वर्तमान सरकारसँग जनता खुसी छन् : देव

काठमाडौं । राष्ट्रिय सभा सदस्य जितेन्द्र देवले वर्तमान सरकारसँग जनता खुसी रहेको बताएका छन् । आइतबार (आज) बसेको राष्ट्रिय सभा बैठकमा भाग लिँदै देवले यस्तो बताएका हुन् । ‘वर्तमान सरकारसँग नेपाली जनता खुसी छन्,’ देवले भने, ‘यो सरकारले नेपाली जनतालाई खुसी बनाउन सक्छ ।’

पुरानो लोकतान्त्रिक पार्टी कांग्रेस, सशस्त्र युद्धमार्फत देशको एजेण्डा स्थापित गराउन सफल माओवादी केन्द्र र मधेशका समस्याहरुको समाधानमा जुटेको जनता समाजवादी पार्टी एक ठाउँमा उभिनुलाई सुखद् रुपमा लिनुपर्ने देवको भनाइ छ । ‘यस्ता फरक राजनीतिक पृष्ठभूमि भएका पार्टीहरु एक ठाउँमा उभिनु राम्रो हो,’ देवले भने, ‘यसले सिङ्गो देशको एजेण्डालाई उठाउन सहयोग गर्छ ।’

गठबन्धनको सरकार बनाउन सहयोग गरेका प्रतिपक्षी एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई समेत सरकारमा आउन आग्रह गरेका देवले भने, ‘फरक राजनीतिक शक्तिबीच सरकारमा सहकार्य हुँदा झनै सबै जनताका समस्याहरु समधान हुनसक्छ ।’

आनीछोइङ डोल्माको गीत ‘फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार’को दृष्टान्त सुनाउँदै देवले अहिलेको सरकारलाई नेताहरुले काँडाको आँखाले हेरेको आरोप लगाए । भने, ‘त्यो चस्मा हटाउनुस् । हामीले विभिन्न तरिकाबाट सोच्न सक्नुपर्छ । अहिलेको सरकारलाई फूलको आँखाले किन नहेर्ने ?’

अर्की राष्ट्रिय सभा सदस्य विमला राई पौडेलको भनाइप्रति इङ्गित गर्दै देवले भने, ‘सरकारको राजनीतिक संयन्त्रमा आएका कुराहरुबारे सरकारले के गर्दैन ? हेर्नुस् न, अहिल्यै किन विरोध गर्नुहुन्छ ? २/४ महिना समय दिनुस् अनि सरकारले गरेन भने चाहिँ ठोक्नुस् ।’ यसअघि आजैको बैठकमा पौडेलले राजनीतिक संयन्त्रलाई संविधान र संसदीय व्यवस्थाले नचिन्ने बताएकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *