साउनमा संक्रमणदर बढ्ने सरकारको प्रक्षेपण
काठमाडौँ । सरकारले साउन महिनामै कोरोना संक्रमणदर चुलिने प्रक्षेपण गरेको छ । संसदीय समितिमा स्वास्थ्य मन्त्रालयले प्रस्तुत गरेको प्रक्षेपणअनुसार साउन महिनामा कोरोना संक्रमणदर धेरै रहने र त्यसपछि बिस्तारै घट्दै जाने उल्लेख गरिएको छ ।
प्रक्षेपणअनुसार अबको पाँच महिनामा कोरोना संक्रमितको संख्या १ लाख ९३ हजार नाघ्नेछ ।
प्रक्षेपण प्रस्तुत गर्दै स्वास्थ्य मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. गुणराज लोहनीले ५ महिनामा १ लाख ९३ हजार ८५६ जना कोरोना संक्रमित थपिने अनुमान गरिएको जानकारी दिए ।
साउनमा ५३ हजार ३०७, भदौमा ४५ हजार ७२६, असोजमा ३८ हजार ५९७, कात्तिकमा ३१ हजार ४४ र मंसिरमा २५ हजार १८३ जना कोरोना संक्रमित थपिने अनुमान गरिएको उनले जानकारी दिए ।
उनीहरूमध्ये ९ हजार ६९३ जना गम्भीर बिरामी हुने र उनीहरूलाई सघन उपचार र ३८ हजार ७७१ जनालाई उपचार आवश्यक पर्ने प्रक्षेपण गरी त्यसैअनुसार तयारी अघि बढाइएको प्रमुख डा. लोहनीले जानकारी दिए ।