‘सत्तापक्ष र प्रतिपक्ष कुनै होइनौँ’
काठमाडौं । माधवकुमार नेपाल समूहका नेता रघुजी पन्तले आफूहरु सत्तापक्ष र प्रतिपक्ष दुवै नभएको प्रष्ट पारेका छन् । बिहीबारदेखि शुरु भएको केन्द्रीय कमिटी बैठक सकिएपछि पत्रकारहरुसँग कुराकानी गर्दै बुद्धनगरस्थित क्वालिटी क्याफेमा नेता पन्तले आफूहरु सरकारमा नजाने र प्रतिपक्षमा समेत नरहने बताएका हुन् । ‘हाम्रो कारणले मन्त्रिमण्डल विस्तार रोकिएको होइन,’ नेता पन्तले भने, ‘हामी सरकारमा जाँदैनौं, बैठकमा यस विषयमा छलफल नै भएन । हामी सत्ता पक्षमा छैनौं, विपक्ष गठबन्धनमा पनि छैनौं ।’
आफूहरुको ध्यान अहिले पार्टी एकतातिर मात्र भएको दाबीसमेत पन्तले गरेका छन् । ‘१० बुँदा प्रस्तावना पार्टी एकताको मुख्य आधार हो,’ नेता पन्तले भने, ‘हाम्रो ध्यान सिर्फ पार्टी एकतामै छ । हामी यहीबारे निरन्तर छलफलमा छौँ ।’
अध्यक्षलाई आत्मालोचना गर्न आग्रह
बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आत्मालोचना गर्न आग्रहसमेत गरेको छ । एमाले एकता नै अन्तिम विकल्प भएको भन्दै बैठकले अध्यक्ष ओलीलाई आत्मालोचना गर्न आग्रह गरेको हो ।