएका पारसको मूलमन्त्र  भनेकै  ‘सामूहिक भावना हो’। दम्भ भएको अब्बल‚  बिसौँ नम्बरको खेलाडीभन्दा सामूहिक भावना भएको अठारौँ या उन्नाइस नम्बरको खेलाडी महत्वपूर्ण हुने बताउने पारस यही सामूहिक भावनामा क्रिकेट व्यवस्थापनमा लाग्नेछन्, यो क्षणमा यो नै खुसीको कुरा हो । नेपाली क्रिकेटको एक दिवसीय मान्यताको सपना पुरा गर्नु अनि टी-ट्वेन्टी विश्वकपमा  नेपालले खेल्नु पारसकै नेतृत्वमा सम्भव भएको थियो ।

(पवित्रा राउतको ब्लगबाट)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *