नेपालमाथि भारतको हेपाहा व्यवहार सह्य छैन

काठमाडौँ । विश्वभर साम्राज्यवादको बिगबिगी भएका बेलामा सबैतिर उपनिवेशवादको बिगबिगी भएको बेला हाम्रै महादेशमा पनि हाम्रा वरीपरी भएका सबैजसो मुलुकहरू साम्राज्यवादीहरूको उपनिवेश भएको बेलामा पनि हाम्रा पूर्वजहरूले‚ हाम्रा पुर्खाहरूले हाम्रो देशलाई कहिल्यै कसैको प्रत्यक्ष उपनिवेश बन्न दिनुभएन । र स्वाधीन र स्वतन्त्र देशको रुपमा नेपाललाई खडा गर्नुभयो । त्यस्तो स्वतन्त्र र स्वाधीन देशको नागरिक हुन पाएकोमा आज पनि हामी गौरव गर्छौँ ।

हाम्रा पूर्वज र पुर्खाहरूले हामीलाई यो अभिभारा दिनुभयो कि राष्ट्रिय सार्वभैमिकता‚ भैगोलिक अखण्डता, स्वाधीनता‚ स्वाभिमान र राष्ट्रिय हितको रक्षा गर्नु साथसाथै त्यसको निम्ति राष्ट्रिय एकतालाई सुदृढ गर्नु । आज पनि हामी हाम्रा पूर्वज र पुर्खाहरूले दिएको यो अभिभारालाई शिरोपर गर्छौं । यसअनुसार अगाडि बढ्नु र यसलाई पूरा गर्नु आफ्नो कर्तव्य ठान्छौँ । र‚ त्यसमै हामी दृढतापुर्वक अगाडि बढिराखेका छौँ । तर, यो कर्तव्य पूरा गर्ने सिलसिलामा हामीलाई थाहा छ हामी सचेत छौँ, के अझ हाम्रो मुलुकको राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डतामाथि अतिक्रमण गर्दै विदेशी शक्तिहरूद्वारा हाम्रो भूभाग कब्जा गरिएको छ ।

हाम्रो सीमामा अतिक्रमण गरिएको छ । हाम्रो भूभागमा विदेशी सैनिकहरू‚ सुरक्षा बलहरूले बुट बजारिराखेका छन् । विदेशीले सीमामा बनाएका तटबन्ध र बाँधहरूका कारण हाम्रा कतिपय बस्ती र भूभागहरू डुबानको अवस्थामा छन् ।

कतिपय कयौँ असमान सन्धी सम्झौताहरू अहिले पनि हामीमाथि लाँदिएका छन् । नेपालको आन्तरिक ममिलामा हस्तक्षेप गर्ने प्रवृत्ति कायम छ । हस्तक्षेप भइराखेकै छन् । यद्यपि, यस मामिलामा नेपालमा राजनीतिक पार्टीका नेताहरूले पनि कहिलेकाहिँ आफ्नो निहीत स्वार्थका निम्ति विदेशी हस्तक्षेपमा रम्ने र कतिपय बेलामा विदेशी हस्तक्षेप नै आमन्त्रण गर्ने प्रवृत्ति देखेबाट पनि विदेशी हस्तक्षेप नेपालमा भित्रिने अवसर प्राप्त भएको छ ।

त्यस्तैगरी नेपालको प्राकृतिक स्रोतमाथि पारस्पारिक हितका आधारमा उपयोग गर्नुपर्नेमा नेपालको आफ्नै हितलाई पछाडि धकेलेर विदेशीहरूले आफ्नो हितलाई मात्रै केन्द्रमा राखेर नेपाली प्राकृतिक स्रोतको दोहन गर्ने एउटा प्रवृत्ति पनि देखाइराखेका छन् ।

नेपालको भूराजनीतिक अवस्थितिको नाजायज फाइदा उठाउँदै‚ नेपालको भूराजनीतिक संवेदनशिलतालाई उपेक्षा गर्दै नेपाली भूमिलाई आफ्नो सामरिक एवं रणनीतिक स्वार्थको निम्ति प्रयोग गर्ने, नेपाललाई आफ्नो त्यस स्वार्थको क्रियास्थल बनाउनेलगायतका क्रियाकलापहरूबाट नेपाललाई सताउने प्रयत्न पनि भइराखेको हामीले व्यहोरेका छौँ ।

हामी यो सबै प्रवृत्तिप्रति सचेत हुँदै नेपालको रौष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता, राष्ट्रिय स्वाभिमान र हितको रक्षा गर्न कृत संकल्पित हुँदै संघर्ष गरिराखेका छौँ । र यो संघर्षलाई हरहालतमा सफलताको बिन्दुमा पु‍र्‍याउनेमा हामी दृढ छौँ ।

तर, सम्माननीय अध्यक्ष महोदय ! यसै सिलसिलामा केही दिनअघि मात्रै महाकाली नदीमा तुइन तर्दै गर्दा दार्चुलाका जयसिंह धामी भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइनको तार काटिदिएर अहिलेसम्म पनि बेपत्ता भएको स्थिति कायम छ । र परिवाजनले उहाँको सास र लाश केही फेला नपरेको स्थिति भएबाट निधन भएको आशंका गरी कुशको शव बनाएर अन्तिम संस्कार गरेको दुःखद घटनाले हामी सबै नपालीको हृदय छिया छिया भएको छ ।

असामयिक पीडा हामी व्यहोरिरहेका छौँ । अहिलेसम्म आएका सबै तथ्यहरूले के प्रष्ट गरेको छ भने, यो भारतीय सीमा सुरक्षा बलका व्यक्तिहरूकै कारणबाट, तुइनको तार काटिदिएकै कारण जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएका हुन् । म यसप्रकारको अमानवीय उत्पीडनकारी र क्रूर कार्यको घोर निन्दा एवं भर्त्सना गर्दछु । यसका निम्ति भारतले अविलम्ब नेपाल र नेपाली जनतासँग सार्वजनिक क्षमतायाचाना गर्न माग गर्दछु । दोषी व्यक्तिहरूमाथि तत्काल कारबाही गर्न माग गर्दछु । र अबका दिनहरूमा यस प्रकारका हेपाहा उत्पीडनकारी व्यवहार अन्त्य गर्न नदोर्‍याउन पनि म जोडदार माग गर्न चाहन्छु ।

त्यसैगरी, यस सन्दर्भमा नेपाल सरकारले छानबिन समिति बनाएर परिपक्क कुटनीति र संवादद्वारा यो समस्याको समाधान गरोस् र आवश्यकता पर्दा जे कदम चाल्नुपर्छ‚ सबै कदम चाल्ने प्रतिबद्धता प्रकट गरेको छ । सामान्यतया त्यो नीतिगत रुपमा ठिकै छ । तर, यो ढिलो भयो । यस विषयमा म नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।

छिटोभन्दा छिटो छानबिन समितिको रिपोर्ट ल्याएर आफ्नो तर्फबाट भारतसँग गम्भीर विरोध र आपत्ति प्रकट गर्ने, र दोषीमाथि कारबाहीको माग गर्ने र पीडित परिवारलाई उचित राहत र भरथेगको व्यवस्था गर्न तत्काल कदम चालोस् भन्ने माग गर्न चाहन्छु ।

नेपाली जनतामा यस प्रकारको अमानवीय एवं क्रूर घटनाबाट जुन पीडा पैदा भएको छ‚ त्यो पीडाले देशभक्तिको बाँध, मानवताविरोधी कार्यको विरुद्ध उर्लिएको भावनाले त्यो बाँध भत्काएर आफैँ प्रतिवाद र प्रतिकारमा आउने स्थिति उत्पन्न गर्ने कार्य कुनै पनि हालतमा उपयुक्त हुँदैन । यस सम्बनधमा नेपाल सरकारले तत्काल कदम चालोस् भन्ने विशेष अनुरोध गर्न चाहन्छु ।

साथसाथै भारत सरकारलाई पनि विनम्र अपिल गर्न चाहन्छु । हामी भारतसँग असल मैत्रीपूर्ण सम्बन्ध कायम गर्न चाहन्छौँ । हामी नेपाल र भारतबीचमा भएका सबै समस्याहरू पारस्पारिक वार्ता र संवादको माध्यमबाट‚ कुटनीतिक ढङ्गबाट सकारात्मक समाधान गरौँ भन्ने पक्षमा छौँ । तर, म भन्न चाहन्छु- नेपाल कुनै पनि हालतमा हाम्रो राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वाभिमान र हितमाथिको अतिक्रमण सहन गर्ने छैन ।

नेपालीमाथिको हेपाहा व्यवहार र यस प्रकारको उत्पीडनको कार्य सहने छैन । त्यसका निम्ति जे गर्नुपर्छ सबै संघर्ष गर्न नेपाली जनता देशभक्त नेपालीहरू कृत संकल्पित छन् भन्ने कुरा पनि म स्पष्ट पार्न चाहन्छु । त्यसैले भारत सरकारले छिटोभन्दा छिटो आफ्नै पहलकदमीमा पनि क्षमायाचना गर्ने, दोषीमाथि कडा कारबाही गर्ने, र अब आइन्दा यस्तो प्रकारको गल्ती दोहोर्‍याइने छैन भनी प्रतिबद्धता व्यक्त गर्ने काम गरोस् भन्ने म अनुरोध गर्न चाहन्छु ।

हो, अहिले नेपालमा राजनीतिक पार्टीहरूको बीचमा आन्तरिक कारणले केही मतभेदहरू देखा परेका छन् । तर, कोही भ्रममा नपरून्‚ आवश्यकता पर्दा सारा नेपालका राजनीतिक पार्टीहरू, सबै सामाजिक शक्तिहरू, सम्पूर्ण नेपाली जनताहरू राष्ट्रियताको पक्षमा एक ढिक्का भएका छन् । अब पनि एक ढिक्का हुन्छन् । त्यसैले हामी नेपाललाई हेप्ने, नेपाली भूमि अतिक्रमण गर्ने, नेपालीप्रति दुर्व्यवहार गर्ने काम कसैले नगरोस् र सच्याओस् भनेर अनुरोध र अपिल गर्न चाहन्छु ।

(नेकपा (माओवादी केन्द्र)का नेता श्रेष्ठले बुधबार राष्ट्रिय सभामा व्यक्त गरेको विचार)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *