साहित्य अक्षरका रङ्गको कला र कला रङ्गका अक्षरको साहित्य हो
श्रष्टाहरूले चितवनमा २०६२ साल चैतमा जन्माएको ‘अक्षर समूह’ स्रष्टा र सिर्जनासँग सम्बन्धित संस्था हो । संस्थाको सोच र सिर्जनात्मक सक्रियताका लामो समयदेखि नेतृत्व तहमा क्रियाशील छन् भूपिन ।
अक्षर समूहले कला साहित्य र समाजसँग सम्बन्धित विभिन्न कामहरू गर्दै आएको छ । सिर्जना मुखरित हुने विधाहरूबीचको सम्बन्ध सेतु पहिल्याउँदै यिनीहरूलाई जोड्ने गजबको काम पनि अक्षर समूहले गर्दै आएको छ । तर बेलाबेला हराएको पो हो कि जस्तो लाग्ने गरेपनि यो समूहले अहिले पर्खालमा कला नामको एक अभियान चलाइरहेको छ । खासगरी चितवनमा केन्द्रित यो अभियानबारे अक्षर समूहका अध्यक्ष कवि तथा लेखक भूपिनसँग मकालुखबरले गरेको कुराकानी :-
पर्खालमा कला एउटा साहित्यिक संस्थाको चित्रकला अभियान रहेछ । चित्रकारितामा आवद्ध संस्थाहरूले गर्नुपर्ने जस्तो काम तपाईँहरू कुन उत्प्रेरणाले गर्नुहुन्छ ?
कला र साहित्य रगतकै सम्बन्ध भएका सिर्जनाका महत्वपूर्ण विधा हुन् । अभिव्यक्तिमा प्राण भर्ने काम साहित्यमा अक्षरहरूले गर्छन्, कलामा रङ्गले । साहित्य अक्षरका रङ्गको कला हो, कला रङ्गका अक्षरको साहित्य । कतिपय साहित्यिक वाद, आन्दोलन र अभियानहरू कलाको स्कुलबाट प्रेरित छन् । कतिपय कलाका वाद, आन्दोलन र अभियान साहित्यबाट प्रभावित हुन सक्छन् । कलाको सम्मान गर्नु साहित्यको र साहित्यको सम्मान गर्नु कलाको विशेषता नै हो । यही विचारको स्कुल हो, अक्षर समूह । त्यसकारण हामीहरू कलाका विभिन्न कार्यक्रम गर्न सदा उत्साहित हुन्छौँ । पर्खालमा कला हाम्रो समूहको कलालाई प्रेम प्रकट गर्ने एक अभियान हो । हामीले सोच ल्यायौँ, चित्रकार साथीहरूले साथ दिनुभयो । उहाँहरूप्रति हामी आभारी छौँ । हो, यस्ता कार्यक्रम कलासम्बन्धी संस्थाहरूले गर्नुपर्थ्यो । चितवनमा यसको अभाव महसुस गरेकाले हामीले सुरु गरेका हौँ । चित्रकलाको विकास, विस्तार र सम्बर्धनका लागि यस खालका कार्यक्रम जुनसुकै सस्थाले गरे पनि हुन्छ ।
यो ‘आइडिया’चाहिँ कसरी आयो ?
यस अभियानको विचारको विजारोपण सन् २०१२ को सुरुवातमा भएको थियो, जब मैले अमेरिकाको बाल्टिमोरका पर्खालहरूमा केही सुन्दर कलाहरू देख्ने अवसर पाएको थिएँ । तर यसलाई चितवनमा पनि अभियानकै रुपमा अघि बढाउनुपर्छ भन्ने प्रतिबद्धता भने सन् २०१५ मा कलकत्ताका भित्तामा ‘मत्स्य न्याय’ थिममा बनेको कला हेरेपछि विकसित भएको हो । कलकत्ताको नेपाली साहित्यिक संस्थाले भानुभक्त आचार्यको जन्म जयन्ती मनाउन हामीलाई निमन्त्रणा गरेकाले हामी त्यहाँ पुगेका थियौँ । तत्कालीन कलकत्ता, भारतका लागि नेपाली महावाणिज्य दूत तथा प्रिय कवि चन्द्र घिमिरेले हामीलाई प्रेमपूर्वक निम्तो गर्नुभएको थियो । यस भ्रमणबाट फर्किने बेला रेलमा मैले कवि निमेष निखिललाई कम्तीमा दर्जनपटक भनेको थिएँ हुँला । म त्यती एक्साइटेड थिएँ । चितवन फर्किएपछि आफू अध्यक्ष भएको अक्षर समूहका साथीहरूसँग यस विषयलाई एक महत्वपूर्ण प्रस्तावनाको रुपमा राखेँ । साथीहरूले खुसीसाथ समर्थन गर्नुभयो । यसरी पर्खालमा कलाले अभियानको रुप लियो ।
यो खर्चिलो अभियानजस्तो देखिन्छ । खर्चको व्यवस्थापन कसरी गर्नुहुन्छ ?
हो, आर्थिक व्यवस्थापन गर्न सजिलो छैन । रङ्ग ब्रस किन्नुपर्यो । फेरि अमूल्य कला गर्ने साथीहरूलाई सामान्य भए पनि खामबन्दी गर्न, उहाँहरूलाई खानाको व्यवस्था गर्न पनि पैसा चाहिन्छ । यस अभियानका लागि सिड मनी त समूहका हामीहरूले नै स्वेच्छिक रकम दिएर गरेका थियौँ । पाँच हजारदेखि हजार रूपैयाँसम्म उठाएका थियौँ । त्यसले हाम्रो हौसला बुलन्द गरिदियो । पछि सामाजिक सञ्जालमा हाम्रो अभियानलाई मन पराएर विदेशमा बस्ने साथीहरूले हामीले अनुरोध नगर्दा पनि आर्थिक सहयोग गर्नुभयो । कलाले रङ्गिएका पर्खाल देखेर उहाँहरूले व्यक्त गर्नुभएका खुसीहरू धेरै मूल्यवान छन् हाम्रा लागि । सहभागी कलाकार साथीहरूका लागि त यो झन खुसीकै कुरा भयो ।
आँखै अगाडि देखिएको आफैँले बाँचेको प्रकृति नाँस्न हामी उद्दत छौं । जानाजान प्रकृतिलाई रुवाउनेहरूलाई भित्तामा चित्र कोरेर कुनै फरक पार्न सक्नुहोला तपाईँहरुले ?
कला साहित्यले मानिसका सोचमा परिवर्तन ल्याउने वातावरण तयार गर्न सक्छ भन्ने वैचारिक आस्था भएका लेखकहरू हौँ हामी । परिवर्तन तुरुन्तै नहोला । नदेखिएला, समय लाग्ला । तर मानिसका कैयन सोचहरू कला र शिक्षाका माध्यमले नै बदलिन्छन् । मनलाई तरंगित पारिदिन्छन् । पुराना नारा र विज्ञापनले भरिएका पर्खालमा कला गर्दा सुन्दरता बढ्दो रहेछ र कलाको विकाश हुँदोरहेछ भन्ने कुराको बोध त धेरैलाई भएको हुनुपर्छ । कला गर्दा त्यहाँ रोकिने मोटरसाइकलहरूको आवाजले म तर्सिन्थेँ । कला अघि उभिएर सामूहिक फोटो खिच्ने, सेल्फी लिने र फेसबुकमा पोस्ट गर्नेहरू त कला नजिकको चिया अड्डाबाट हामीले कति देख्यौँ कति । यस्तो देख्दा गहिरो खुसी मिल्छ । हाम्रो यस अभियानमा मूंर्त, अर्धमूर्त र अमूर्त शैलीका चित्रहरू छन्, जसले प्रकृति र संस्कृति संरक्षण, महिला सशक्तीकरण, पिँधका वगर्का दुःखलाई प्रस्तुत गर्छन् । केही रियालिस्टिक र ल्यान्डस्केप चित्रहरू पनि छन् । यिनीहरूले रङ्गका विम्बमा विविध सन्देश बोकेका छन् । आशा छ, मानिसहरूले त्यसलाई बुझेर पेन्टरहरूका संरक्षणवादी चिन्तनहरूलाई सम्मान गर्नेछन् ।
हाम्रोमा अनेकौ यस्ता अभियानहरु चल्छन्, तर केही दिन चर्चा हुन्छ र त्यतिकै सेलाउँछन् तपाइँहरुको अभियान कसरी फरक होला ?
चर्चाका लागि हुने अभियानहरू चर्चासँगै सेलाउँछन्, प्रेमका लागि हुने अभियानहरू जारी रहन्छन् । हाम्रो यस अभियानको पनि राम्रो चर्चा भयो । तर हामीले चर्चा बटुल्ने उद्धेश्यले यसको सुरुवात गरेका थिएनौ । आर्थिक स्थितिले भरथेग गरेसम्म हामीले कलायात्रालाई अक्षर समूह र चितवनकै एक महत्वपूर्ण अभियानको रुपमा अघि बढाउनेछौँ ।
अभियानका आगामी योजना के छन् ? अहिले त यो स्थगित जस्तो देखिन्छ त !
जिल्ला प्रहरी कार्यालयको पर्खालमा कला गरेपछि हामीले अर्को अभियान सञ्चालन गर्न सकिरहेका छैनौँ । गर्ने चाहना नभएर होइन । आर्थिक रुपमा हाम्रो संस्था सम्पन्न छैन । बीचमा कोरोना महामारी आयो जुन अद्यापी चलिरहेछ । यसबीच हामीले यसको तेस्रो शृङ्खला गर्ने विषयमा छलफल गरिरहेका छौँ । शायद दशैँतिर ती पर्खालहरू नयाँ कलाले भरिनेछन् । चित्रकार साथीहरूले हामीलाई घच्घच्याइरहनु भएको छ ।
अरू शहरहरूमा पनि जाने योजनाहरु छन् कि ?
हामी चितवनमा मात्र सीमित हुन चाहन्नथ्यौँ । सुरुवातमा यसको फैलावटका लागि अलिक बढी नै महत्वाकांक्षा पालेका थियौँ । तीनवटा शहरका उत्साहित साथीहरूले यस अभियानलाई विस्तार गर्ने प्रतिबद्धता पनि गर्नुभएको थियो । तर हामी चितवनमै सीमित हुनुपर्यो । जीवन चलाउनका लागि पूरा गर्नुपर्ने दायित्वहरू र उत्साह भर्ने साथीहरूको मौनताका कारण सोचेजस्तो फैलिन सकेका छैनौँ । कोरोनाले त झन घरभित्रै थुनिदिएको छ । शायद कोरोनापछि थप सहरमा पनि जान सकिन्छ कि ? आशावादी छौँ ।
चित्रकारको विषयलाई लिएर उपन्यास लेख्नुभयो । के मैदारो कला अभियानकै उपज थियो ?
पर्खालमा कला गर्ने समयसम्म चित्रकारकै कथा लेख्छु भन्ने निर्णयमा पुगिसकेको थिइनँ । खेस्रामा त मनोविज्ञानको प्राध्यापक थियो उपन्यासको नायक । दुई कारण मैले नायकको पेशा परिवर्तन गर्ने विचार गरेँ । पहिलो, आफैँ प्राध्यापन पेशामा संलग्न भएकाले नायकमा पाठकले आफैँलाई देखिदिने खतरा थियो । म कुनै आत्मकथात्मक उपन्यास लेख्न गइरहेको थिइनँ । दोस्रो कारण बढी महत्वपूर्ण छ । दलित समुदाय शील्पसँग सबैभन्दा बढी जोडिएको वर्ग हो । उनीहरू इन्जिनियर हुन्, डिजाइनर हुन्, कलाकार हुन्, गायक र सङ्गीतकार हुन् । त्यसैले दलितलाई शील्पी पनि भन्ने चलन छ । यसर्थ दलनको कथा लेख्दा कुनै कलाशील्पमा लागेको पात्र निर्माण गर्नु मलाई सर्वाधिक उपयुक्त लाग्यो । यसरी मैदारोको नायकको जन्म चित्रकार नदीन रुपमा भएको हो । नदीनको चरित्र चित्रण गर्दा मलाई पर्खालमा कलामा संलग्न कलाकारका आनीबानी, सोच र रङ्गसँग खेल्ने तौरतरिका अवलोकन गर्ने सुन्दर अवसर मिल्यो । म त्यस अभियानमा साथ दिने सबै कलाकारप्रति यसकारण पनि ऋणी छु ।