कवाडी उठाएर काम थाल्ने कि निर्देशक ज्यू ! (तस्बिरहरु)
वीर अस्पताल अनेक कारणले चर्चामा आउँछ । देशकै जेठो अस्पताल हुनु यसको गौरव हो । तर वीर अस्पतालमा पुग्दा भने यसको गौरव कम हीनताबोध बढी गराउने खालका दृष्यहरु देखिन्छन् । उसो त यसैपनि कहिले व्यवस्थापक नियुक्तिको किचलो त कहिले सामान खरिदमा अनियमितताका खबर सार्बजनिक भएर पनि वीर अस्पताले आफ्नो वीरता कायम गर्न नसकिरहेको जस्तो लाग्छ ।
अस्पतालमा पुग्ने बिरामी उनीहरुका आफन्त वा अरु जो कोहीले त्यहाँभित्रका खिचातानी र राजनीतिक हस्तक्षेप त थाहा पाउँदैनन् तर अस्पताल परिसरका दृष्य देख्दा भने नाक खुम्च्याउँछन् ।
शुक्रबार वीर अस्पताल पुग्दा जथाभावी फालिएका सामानको डङ्गुरले वीर अस्पताललाई नै गिज्याएको देखिन्थ्यो । कवाडी सामानको डङ्गुरमा थोत्रा गाडीमाथी चढाएर एम्बुलेन्स राखिएको थियो । छेवैमा फालिएको एउटा ह्वील चेयरमा लेखिएको ब्यहोरा हेर्दा यो ह्विलचेयर एक बर्ष अघि मात्र अस्पताललाई सौजन्य दिइएको थाहा हुन्थ्यो ।
अस्पतालको इमर्जेन्सी छिर्ने गेटभन्दा केही पश्चिम् डट्स क्लिनिकसङ्गै बस, एम्बुलेन्स, अप्रेसन थिएटरका सामान, व्हिलचेयर, लकर, मेच, कुर्सी लगायतका कार्यलय सामान असरल्ल देखिन्छन् । अस्पतालको बहिरंग विभाग प्रवेशद्वार नजिकै अर्को एम्बुलेन्स फालिएको छ ।
वीर अस्पतालको नयाँ निर्देशकमा नियुक्त डा. भुपेन्द्र बस्नेतले कार्यभार सम्हालेका छन् । आशा गरौं डा. बस्नेतले यो कवाडीको डंगुर हटाएर आफू आएको पहिलो सन्देश दिनेछन् । यति फोहर मात्र हट्न सके वीर अस्पतालले काँचुली फेर्ने आशा पनि गर्न सकिन्थ्यो कि !