पौडेल दबाब बढाउँदै कि ‘फेस सेभ’ गर्दै ?

काठमाडौँ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशनका लागि दबाब बढाएका छन् । समयमा पार्टीको महाधिवेशन नभएर वैधानिकता संकटमा पर्ने देखेपछि दबाब बढाएको उनीनिकट नेताहरू बताउँछन् ।

पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले महाधिवेशनबारे छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाएपछि वरिष्ठ नेता पौडेलले पनि ‘महाधिवेशन गर्ने र पार्टीको वैधानिकता बचाउने’ सन्दर्भमा छलफल थालेका हुन् ।

महाधिवेशनको सन्दर्भमा साझा धारणा बनाउन सोमबार ३५ भन्दा बढी जिल्लाका सभापति ठमेलको यात्री होटलमा जम्मा भएका छन् । पौडेलले सोमबार दिउँसोकै लागि आफूनिकट पदाधिकारी र केन्द्रीय सदस्यहरूको छुट्टै बैठक बोलाएका छन् ।

वरिष्ठ नेता पौडेलले सोमबार बिहानमात्रै सामाजिक सञ्जालमार्फत् महाधिवेशन नगरेर कांग्रेसलाई निर्वाचन आयोगसँग भिख माग्ने निरीह अवस्थामा पुर्‍याएको आरोप लगाएका थिए । ‘पार्टीको विधानले चार वर्षको कार्यकाल तोकेको छ । असाधारण परिस्थिति भनेर एक वर्ष थपियो ।

देशको संविधानलाई समातेर ६ महिना बढाइयो । आज आएर त्यसभित्र पनि महाधिवेशन नगरेर नेपाली कांग्रेसलाई निर्वाचन आयोगसँग भिख माग्ने निरीह अवस्थामा पुर्‍याइएको छ,’ पौडेलले सोमबार बिहानै लेखेका थिए, ‘यहाँभन्दा वर्तमान नेतृत्वको चरम असफलता र लापरबाही अरू के हुन्छ ?’ उनले कांग्रेसका सभापति एवम् प्रधानमन्त्री देउवाप्रति इङ्गित गर्दै असफल व्यक्तिहरू नै बारम्बार सत्ता सम्हाल्न पुग्ने गरेको समेत बताए । ‘यो देशकै विडम्बना हो । सर्वत्र असफल व्यक्तिहरू बारम्बार सत्ता सम्हाल्न पुग्छन्,’ उनले भनेका छन् ।

भदौ २३ गते कांग्रेसको वैधानिक आयु सकिँदैछ । तर, १६-१९ का लागि तोकिएको महाधिवेशन नहुने निश्चित भइसक्दा पनि अर्को कार्यतालिका सार्वजनिक भएको छैन । महाधिवेशनका लागि मतदाता अर्थात् क्रियाशील सदस्यताको समेत टुंगो लागेको छैन ।

 

बढ्दो कोरोना महामारीका बीच सभापति देउवाले महाधिवेशनबारे छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाएपछि पौडेलले बैठकअघि महाधिवेशन गर्नैपर्ने परिस्थिति सिर्जना गर्न यस्तो दबाब बढाएको उनीनिकट नेताहरू बताउँछन् । तर, भदौमै महाधिवेशन हुने सम्भावना भने अब सकिइसकेको छ ।

कतिपय नेताहरू भने भदौमा महाधिवेशन हुन्न भन्ने निश्चित भइसक्दा पनि पौडेलले राजनीतिक तिकडममात्रै गरिरहेको आरोप लगाउँछन् । ‘आफैँ विवाद झिक्ने, आफैँ बाधक बन्ने, अनि महाधिवेशन भएन भनेर फेरि आफैँ विरोध गर्ने, यो सबै उहाँको तिकडममात्रै हो, अब भदौमा महाधिवेशन हुँदैन भनेर उहाँलाई पनि थाहा छ, सभापतिज्यूलाई पनि थाहा छ, बेलैमा महाधिवेशन नहुनुमा उहाँहरू दुवैको दोष छ,’ एक केन्द्रीय सदस्यले मकालुखबरसँग भने ।

भदौमै पार्टीको सातै तहको महाधिवेशन नहुने निश्चित भएको देउवानिकट अर्का नेताले बताए ।

‘क्रियाशीलको टुङ्गो लागेको छैन । महाधिवेशनको कार्यतालिका र निर्वाचन निर्देशिकामाथि पनि छलफल गर्नुपर्नेछ, त्यसैका लागि बैठक बोलाइएको हो,’ ती नेताले भने, ‘तर अब भदौमै महाधिवेशन हुने सम्भावना छैन । वडा तहको अधिवेशन सुरु हुनसक्छ । त्यसको अड्चन अहिले कोरोना महामारी बनेको छ । हेरौँ, के हुन्छ ?’ तैपनि महाधिवेन भदौमा हुँदैन भनेर औपचारिक रुपमा बोलिहाल्न भने नमिल्ने उनी बताउँछन् ।

नेताहरूले क्रियाशील सदस्यताकै कारण पार्टीको महाधिवेशन समयमा गर्न नसकिएको बताउँदै आएका छन् ।

नेताहरूले असारमै महामारीका बीच महाधिवेशन गर्ने ? विकल्पबारे छलफल गरौँ भन्दा अस्वीकार गरेका सभापति देउवा अहिले पार्टीको वैधानिकता जोगाउन जे पनि गर्नुपर्ने अवस्थामा रहेको पौडेल पक्षको दाबी छ । उनले युवा नेताहरूसँगको छलफलमा पार्टीको महाधिवेशन गर्न नसकिएको कारण उत्पन्न परिस्थितिबारे निर्वाचन आयोगसँग छलफल गर्ने बताइसकेका छन् ।

त्यसो त देउवा अहिले पनि तत्कालै महाधिवेशन गर्नुपर्ने कुराबाट पछि हटिनसकेको उनीनिकट नेताहरू बताउँछन् ।

महामन्त्री डा.शशाङ्क कोइरालाले भने मंसिरअघि पार्टीको महाधिवेशन हुने सम्भावना टरेको बताइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *