जब माटोको छानामाथि पानी बर्सियो
उत्तरी क्षेत्रलाई संकट
पोखरा । उपल्लो क्षेत्रमा पानी पर्दैन । हिउँ धेरै पर्ने भएकोले त्यसबाट घरभित्र तातो बनाइराख्न घरको छाना माटोले नै बनाउने चलन छ । हिउँ परेपनि धेरैबेर छानामा रहँदैन । यसपालि भने त्यस्तो भएन । मनाङको विकट गाउँ ‘फू’मा कल्पना भन्दा बाहिरको क्षति भयो । साताभरी पानी पर्यो । सबैका घरका छाना चुहिए, कति घरै बगायो । दुख जिलो गरेर गाउँलेहरु दैनिकी बिताइरहेका छन् ।
‘जीवनभर पानी परेको थाहा पाइएन । हिउँसँग मिसिएर पानी बर्सियो यसपालि । सबैको घरका छानाबाट पानी चुहियो,’ स्थानीय जनप्रतिनिधि सोनाम लाक्पा शेर्पाले भने, ‘गाउँ क्षतविक्षत छ । गाउँले दुखमा छन् ।’ उनका अनुसार आधा दर्जन घर भत्किएको छ । गुम्बाबाट त्रिपाल ल्याएर छाना ढाकेको उनले सुनाए ।
‘मान्छे सबै यार्सागुम्बा टिप्न गएको थियो । हिउँले उनीहरु पनि झर्न पाएनन् । ६० जनालाई हेलिकोप्टरले रेस्क्यु गरेर गाउँमा ल्याएको हो,’ शेर्पा भन्छन्, ‘१० दिनजति सम्पर्कविहीन भयो । अहिले पनि गाउँ जाने बाटो छैन ।’ तल्लो क्षेत्रमा सडक पीच र ढलानको चटारो चलिरहँदा फु र नार गाउँ जान घोडेटो बाटो बन्दै छ । नार्पाभूमि गाउँपालिका गण्डकीको सडक सञ्जालले नछोएको पालिका हो ।
गाउँपालिकाको पूँजीगत बजेटमध्ये ६० प्रतिशत घोडेटो बाटो बनाउन खर्च हुन्छ । यो वर्खामा सबै घोडेटो बाटो बगाएको पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र पण्डितले जानकारी दिए । ‘अहिले त पानी नै आएको हो । कति पूराना मान्छेले पनि यसअघि पानी परेको थाहा पाएका रहेनछन्,’ उनले भने, ‘जलवायू परिवर्तनकै असर हुन सक्छ । ४ वर्ष लगाएर बनाएको बाटो सबै बग्यो ।’
यो वर्षको बजेटमा पनि अधिकांश रकम बाटोमै खर्च गरिएको उनले सुनाए । कोतोदेखि मेतासम्मको बाटोका लागि ५० लाख र क्याङदेखि फूसम्मको बाटोका लागि २० लाख गरि पालिकाबाट ७० लाख विनियोजन भएको छ । वडाका पैसा पनि सबै बाटोमै छ । ‘४ नम्बर वडालाई ६५ लाख परेको थियो । सबै पैसा बाटोको ट्रयाक खन्ने निर्णय भएको छ । ५ नम्बरले पनि बाटोमै लगायो,’ पण्डित भन्छन्, ‘अरु वडाले पनि धेरै पैसा मान्छे हिड्ने बाटोमै लगानी गरेका छन् ।’
खच्चड हिड्ने बाटोसमेत नभएकोले त्यहाँका स्थानीयलाई हेलिकोप्टर मार्फत खाद्यान्न ओसारेर वितरण गरिएको छ । लघु जलविद्युत आयोजना बगाएकोले सोलार प्यानल दिइएको छ । मनाङ, मुस्ताङ सहित उत्तरी क्षेत्रको बनावट उस्तै खालको हुन्छ । हिउँ पर्ने भएकोले माटोकै घर, माटोकै छाना हुन्छ । यो वर्ष माथिल्लो क्षेत्रसम्मै पानी पर्यो । यसले कमजोर भूमि बाढी बनेर बग्यो । स्थानीयहरु सरकारले गम्भीर रुपमा सोच्नुपर्ने बताउँछन् ।