जिल्लाकेन्द्रित भएको महन्थ पक्ष भन्छ- जसपा कसले फोड्यो भनेर जनतालाई भन्दैछौँ

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर–राजेन्द्र महतो पक्ष अहिले अगुवा कार्यकर्ता भेलामा व्यस्त छ । राज्यसत्ता र पार्टी दुवैतिरबाट बाहिरिएपछि ठाकुर–महतो पक्ष अगुवा कार्यकर्ता भेलामा जुटेको हो । राजनीतिक शक्ति बढाउनका लागि अध्यक्ष ठाकुर स्वयम् पनि प्रदेश नं. २ को भ्रमणमा छन् । ठाकुरले शनिबार मात्रै जनकपुरधाममै अगुवा कार्यकर्ता भेला गरेका छन् । अध्यक्ष ठाकुरसँगै नेताहरु राजेन्द्र महतो, शरतसिंह भण्डारी, उमाशंकर अरगरियालगायत भेलाहरुमा सहभागी हुँदै आएका छन् । आज पनि अध्यक्ष ठाकुर कार्यकर्ता भेलामै छन् ।

निर्वाचन आयोगले गत साउन ११ गते पार्टीको आधिकारिकता डा. बाबुराम भट्टराई–उपेन्द्र यादव पक्षलाई दिएपछि अन्योलमा परेको ठाकुर–महतो पक्ष जिल्लाकेन्द्रित भएको हो । कार्यकर्ताहरुलाई के सुनाउँदै हुनुहुन्छ ? भन्ने प्रश्नमा नेता शरतसिंह भण्डारी भन्छन्, ‘हामी राष्ट्रिय राजनीति, पार्टीकेन्द्रित लफडा र त्यसभित्र गल्ती गर्नेहरुबारे नेता/कार्यकर्ताहरुलाई भन्दै हिँडेका छौँँ ।’

‘पार्टी कसले फुटायो भनेर जनतालाई जानकारी दिँदैछौँ,’ उही जिज्ञासामा अगुवा कार्यकर्ता भेटघाटका लागि ४ दिनपहिले आफ्नो क्षेत्र बारा–४ पुगेका नेता एकवाल मियाँ भन्छन्, ‘कसले गल्ती गर्यो । कसले कसलाई पार्टीबाट निष्कासन गर्यो । यी सबै सबै जनतालाई भन्दै हिँडेका छौँ । किनभने जनताले को कति घाती हो भनेर थाहा त पाउनुपर्यो नि त ।’

अर्को दल तत्काल दर्ता गर्दैनौँ

गत साउन ११ गते निर्वाचन आयोगले भट्टराई–यादव पक्षलाई पार्टीको आधिकारिकता दिँदैगर्दा नै ठाकुर–महतो पक्षलाई अर्को दल दर्ता गर्न सुझाव दिएको थियो । तर, नेताहरुले भने आफूहरु जसपामै रहेको भन्दै तत्काल दल दर्ता नगर्ने बताउँछन् । कार्यकर्ता भेलामै व्यस्त रहेका नेता उमाशंकर अरगरिया भन्छन्, ‘हामी जसपामै छौँ । कहाँबाट नयाँ दल दर्ता गर्नू ? अहिले यो बाटोमा हामी जाँदैनौँ । अहिल्यै नयाँ दल दर्ता गर्नेबारे हामीले सोचेका छैनौँ ।’

आफूहरुले सर्वोच्चमा दिएको रिटमाथि आउने फैसलापछि मात्रै आफूहरु जसपामा रहने वा नरहनेबारे अन्तिम टुङ्गो लाग्ने नेता मियाँको भनाइ छ । ‘अहिले त हामी जसपामै छौँ,’ नेता मियाँले भनेका छन्, ‘अब सर्वोच्चले के कस्तो निर्णय गर्छ, त्यसपछि मात्रै हामी एउटा टुङ्गोमा पुग्छौँ ।’

‘उताबाट निम्तो आए जसपामै रहन पनि तयार छौँ’

आफूहरुले अरुको गल्ती औंल्याउने सँगै आत्मालोचनासमेत गरिररहेका नेता अरगरियाले बताउँछन् । भट्टराई–यादव पक्षले बोलाएको खण्डमा पार्टीमै रहन सकिने एक नेताले मकालुखबरसँग बताए । ‘पार्टी चोइटा–चोइटा पारेर हुनेवाला पनि केही छैन,’ ती नेताले भनेका छन्, ‘उताको पक्षले बोलायो अथवा सौहार्दपूर्ण वातावरणमा निम्तो दियो भने हामी नजाने त कुरै छैन । हामी सधैं फुट्न होइन, जुट्न नै चाहन्छौँ । हामी अध्यक्षज्यूलाई पनि भन्छौँ र जसपामै रहन पनि सक्छौँ ।’

नेता मियाँ पनि निम्तो दिएको खण्डमा विचार गर्न सकिने बताउँछन् । पार्टी फुटे दुवै पक्ष कमजोर हुने र राष्ट्रिय राजनीतिमा आफ्नो एजेण्डा स्थापित गराउन नसक्ने बताउँदै नेता मियाँ भन्छन्, ‘हामी सधैंभरी एकता कायम राख्नुपर्छ भन्ने पक्षको मान्छे हौँ । एकताका लागि आह्वान भएको खण्डमा हामी तत्पर छौँ ।’

त्यसो त अध्यक्ष उपेन्द्र यादवले यसअघि नै पार्टीबाट बाहिर गएकाहरुलाई पार्टीमा बोलाएका छन् । गत साउन २१ गते एक विज्ञप्ति जारी गर्दै अध्यक्ष यादवले भनेका छन्, ‘निर्वाचन आयोगले पार्टीबारे आधिकारिकतासम्बन्धी निर्णय गर्नु भन्दापूर्व कुनै कारणले पार्टीबाट अलग हुन पुग्नुभएका वा अन्यन्त्र अलमलमा पर्नुभएका पार्टीका सम्पूर्ण साथीहरूलाई कतै अलमलमा नपरी बिना हिचकिचाहट पार्टीमा फर्किएर अग्रगमन र वैकल्पिक शक्ति निर्माणमा अगाडि बढ्नु हुन अपिल गरिन्छ ।’ अध्यक्ष यादवको उक्त आग्रहलाई आफूले सकारात्मक रुपमा लिएको नेता मियाँको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *