पदाधिकारी निर्वाचित हुँदा अध्यक्षलाई अप्ठ्यारो परेको एमालेको निष्कर्ष

काठमाडौँ । नेकपा एमालेले पार्टीका सबै पदाधिकारी निर्वाचित हुँदा अध्यक्षलाई काम गर्न अप्ठ्यारो भएको निष्कर्ष निकालेको छ । यही निष्कर्षअनुसार एमालेले अध्यक्ष बाहेक सबै पदाधिकारी मनोनित गर्नेगरी स्थायी कमिटीबाट विधान संशोधन प्रस्ताव पारित गरेको छ । यसपछि अब अध्यक्षले आफूलाई ‘सजिलो’ बनाउनेगरी पदाधिकारी मनोनयन गर्ने बाटो खुला भएको छ ।

मंगलबार पार्टी अध्यक्ष केपी शर्मा ओलीपक्षीय नेताहरूमात्र रहेको स्थायी कमिटी बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको हो । ‘अध्यक्ष र महासचिव बाहेक अरु पद हलबाट निर्वाचित नगर्ने प्रस्ताव ल्याइएको छ । यो प्रस्ताव केन्द्रीय कमिटीले पारित गरेमा छलफल खुला हुन्छ,’ बैठकपछि एमाले प्रवक्ता प्रदीप ज्ञवालीले भने ।

अध्यक्षमात्रै निर्वाचित किन ? भन्ने पत्रकारको प्रश्नको जवाफमा एमाले प्रवक्ता ज्ञवालीले भने, ‘अध्यक्ष पार्टीको प्रमुख नेता हो । तर, उपाध्यक्ष महासचिव, उपमहासचिवलगायत सबै निर्वाचित गर्दा विभिन्न अनुभवहरूको आधारमा अध्यक्षलाई काम गर्न अप्ठ्यारो भएको देखियो । त्यसकारण निर्वाचित भएपछि बाँकी पदाधिकारी चयन गर्ने भनिएको हो ।’

एमालेले आठौँ महाधिवेशनबाट हलबाटै निर्वाचित बहुपदीय संरचना अभ्यास गर्दै आएको छ । आठौँ र नवौँ महाधिवेशनमा सबै पदाधिकारी हलबाटै निर्वाचित भएका थिए ।

तर, पार्टीमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहसँग एकताको प्रयास चलिरहेका बेला एकलौटी रुपमा विधान अधिवेशन गर्ने तयारीमा जुटेको ओली पक्षले अध्यक्ष र महासचिव बाहेक अन्य पद पछि मनोनित गर्ने प्रस्ताव अघि सारेको छ ।

विधान संशोधन गरेर पार्टीबाट वरिष्ठ नेता नराख्ने प्रस्ताव पनि अगाडि बढाइएको छ । बहुकेन्द्र निर्माण भएकाले वरिष्ठ नेताको पद नै नराख्ने प्रस्ताव केन्द्रीय कमिटी बैठकमा राखिने भएको छ ।

निवर्तमान अध्यक्ष पार्टीको वरिष्ठ नेता रहने प्रचलन एमालेमा छ । तर आठौँ महाधिवशेनपछि माधवकुमार नेपाल र नवौँ महाधिवेशनपछि झलनाथ खनाल वरिष्ठ नेता रहे । तर आठौँबाट अध्यक्षमा पराजित ओली र नवौँमा पराजित माधव नेपाललाई पनि वरिष्ठ नेता मनोनित गरिएको छ ।

विधान अधिवेशनका लागि चार समिति
एमालेले विधान महाधिवेशनका लागि विभिन्न चारवटा समिति गठनको प्रस्ताव गरेको छ ।

सोमबार बसेको केन्द्रीय कमिटीको बैठकमा भदौ २७ र २८ गते हुने विधान अधिवेशनका लागि चारवटा समिति प्रस्ताव गरिएको छ ।
जसमा राजनीतिक प्रतिवेदन मस्यौदा समितिको संयोजकमा अध्यक्ष केपी शर्मा ओली र सदस्यहरूमा वामदेव गौतम, रामबहादुर थापा (बादल), प्रदीप ज्ञवाली, छविलाल विश्वकर्मा, सत्यनारायण मण्डल, विष्णु रिमाल र विन्दा पाण्डे रहेका छन् ।

त्यस्तै संगठनात्मक प्रतिवेदन मस्यौदा समिति संयोजकमा महासचिव ईश्वर पोखरेल र सदस्यहरूमा विष्णु पौडेल, टोपबहादुर रायमाझी, शंकर पोखरेल, किरण गुरुङ र पद्मा अर्याल रहेका छन् ।

विधान संशोधन मस्यौदा समिति संयोजकमा विष्णु पौडेल र सदस्यहरूमा सुवास नेम्वाङ, पृथ्वीसुब्बा गुरुङ, लेखराज भट्ट, रघुवीर महासेठ, राधा ज्ञवाली, भानुभक्त ढकाल र प्रभु साह रहेका छन् ।

व्यवस्थापन समिति संयोजकमा रामबहादुर थापा (बादल) र सदस्यहरुमा मणि थापा, शेरबहादुर तामाङ, सुजिता शाक्य, विनोद श्रेष्ठ, खिमलाल भट्टराई, महेश बस्नेत र पासाङ शेर्पा रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *