राष्ट्रिय सभामा प्रश्न : न्यूनतम साझा कार्यक्रमलाई संविधानले चिन्छ ?

काठमाडौं । राष्ट्रिय सभा सदस्य विमला राई पौडेलले सत्तारुढ गठबन्धनले आजै सार्वजनिक गर्न लागेको राजनीतिक संयन्त्र (न्यूनतम साझा कार्यक्रम) बाट सरकार निर्देशित हुन नहुने बताएकी छन् । आइतबार (आज) बसेको राष्ट्रिय सभा बैठकमा भाग लिँदै पौडेलले यस्तो बताएकी हुन् । सरकार संसद्द्वारा निर्देशित हुनुपर्ने औंल्याउँदै पौडेलले भनिन्, ‘प्रधानमन्त्री बनाउने चाहिँ संसद् अनि सल्लाह र राय लिने चाहिँ राजनीतिक संयन्त्रको ? यो कसरी हुनसक्छ ? यो लोकतान्त्रिक होइन । यसो हुनु हुँदैन ।’

राजनीतिक संयन्त्रलाई संविधान र संसदीय व्यवस्थाले कहीँकतै पनि नचिन्ने पौडेलको भनाइ छ । ‘प्रधानमन्त्री संसद्सँग जवाफदेही हुनुपर्छ,’ पौडेलले भनिन्, ‘राजनीतिक संयन्त्रसँग होइन । यसलाई न संविधानले चिन्छ, न संसदीय व्यवस्थाले नै चिन्छ ।’

वर्तमान सरकारले सरकार निर्देशित गर्ने राजनीतिक संयन्त्र बनाएर संसदीय व्यवस्थाको खिल्ली उडाएकोसमेत पौडेलले बताइन् । ‘संसदीय व्यवस्थालाई किन हाँस्यास्पद बनाइँदैछ ?’ पौडेलले भनिन्, ‘हामीले हाम्रो छोराछोरीलाई एउटा कुरा पढाउँदैछौँ । संसद्ले प्रधानमन्त्री बनाउँछ र प्रधानमन्त्री संसद्बाट निर्देशित वा जवाफदेही हुन्छ । कि त अब हाम्रो छोराछोरीलाई यही सिकाउँ । कि त यो परीपाटी बदलौं ।’

राजनीतिक संयन्त्रबाट सरकार निर्देशित हुँदा लोकतान्त्रिक पद्धति नै कमजोर हुने टिप्पणी पौडेलको थियो । पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवालई ‘तपाईं यत्ति कमजोर किन ?’ भनेर प्रश्नसमेत गरेका छन् । ५÷५ पटक प्रधानमन्त्री भइसकेको अनुभवी व्यक्ति राजनीतिक संयन्त्रबाट निर्देशित भइरहन नपर्ने उल्लेख गर्दै पौडेलले सुझाइन्— तपाईं हातखुट्टा बाँधेर नबस्नुस् ।

सरकारले आजै ४ बजे एक कार्यक्रममार्फत ७ सदस्यीय सत्तारुढ गठबन्धन कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दैछ । प्रस्तावना यसअघि नै सार्वजनिक गरिसकेको सरकारले कार्यक्रमको अन्तिम आज सार्वजनिक गर्न लागेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *