अल्लि अर्कै अलिफ
काठमाडौँ । झट्ट सुन्दा अलि ‘अनौठो’ जस्तो सुनिन्छ‚ लोक गायक ‘अलिफ खान’ को नाम । तर, जब उनीबारे थाहा हुन्छ‚ लाग्छ लोक भाका उनको रहर होइन‚ रगत नै हो । उनको घर पाल्पा र मामाघर अर्घाखाँची । पाल्पाको अर्घेलीमा हुर्किएका अलिफमा लोक भाकाको प्रभाव यसरी पर्यो कि उनी त्यसबाट अछुतो रहनै सकेनन् ।
अर्घेलीका सयौँ घरमा एकमात्र मुस्लिम परिवार थियो । सानै थिए अलिफ, परिवारको आर्थिक अवस्था कमजोर थियो । विद्यालयमा गायन प्रतियोगिता हुने, जित्नेले कापी कलम पाउने । यही लोभले उनी स्टेज चढे । आफैँले रचना गरेको गीत उनले कविता झैँ भटटट भट्याए र फर्किए । उपहारको लोभमा गाएको गीतले के प्रशंसा पाउँथ्यो, पाएन ।
तर उनको हिम्मत भने कम भएन । किनपनि भने उनले एक्लै भएका बखत गीत गाउन थालेको निकै समय भइसकेको थियो । उनले त्यस समय गाउनेमात्र गरेनन्, लयसँगै शब्द पनि भेला पार्न थाले । एक दुई पटक अनुभवको कमी र मञ्चको डरले मुहार मलीन भएपनि बिस्तारै उनी खुल्न थाले । उनीभित्रको प्रतिभा खुल्न थाल्यो । अनि त उनी गीत गाएसँगै केही न केही लिएरै घर आउन थाले ।
उनी सम्झिन्छन्, ‘प्रतियोगिताहरूबाट खाली हात घर आउनु नपरेपछि विस्तारै बुबाआमाले पनि साथ दिन थाल्नुभयो ।’
कमजोर आर्थिक अवस्थाका बाआमाले अलिफले गाएको सुनेका थिएनन् । किनभने उनी बाआमाका अघिल्तिर जति अनुरोध गर्दा पनि गाउँदैन थिए । तर ‘अलिफले गाउँछ’ भनेको सुनेकै बाआमाले उनलाई वकमेन, किबोर्ड, गितारलगायत वाद्यसामग्री जुटाइदिए । तैपनि उनलाई बाआमाका सामुन्ने गाउने आँट भने आएन ।
संघर्षै संघर्ष
एसएलसीपछि उनी पाल्पाबाट बुटवल झरे । गीत गाउने अल्लि फराकिलो परिवेश र अवसरहरूको खोजी पनि यसको कारण थियो । गीत गाउने प्रस्ताव त आउँथे‚ उनी जान्थे पनि । तर बिनापारिश्रमिक । एकपटक तीन जिल्ला पार गरेर जानुपर्ने ठाउँबाट निम्ता आयो । उनी रातारात कार्यक्रमस्थल पुगे । लामो समयसम्म गाउने पालो कुरे । तर अहँ‚ उनले गाउन पाएनन् । त्यसपछि उनी रुँदै रुँदै बुटवल फर्किए ।
सुरुवाती चरणमा उनी गाउन पोख्त थिएनन् । भीडमा अत्यास लाग्थ्यो । अभ्यासको पनि कमी थियो । धेरै ठाउँमा उनले शुरुमा विद्यालयमा झैँ ‘फेद न टुप्पो’का गीत गाए । उनी भन्छन्‚ ‘गाएँ पनि के भन्नु गीतलाई गीत कविता झैँ पढेँ र स्टेजबाट फर्किएँ ।’ तर केही वर्षपछि मौका यस्तो पनि आयो कि उनले तिनै ठाउँका मञ्चहरुमा पुगेर गाएनन् मात्र अलिफले दर्शकको मन जितेर फर्किए ।
अलिफ लोकगीतप्रति यतिविघ्न आसक्त थिए कि (अझै पनि छ) उनी दोहोरी साँझमा गाउन पाउने आशामा १५ सय पारिश्रमिकमा सेक्युरिटी गार्डको काम गर्थे । नभन्दै दोहोरी साँझका साहु मनकारी निस्किए । उनैले केही समयपछि अलिफलाई बुटवलको एक दोहोरी साँझमा गीत गाउने अवसर मिलाइदिए । त्यसपछि अलिफको चर्चा बढ्न थाल्यो । अनि त उनले बुटवलका धेरै दोहोरीमा गाए ।
अलिफको परिवार व्यापारिक घरानाको थियो । उनको पुर्ख्यौली घर पाल्पाको तानसेनमा थियो । उनका हजुरबुबा भारतबाट चाँदी ल्याएर व्यापार गर्थे । तर बाबुआमा छुट्टिएर अर्को ठाउँमा बस्न थालेपछि भने उनीहरूसँग केही पनि थिएन । पुस्तेनी सम्पत्तिको जग्गा तानसेनमै छाडियो । उनीहरू पाल्पाको अर्घेलीमा बस्न थाले । त्यहाँ उनीहरूको चुरा, पोते, ऐनालगायतको सानो पसल थियो । उनी र उनका दाजुभाइ विद्यालय विदाको दिन र विद्यालय अघिपछिको समयमा पनि झोलामा शृङ्गारका सामान बोकेर घरघर पुग्थे । आफ्नै जग्गा जमिन नभएका उनीहरू गाउँका अरु मानिसको खेतमा फलेको फलफूल र तरकारी बोकेर अरु गाउँमा जाने गर्थे । व्यापारिक घरानाका हुनुको धेरथोर प्रभाव उनीहरूमा थियो ।
अलिफले लोक तथा दोहोरी गीत गाउनेमात्रै होइन‚ धेरै लय सङ्कलन पनि गरेका छन् । सानै उमेरबाट शब्द लेख्ने उनी सङ्गीत पनि गर्छन् । उनको सङ्गीतमा धेरै चलेका गायक गायिकाले आवाज भरेका छन् ।
कतिपय सञ्चारमाध्यमहरूमा चर्चा भए झैँ अलिफ चर्चित भएपछि उनको परिवारको आर्थिक अवस्था परिवर्तन भएको भने होइन । मकालुखबरसँग उनी भन्छन्, ‘मैले आजसम्म आफ्नै सङ्गीतको कमाइले घरमा एउटा चकलेटसम्म दिन सकेको छैन ।’ उनका अनुसार बुबाआमा र उनका दाजुभाइको कडा मेहनतका कारण सात आठ वर्षयता उनीहरूको घरको आर्थिक अवस्था सुध्रिएको हो । उनले घरको लगानीमा करिब १० लाख खर्च गरेर सात, आठ वटा गीतका एल्बम निकाले । पहिलो एल्बम त बाहिर आउनै पाएन । आफूलाई धेरै जनाले ठगेर १४ हजारमा एउटा एल्बम तयार हुने समयमा करिब ३ लाख खर्च गराएको उनी बताउँछन् ।
दु:खका बेलाको विचलन र कसैले लगाएको गुन
सानै उमेरमा सङ्गीतसँग साइनो गाँसिएकाले पनि उनी यो क्षेत्र छोड्न उनलाई पटक्कै मन थिएन । तर आर्थिक अवस्था अति नै कमजोर हुँदै जाँदा उनी के गर्ने के नगर्ने भन्ने द्विविधामा भने परे । उक्त समय आफूमा डिप्रेसनको लक्षण पनि देखिएको उनले मकालुखबरसँगको कुराकानीमा बताए । ‘दशक लामो सङ्घर्षले पार पाउन नसकेको र कता जाने भन्ने बाटो पहिल्याउन नसकेका कारण पनि मनमा अलिकति विचलन आएको थियो’ अलिफले सम्झिए ।
त्यो बेला उनी जमल छेउको मस्जिद बाहिर बसेर उनी गीत सिर्जना गर्थे र एक्लै गाउँदै बस्थे । यही क्रममा उनलाई कमल सरगम, सरोज गिरी, प्रेम राज लामिछाने लगायतले भेटे र अरुसमक्ष चिनिए । जीवनको अन्तिम क्षणसम्म पनि उनीहरुको गुण नबिर्सिने अलिफ बताउँछन् । यसपछि भने उनको चर्चा चुलियो । यसो भनौँ उनको लामो सङ्घर्षले सार्थकता पायो । र, उनको व्यस्तता बढ्यो ।
गीत लेखन र सङ्गीत पनि
अलिफले लोक तथा दोहोरी गीत गाउनेमात्रै होइन‚ धेरै लय सङ्कलन पनि गरेका छन् । सानै उमेरबाट शब्द लेख्ने उनी सङ्गीत पनि गर्छन् । उनको सङ्गीतमा धेरै चलेका गायक गायिकाले आवाज भरेका छन् । सङ्गीत समायोजनको विषयमा उनको तितो अनुभव छ । गायनमा सफलता पाएका थिएनन् उनले । त्यसैले घर जानुभन्दा सङ्गीतको अर्को पाटो समाउँछु भन्ने सोचे । सङ्गीत संयोजनको काम सिक्ने र त्यही काम गर्ने योजना बनाए । तर भनेजस्तो भएन । काम सिकाइदिन्छु भनेकाहरूले पनि सिकाइदिएनन् । यस्ता धेरै व्यक्ति भेटेको स्मरण छ उनीसँग । धेरैजनालाई विश्वास गरेर धोका पाएको स्मरण पनि छ उनीसँग । यस्ता व्यक्ति र घटनाले जीवनमा थप बलियो भएर अघि बढ्न प्रेरणा दिएको उनी बताउँछन् ।
धेरैजनालाई विश्वास गरेर धोका पाएको स्मरण पनि छ उनीसँग । यस्ता व्यक्ति र घटनाले जीवनमा थप बलियो भएर अघि बढ्न प्रेरणा दिएको उनी बताउँछन् ।
अहिले अलिफको व्यस्तता बढेको छ । उनले मस्जिद अगाडि बसेर बनाएका ४ गीत रिलिजको पर्खाइमा छन् । उनले लोकदोहोरीको आफ्नै यूट्युब च्यानल खोलेका छन् । अनि अरु च्यानलका लागि उनी दोहोरी गाइरहेका हुन्छन् । स्टुडियोमा गीत रेकर्ड गर्ने धपेडी पनि हुने उनले सुनाए । अहिलेको बढ्दो व्यस्तताले आफ्नै नयाँ सिर्जना भने गर्न नसकेको उनले बताए । संगीतमा लाग्ने धुनमा भोगेका हरदुःख र खाएका हन्डरसँग पनि कुनै गुनासो नभएको र यसक्रममा सम्हालेका अनुभवका आधारमा अघि बढ्ने उनी बताउँछन् । ‘बल्ल त केही सहज हुँदैछ’, छुट्टिँदै गर्दा अलिफले मुस्काउँदै सुनाए, ‘अझै धेरै पर पुग्नु छ ।’
Masha Allah Habibi😍Duwah garxu Allah ajha hjr lai safal banaun…Ameen..Ra babbil Aalameen