अभिनय गर्न नपाएपनि अभिनय मिलाउन अब्बल मित्र डी

काठमाडौँ । जात्रा, जात्रै जात्रा, शत्रु गते, मङ्गलम, मारुनी, ठुली, कथा काठमाडौँ लगायत चलचित्रलाई धेरैले मन पराए । यी चलचित्रका नायक नायिकासँगै कथा, संवाद र दृष्यसमेत याद गर्ने धेरै दर्शकलाई यी चलचित्रलाई आकर्षक बनाउन पछाडि बसेर काम गर्नेहरुको नाम भने थाहा नहुन सक्छ । यी लगायत धेरै चलचित्रमा यही काम अर्थात् दृश्य सम्पादन गर्ने व्यक्ति हुन् मित्र डी गुरुङ । खिचिएका सिनहरूको सङ्ग्रह र स्क्रिप्ट लिएर निर्देशकले उनको टेबलमा लगेर छोड्छन् । ती दृश्यहरूको चाङलाई सिलसिलेवार रूपमा चलचित्रको ढाँचामा ढाल्ने काम मित्रले साउन्ड इन्जिनियर (डिजाइनर) को सहायतामा गर्ने गर्छन् । तसर्थ उनी ‘पर्दा पछाडिको हिरो’ हुन् ।

मित्र एसएलसी सकेर उच्च शिक्षा अध्ययन गर्दै थिए । अल्लारे उमेर उनको कुनै सपना थिएन । के बन्ने भन्ने योजना थिएन । जे देख्यो, जो देख्यो त्यही बन्न मन हुने उमेर थियो । एक पत्रिकामा उनले ‘कलाकार चाहियो’ लेखेको देखे । चन्चले उमेर र अस्थिर मन उनले फर्म भर्ने योजना बनाए । त्यसैको लागि उनी काठमाडौंको कालिकास्थान पुगे । तर फर्मको पैसा महँगो भएको कारण उनी यसै फर्किए ।

अभिनय गर्ने ‘कलाकार’ बन्ने सपना पूरा भएन तर उनले धेरै कलाकारको अभिनयलाई थप चिरिच्याँट्ट बनाएर दर्शक माझ आकर्षक ढंगमा प्रस्तुत गर्ने डिजाइनर बने । अहिले सम्पादनको टेबुलमा हिरो हिरोइनको अभिनय हेर्दा बेलाबेला ‘यो भन्दा त मै राम्रो गर्थे’ भन्ने आफूलाई लाग्ने उनी सुनाउँछन् । ‘कसैको त अभिनय त एकदमै झुर हुन्छ’ अनि यस्तो लाग्छ यो भन्दा त मै राम्रो गर्थें । उनी अनुहार बिगार्दै भन्छन् ।

काम थाल्दाको शुरुवाती चरणमा उनलाई आफूले दर्शकले नचिन्ने भए भन्ने चिन्ता र ‘पर्दामा देखिने कलाकार’ बन्न नसकेकोमा केही गुनासो पनि थियो । तर अब त्यो गुनासो छैन, उनी आफ्नो काममा सन्तुष्ट छन् । जे जति नाम दाम कमाए यही पेसामा लागेर नै कमाएका छन् उनले ।

अभिनय गर्ने ‘कलाकार’ बन्ने सपना पूरा भएन तर उनले धेरै कलाकारको अभिनयलाई थप चिरिच्याँट्ट बनाएर दर्शक माझ आकर्षक ढंगमा प्रस्तुत गर्ने डिजाइनर बने ।

अहिले उनले सम्पादन गरेका ए मेरो हजुर ४, बिहे पास, माइकल अधिकारी, मन्त्र लगायत चलचित्र प्रदर्शनको पर्खाइमा छन् । तर प्रदर्शनको मिति भने टुङ्गो छैन । । यसबाहेक पनि उनी महोत्सव, प्रतियोगितालगायतका लागि बन्ने कलामा आधारित भिडियोहरुको सम्पादन गर्छन् । जसको उद्देश्य निर्मातालाई खुसी बनाउनेभन्दा पनि कला प्रदर्शन गर्ने हुन्छ ।

यसरी जोडिए सम्पादनमा
उनी सम्पादन कर्ममा जोडिनुको रमाइलो कहानी छ । मित्र पढ्दै थिए । यतिकैमा उनका बाबुले आफ्ना साथी मानबहादुर थापाको स्टुडियोमा काम गर्न जान सुझाए । मानबहादुर नेपाली सेनामा दृष्य सम्पादनको काम गर्थे । उनी सेवा निवृत भएसँगै अनामनगरमा सम्पादनको स्टुडियो खोले । मित्र मानबहादुरको स्टुडियोमा गए । उनलाई यसबारे केही थाहा थिएन । हेर्दै जाँदा उनलाई छायाङ्कनमा जानु नपर्ने डेस्क मै बसेर गर्न मिल्ने यो कामले आकर्षित गर्यो । अधिकांश समय डकुमेन्ट्रीको काम गर्ने मानबहादुरले उनलाई शिष्य बनाए र काम सिकाए । उनले रुचि बढ्दै गएपछि अहिले एनिमेसनमा डिप्लोमा पूरा गरेका छन् ।

‘मा अर आशीर्वाद’ नामक राजवंशी भाषाको चलचित्रमा उनले पहिलोपटक चलचित्र सम्पादनको अवसर पाए । उक्त चलचित्र रिल लोड गरेर खिचिएको सम्झिन्छन् उनी । भलै यो चलचित्र खासै चर्चामा भने आउन सकेन । तर उनले सम्पादनको काम छोडेनन् । उनले म्युजिक भिडिओ, लघु चलचित्र देखि विभिन्न ब्यानरमा काम गर्दै थिए । उक्त समय उनले एभरेस्ट सूर्य बोहरा, ज्ञानेन्द्र देउजा, शम्भु प्रधान, किशोर राना मगर लगायतसँग काम गरेका थिए ।

तर समय अनुसारको चलचित्र समेत आवश्यक हुने रहेछ भन्छन्, उनी । यही क्रममा उनलाई चलचित्र ‘जात्रा’ को लागि कामको अफर आयो । उनले छायाङ्कन अघि नै स्क्रिप्ट पनि पाएका थिए । यो चलचित्र गरेसँगै उनलाई कामको कमी भएको छैन । जात्रा समूहसँग काम गर्न सहज हुने अनुभव मित्रले सुनाए । उनलाई प्रदीप भट्टराई, रवीन्द्र बानियाँ, विपिन कार्कीलगायतको काम प्रतिको लगावले पनि आकर्षित गर्यो ।

सम्पादकलाई पनि चलचित्रको सुरुवाती चरणबाट नै छलफलमा सहभागी गराउनु पर्ने बताउँछन् उनी । कतिपय समय त एकपटक अरूलाई नै सम्पादन गराएर फाइनल कामका लागि मात्र उनलाई भेट्ने निर्देशक पनि छन् । ‘तर काम राम्रो बनाउनु छ भने पहिलाबाट नै स्क्रिप्ट दिनुपर्छ र छलफलमा सामेल गराउनुपर्छ’ उनले भने ।

मित्रको भोगाई उनको सोचभन्दा फरक छ । ‘कतिपय निर्माता निर्देशकले त स्क्रिप्ट पनि दिँदैनन् । सम्पादन गर्दैगर्दा नै उनीहरूलाई यो चलचित्र कस्तो बनेको छ भन्ने थाहा हुन्छ । कतिपय समय राम्रो काम गर्छु भन्दाभन्दै पनि समय अभाव र निर्माण टिमको प्रेसरले काम गर्न सकिँदैन । कहिलेकाहीँ आफ्नो काम राम्रो भएको हुन्छ तर दर्शकले मन पराउँदैनन् । त्यसैले कस्तो चलचित्र चल्छ भन्ने विषयमा उनी केही भन्ने सक्दैनन्’ अनुभव सुनाउँछन् उनी ।

कतिपय चलचित्रका सिन त यस्ता पनि हुन्छन् कि जति नै मिलाउन प्रयास गरे पनि इमोसनल सिनले हसाउँछ भने कतिपय कमेडी सिनमा हाँसो नै उठ्दैन । यस्ता भोगाई पनि उनले सँगालेका छन् ।

सम्पादनमा आएका फुटेज हेरेर उनी कतिपय समय धेरै हाँसेका पनि छन् । चलचित्रको नाम उल्लेख नगर्ने सर्तमा उनले एक अनुभव सुनाए । एउटा सिन ‘तपाईँले खाना खानुभयो ?’ भन्ने थियो । यसको छायाङ्कन भएको फुटेज हेरेर पहिला नै ‘हाँसेर मुर्छा परेका’ उनले डबिङमा आएका उनै कलाकारले यही एउटा डाइलग भन्न पुरै एकदिन लगाएको सम्झिन्छन् । यस्तो घटनाहरूले रमाइलो पनि लाग्ने गर्छ उनलाई । ‘सम्पादनको रमाइलो नै यही त हो’ भन्ने उनले राम्रो चलचित्रमा कमेडी सिन इन्जोय गर्छन् भने भावनात्मक सिनमा इमोसनल पनि हुने बताउँछन् । कतिपय चलचित्रका सिन त यस्ता पनि हुन्छन् कि जति नै मिलाउन प्रयास गरे पनि इमोसनल सिनले हसाउँछ भने कतिपय कमेडी सिनमा हाँसो नै उठ्दैन । यस्ता भोगाई पनि उनले सँगालेका छन् ।

कठिन छ सम्पादन
सम्पादनको क्षेत्र ‘सुरक्षित जागिर’ भने होइन । काम हुने समयसम्म हुन्छ तर नभएको समयमा आफूलाई ‘होपलेस’ बनाउन भने नहुने उनको सुझाव छ । खाली समयमा पनि थप सिप सम्पादन सिक्न मै लगाउन मित्र सुझाउँछन् । ‘प्रविधिको कुरा हो परिवर्तन भई रहन्छ । आफूलाई अपडेट पनि गराउँदै लैजानु पर्छ । नयाँ पुस्ता जो सम्पादनमा आउन चाहन्छ, यो क्षेत्रमा लागेर बाच्न सकिन्छ । तर यसको लागि धैर्यता भने जरुरी हुन्छ’ उनको भनाइ छ ।

अहिले लकडाउनको समयमा दर्शकले विश्वभरीको चलचित्र हेरे । आगामी दिनमा बन्ने चलचित्र भने मेकिंगको विषयमा भने यसैकारण पनि ध्यान दिन जरुरी हुन्छ । अब एउटा १५ सेकेन्डको भिडिओ टिकटकमा राखेरै एक आम मानिसले समेत लाखौंको ध्यान तान्न सक्ने समय आयो भने अब बन्ने चलचित्रलाई हलुका रूपमा लिन नहुने मित्रको तर्क छ । प्रोफेसनल सफ्टवेयरसमेत नभएका व्यक्तिहरूले समेत यति गरेको देखिरहँदा आफ्नो काममा फोकस हुनुपर्ने दबाब बढेको उनी बताउँछन् ।

समय र हतार
चलचित्रको सम्पादनमा लाग्ने समयको विषयमा भने छायाङ्कनको तरिकामा भर पर्छ भन्ने लाग्छ मित्रलाई । तर पनि एउटा चलचित्र एक महिनादेखि ४५ दिन सम्ममा सकिने गर्छ । ५ मिनेटको म्युजिक भिडिओलाई दुई दिन । कतिपय चलचित्रमा निर्माता स्वयम् नै कलाकार हुन्छन् । यस्तोमा काम गर्दा समेत प्रेसर हुने उनको बुझाई छ । चलचित्र मङ्गलम सम्झिँदै गर्दा उनले व्यावसायिक तथा चलचित्र बुझेका निर्माता छविराज ओझा भएको कारण उनीसँग काम गर्दा कुनै प्रेसर नभएको याद गर्छन् । निर्माताको व्यावसायिकताको आधारमा काममा दिने दबाब भर पर्छ । उनको भोगाइले यसै भन्छ ।

पछिल्लो समय विदेशबाट प्राबिधिक मगाउने क्रम बढ्दो छ । यस विषयमा मित्रलाई नेपालमा प्राबिधिक मात्रै नभएर क्यामेरा लगायतका उपकरण समेत उपलब्ध छन् भन्ने लाग्छ । तर चलचित्र राम्रो बन्न सुरुवाती योजनादेखि स्क्रिप्ट, डाइलग, कलाकार सबै राम्रो हुन जरुरी छ ।

लकडाउनको समयमा मित्रले पनि धेरै चलचित्र हेरे । पछिल्लो समय उनले ‘मिमी’ हेरेको बताउँछन् । उनलाई स्थानीय विषय उठाएकोले ‘मिमी’ खुबै मन परेको छ । उनी मिमी हेर्न सुझाउँछन् । वेब सिरिजका सौखिन उनी ‘मनि हाइस्ट’ को व्यग्र प्रतीक्षामा छन् । उत्साहित हुँदै भन्छन्,’अब त एक महिना पनि बाँकि छैन । रिलिज भएकै दिन हेर्ने हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *