कविता

घाइते छापामारको अन्तिम युद्ध

उसले युद्ध लडेको हो जन्मनुभन्दा धेरै पहिले
आफ्नै सहयात्री भ्रूणहरुसित,
र, जितेको हो तीन लाख सहयात्रीहरुलाई ।
विजयको यात्रा सुरु गरेको हो,
आफू हुनु र दुनियाँमा आउनुपुर्व नै
र, विजयको पहिचान बनाएको हो
आफ्नै पहिचान बनाउनुपूर्व नै ।
न ऊसँग दिल थियो न दिमाग
शून्य क्षमतामा जितेको हो युद्ध
र, शुरु गरेको हो विजयको पथमा हिँड्न
शङ्खघोष गरेको हो हजार माईलको विजय यात्रा ।

जितेरै यो धर्तीमा आएको एक योद्धा
लडेको हो सहस्र युद्ध पूरै जीवन
वयस्क वयले, प्रवीण मथिङ्गलले
आत्माले नै उठाएको आत्मिक हतियारले
आफ्नै भूमिमा आफ्नाहरुकै विरुद्ध
पराइ भूमिमा पराइहरुकै विरुद्ध
र, उडाएको हो व्यवस्थाको बङ्कर
उडाएको हो विचारको खिया लागेको ट्याङ्कर
अनि खेलेको हो बारुदसँग पौँठेजोरी
र, थापेको हो ज्यानको बाजी ।

आज ऊ जितेर पनि शिर झुकाउँदै छ
आफैं फाटेर पनि पिर लुकाउँदै छ,
हराइएकाहरुसँग माफी माग्नु
मारेकाहरूको आत्मा अगाडि जिउँदै मर्नु
उसको विवशता बनेको छ
उसको नियति बनेको छ ।

उसका खुट्टाहरू गुमेको युद्ध
केवल पर्व मनाउन साँढे जुधाइएको रहेछ
उसका परिश्रमी हातहरु गुमेको युद्ध
स्वयम् परिश्रमकै विरुद्ध रहेछ
उसको आन्द्राहरुको माला बाहिरिएको युद्ध
पराई घाँटीमा माला पहिर्याउनलाई मात्रै रहेछ
उसको आफ्नै भोको पेटको लागि रहेनछ ।

ती युद्धहरुले छोडिराखेको एकथान मथिङ्गल
आज फनफनी चक्कर काटिरहेछ
आफू ओछ्यानमा थन्किएर
गिदीले आकाशमा कावा खाइरहेछ
ऊ त तथ्यहरूबाट बेखबर एउटा अर्को तथ्य हो
ऊ त सत्यहरुको भीडमा हराएको अर्को सत्य हो
अब उसले आफ्नै लागि, आफ्नै विरुद्ध
एकथान भयानक युद्ध लड्नेछ
र, सार्वकालिक विजय प्राप्त गर्नेछ,
तिमीहरु एकल विजय जुलुस हेर्न तयार रहनु ।

प्रतिक्रिया

2 thoughts on “घाइते छापामारको अन्तिम युद्ध

  1. कस्तो भव्य गहन कविता 👌👍 वधाई कविमा 💐

Leave a Reply

Your email address will not be published. Required fields are marked *