यसरी पनि मेटिएको छ पहिचान
म काठमाडौँ आएको लगभग ७ वर्ष भयो । कलेज जान थालेको पहिलो दिनदेखि आजसम्म भेट्ने हरेकजसो मान्छेले मेरो पूरा नाम सुनेपछि सोध्ने पहिलो प्रश्न हो, लामा ! कुन लामा ? तामाङ कि शेर्पा ? प्रश्न अर्काे पनि थपिन्छ- हुम्लामा पनि तामाङहरू हुन्छन् र ?
मैलेमात्र होइन‚ हुम्लाका आदिवासी जनजाति समुदायबाट शहर आउने, अझ विशेष गरेर पढ्न आउने विद्यार्थीले पटक–पटक सामना गर्नुपर्ने प्रश्नहरू हुन् यी ।
मलाई याद छ कलेजको पहिलो दिन अर्थशास्त्र पढाउने सरले मेरो नाम सोध्नुभएको थियो । नाम सुनेपछि फेरि सोध्नुभयो तामाङ कि शेर्पा ? मैले भनेँ– तामाङ । सर गइसकेपछि बेन्चमा बसेको साथीले सोधे- कुन तामाङ ? म चुपचाप बसेको देखेर उनले थपे- मोक्तान ? स्याङ्तान …? फेरि पनि म चुपचाप थिएँ । किनभने हाम्रोतिर आफ्नो नाता र वंश भएपनि त्यसलाई जात, थरमा लेख्ने चलन छैन । गेल्ग्युत, दारवा, टेवा, च्योवा, ख्युङ्वा, गेवालगायत धेरै वंशावलीहरू छन् ।
वास्तविक पहिचानभन्दा टाढा भएपनि हाल तामाङभन्दा लामालाई आत्मसात् गरेको देखिन्छ ।
अरु समाजमा थरबाट आफ्नो परिचय गराउने चलन भएपनि हाम्रो लामा समुदायमा नामबाटै चिन्ने गरिन्छ । यदि एउटै गाउँमा उस्तै-उस्तै नामका दुई तीनजना मान्छे छन् भने उनीहरूलाई उमेरअनुसार सानो–ठूलो र हये (माथिल्लो घरको), फये (पल्लो घरको) भनेर चिन्ने चलन छ ।
यसबारेमा खासै धेरै अध्ययन भएको पाइँदैन । केही अध्ययनमा उल्लेख भएअनुसार ‘१९४६ मा घरबारी दर्ता प्रकृयासँगै जातजाति वा थरको औपचारिक लेखन कार्य अगाडि बढेको देखिन्छ । जब प्रशासनिक अभिलेख प्रमाण–पत्र, मालपोत, अदालत, कर आदिमा नामसँगै जात, थर अनिवार्य खुल्नुपर्ने सरकारी कामकाजी प्रावधान आयो, त्यसपछि आफ्नो जात‚ जाति र थर लेख्नुपर्ने बाध्यता महसुस गरे । तर तत्काल आफू कुन जात वा थरको भन्ने थाहा नहुँदा र नेपाली भाषा बोल्न नजान्नाले अरुले राखेको थर स्वीकार्न पनि बाध्य भए । त्यतिखेर त्यहाँका जनजातिहरूमा जातीय अनभिज्ञताका साथै अशिक्षा र नेपाली भाषा बोल्न नजान्ने भएका कारण राजारजौटाहरू र त्यहाँका नेपाली भाषी हिन्दू खस आर्यहरूको अनुमानले थर ‘तामाङ’ लेखाइएको हो ।’ (कोन्जोक लामा, होम्लु दर्पण, २०६३) ।
‘हुम्लाका जनजातिहरू पहिले भोटे थिए, अहिले तामाङ लेख्न थालेका छन् । (देवीचन्द्र श्रेष्ठ, हुम्ला बोल्छ मानसरोवरमा, २०३७)
बिस्तारै बुझ्दै जाँदा आफूहरू तामाङ नभएको खुल्दै गएपछि तामाङ लेख्न छाडेर ‘लामा’ लेख्ने क्रम शुरु भएको छ । जसले गर्दा हाल एउटै परिवारमा कोही लामा छन्, कोही तामाङ ।
वास्तविक पहिचानभन्दा टाढा भएपनि हाल तामाङभन्दा लामालाई आत्मसात् गरेको देखिन्छ ।
तर, ‘लामा’को सही अर्थ नबुझी ‘लामा’मात्रै लेखिरहँदा फेरि पनि अर्काे भ्रम सिर्जना हुने पो हो कि भन्ने डर पनि छ । लामा भनेको कुनै विशेष ठाउँ, कुल, जात/जाति, थर वा वर्ग नभई व्यक्तिको पद वा पदवी हो । गुम्बामा पूजापाठ गर्ने, बौद्ध शिक्षा अध्ययन/अध्यापन गर्ने व्यक्तिलाई ‘लामा’ पदवीले सम्बोधन गरिन्छ । समाजमा लामाको अग्रणी स्थान रहने र लामा समाजमा बस्ने भएकाले त्यो समाजलाई लामा समाज भन्न सकिन्छ । लामा समाजमा बस्ने भएकाले ‘लामा’ लेख्ने गरेको बुझिन्छ । तर बौद्ध शिक्षा लिने लामा समुदायको मात्र नभएर अरु जो कोही पनि हुन सक्छन् । त्यसैले गुम्बामा बौद्ध शिक्षा अध्ययन, अध्यापन गर्ने सबै लामा हुन् तर‚ सबै लामा जातीका भने नहुन सक्छन् । जसले गर्दा अब लामामात्रै लेख्ने वा भोत्/लामा लेख्ने भन्ने अन्यौल देखिन्छ ।
हामी आफ्नो भाषामा आफूलाई भोत् र खस आर्यहरूलाई मोन भन्छौँ । भोत् शब्दबाट भोट/भोटे हुन गएको पनि मानिन्छ । अर्काे शब्दमा बुट्यान भएको क्षेत्रमा बसोबास गर्ने भएकाले ‘बोट’ । बोटे लेखाइका क्रममा देखिएको त्रुटीका कारण ‘भोटे’ भएको तर्क गर्नेहरू पनि छन् । अर्काेतिर भोटे शब्द तिब्बतसँग पनि सम्बन्धित छ । यी समुदायको आफ्नै पृथक संस्कृति, परम्परा, जन्म संस्कार, मृत्यु संस्कार, लिपी र भाषा छन् । त्यसैले अन्य जनजातीहरू– तामाङ, शेर्पा, गुरुङ आदि जस्तै विशुद्ध लामा भएको दाबी गरिँदै आएको छ ।
अभियन्ता छिमी दोर्जे लामा लेख्छन्, ‘आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान गठन गरी आदिवासी जनजातिहरूको सूचीकरण गर्दा आफ्नो छुट्टै पहिचानका साथ हुम्लो भोत्/लामाहरू त्यस सूचीमा परेनन् । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ मा उल्लेखित तथ्यांक सूची भोत्/लामाहरूका लागि सही भएन । त्यसैगरी राष्ट्रिय जनगणना २०५८ मा भोत्/लामाहरू जातीय, भाषिक तथ्याङ्कमा समावेश हुन सकेनन् । आदिवासी जनजातिको सूची सही ढङ्गले वैज्ञानिकरुपमा पुनः सूचीकरण गरिनुपर्छ । र तथ्याङ्क विभागमा नेपालका पृथक भाषा र जात/जातिको तथ्याङ्क ल्याउनु जरुरी छ ।’
आर्थिक रुपमा शोषण र उत्पीडन, राजनितिक बहिस्करणमा परेका आदिवासी जनजातिहरू भाषिक, सामाजिक र सांस्कृतिक रुपमा विभेदमा परेका छन् ।
राज्य संयन्त्रमा भोतहरुले बोल्ने भोत्/भोटे भाषीहरूले बोल्ने भाषालाई अपमानको रुपमा ‘गाईखाने भाषा’ भनिन्थ्यो । पञ्चायतकालमा राजा महेन्द्रले महेन्द्र जनजागृति पाठशालाको स्थापना गरेपछि नेपाली भाषी बाहुन, क्षेत्री समुदायका शिक्षकहरूले अनार्य आदिवासी जनजाति विद्यार्थीहरूको नाम र त्यहाँका ठाउँहरूको नाम पनि फेरेर नेपाली भाषीमा नाम राखिदिन थाले ।
१९६५ सालतिर महेन्द्र जनजागृति पाठशालामा पढ्ने विद्यार्थीहरू- आङ्छिरिङलाई अंगबहादुर, छवाङलाई छक्कबहादुर, म्हेन्दोकलाई मिरा बनाइएको पनि पाइन्छ । भनिन्छ यो पाठशालामा हिन्दू संस्कृतिमा आधारित जीवनपद्धति पनि सिकाइन्थ्यो । यसकै प्रभावसमेतले हुम्लाको तल्लो पहाडी भेगमा बस्ने तामाङ थर लेख्ने भोत्/भोटे भाषीहरूले खस/आर्य संस्कृतिको दबदबा र प्रभावले आफ्नो संस्कार, संस्कृति, भाषा र मौलिक पहिचान गुमाएर हिन्दु जीवनपद्धति नै अँगालेका छन् ।
हाल उनीहरूसँग न आफ्नो भाषा छ, न संस्कार संस्कृति नै । कुनै पनि भाषा, संस्कार र संस्कृति लोप हुनु भनेको एउटा सिंगो इतिहासको मृत्यु हुनु हो । यो हिन्दुवाद र एकल जातीय पहिचान प्रणालीको परिणाम हो । सम्पर्क भाषाका रुपमा नेपाली भाषा सिक्न जरुरी थियो/छ ।
आर्थिक रुपमा शोषण र उत्पीडन, राजनितिक बहिस्करणमा परेका आदिवासी जनजातिहरू भाषिक, सामाजिक र सांस्कृतिक रुपमा विभेदमा परेका छन् ।
‘सात गाउँपालिका रहेको हुम्ला जिल्लामा नाम्खा र सिमकोट गाउँपालिकामा भोत्/भोटे लामाहरूको बस्ती रहेको छ । त्यसमध्ये पनि सिमकोट गाउँपालिकामा भोत्, मोन् मिश्रित रहेका छन् भने नाम्खा गाउँपालिकामा पूरै भोत् बस्ती छ । हुम्ला जिल्लामा भोत्/भोटे लामाहरूको साना, ठूला गरी २६ गाउँहरू छन् । ती तिब्बती/भोटे भाषीहरूमा पनि पाँच समूह छन् ।
टुक्छ्युहुङ्बा, निन्बा, चाङ्बा, ह्युल्छोदुन्बा र लिम्या (लिमी) । यी लामा समुदायको एक पृथक इतिहास छ । धर्म, संस्कार, संस्कृति, परम्परा र भाषा छन् । हुम्लाको भोत् लामाहरू महायानी बौद्धधर्मको निङमा/निग्मा सम्प्रदाय र लिमी उपत्यकामा डिगुङ कग्युपा सम्प्रदायका अनुयायीहरू छन् ।’ लिमी उपत्यकाको हल्जी गाउँमा बाह्रौँ शताब्दीमा स्थापना गरिएको रिन्जिनलिङ गुम्बा छ । यसको स्थापनाकाल हेर्दा लिमीको सांस्कृतिक पक्षको प्रमाण प्रस्तुत हुन्छ ।’ ( देवीचन्द्र श्रेष्ठ, घाम पानीको छापविडो, २०३४) ।
०००
ल्होसार र मानी भोत्/लामाहरूले मनाउने मुख्य चाडपर्व हुन् । छ्याङ्लु, सेलु, ताले, सेर्सुम र स्याप्रु नाचगान गरेर ल्होसार मनाइन्छ । हुम्लाका जनजातिहरूले ‘दवा च्यु चीक’ अर्थात् ११ महिनामा मनाउनेलाई ल्होसारलाई सबैभन्दा पुरानो ल्होसार पनि मानिन्छ । दवा च्यु ङी अर्थात् बाह्रै महिनाको छेवा च्याङा (१५ गते) देखि ३/४ दिनसम्म नाचगान, विभिन्न खेलहरू खेलेर मानी मनाउँछन् । अन्तिम दिनमा ४ दिशालाई पुकारेर रोग, भोक र व्यथाहरू नष्ट गर्न तोर्मा र फाक्पा नाचबाट मानी सकिन्छ । मानी हुम्लाको भोत्हरूको दोस्रो ठूलो पर्व हो । छ्योत्पा, साङछ्याङ, न्यानाइन्यूङनाइ आदि यी समुदायको विशेष धार्मिक पूजा हुन् ।
यी समुदायमा प्रायःजसो मागी विवाह गर्ने चलन थियो/छ । अहिले मागी विवाह पूर्णरूपमा नहटे पनि कम भने भएको छ । पहिले–पहिले विशेष गरेर ‘पाह्लेन, यारसुम्बो रुवाच्युलरुप र कुन्मीरुप ’ चारथरीको मागी विवाह गर्ने चलन थियो ।
बिहे संस्कारबारे चर्चा गर्दा हुम्लाको भोत्हरुसँगै जोडिएर आउँछ- बहुपति प्रथा । यो प्रचलन धेरै पहिलेदेखि चलिआएको भन्ने भनाइ छ । जीविकोपार्जनमा आएको परिवर्तन, खस आर्य संस्कृतिको प्रभाव, बसाइँसराइ, सामाजिकीकरण, भूमण्डलीकरण आदिको प्रभावले वैवाहिक पद्धतिमा पनि फेरबदल आएको छ ।
राज्यको हस्तक्षेपकारी नीतिको कारणले कतिपय जनजातिहरूलाई आफ्नो भाषा, धर्म, संस्कार संस्कृतिबाट अलग गराई उनीहरूको जातीय पहिचान वा चिनारी खोसेर अन्यौलमा पारिएको छ ।
हुम्लाका भोत/लामाहरू पनि यस्तैमध्येकै हुन् । वर्षौँदेखि राज्यको एकल नीतिभित्र दबाइएको, विभेदमा परेको आवाजलाई गणतन्त्रले ठाउँ दियो । हुम्लामा पनि २०६२/६३ लामा संस्कृति मञ्चको स्थापना गरेर त्यहाँका सामाजिक अभियन्ताहरूले आदिवासी जनजाति सौन्दर्य, संस्कृति, भाषालगायत मौलिक पहिचानको विषयमा आवाज उठाइरहेका छन् । तर‚ सुदूरको मान्छेहरूको आवाज नै केन्द्रमा आइपुग्दैन । पहुँच त अझै टाढाको कुरा भइगयो ।
हाल नागरिकतामा लामा वा तामाङ जे लेखेपनि हुम्लाका जनजातिहरू वास्तवमा हिमाली भेगमा कृषि र पशुपालनलाई आफ्नो मुख्य पेशाको रुपमा अंगालेको, बुद्ध धर्म मान्ने र सम्बोधा लिपीमा आधारित भोत/लामा खाम भाषा बोल्ने समुदायलाई हुम्लो भोत जनजाति भनेर पहिचान गर्न सकिन्छ ।
very beautiful article with lots of information..this article can bring some changes and it will sure help the humli civilians to think about it and inspire to conserve the true tradition which really belongs to us.
Thank you for this sweet and informative article
བདེན་པ་བདེན་ཀྱང་རེད།རྗེས་སུ་ཡི་རང་ཡོད། Truth can never be hidden. Keep advocating. A day shutdown the Opportunists shameless desire will come coon…..appreciate your effort.
One of the shocking and hidden informatics article so far . Appreciate for your bold writing.
यो त एउटा नमूना मात्रै हो। यस्ता धेरै समुदायको आफ्नो असली पहिचान र सभ्यताको गाथा कथित राष्ट्रिय तथ्यांकको डड्डामा अर्कै पहिचानभित्र थुनेका छन्। जसलाई कार्यदलले समेत यथोचित सम्बोधन गर्न सकेन। हालैसालै पनि डा. ॐ सित यो बिषय स्मरण गराएको छु। अहिलेसम्म म एक्लै छु जस्तो लाग्थ्यो। अब युवाहरूको साथ पाउने भएँ। स्यावास कुन्साङ! Keep it up!