भ्रम टुटेका कांग्रेसका तीन राजकुमार
७६ वर्षीय कांग्रेस सभापति शेरबहादुर देउवाको कार्यकाल दोहोर्याउने सुरसार र ७९ वर्षीय रामचन्द्र पौडेलले सभापति बन्ने इच्छा देखाएपछि आसन्न चुनावमा पदाधिकारीमा लड्ने सपना देख्नेहरुमा छटपटी शुरु भएको छ । केन्द्रीय राजनीतिमा रहेका तीन बीस नाघेका अधिकांश नेताहरुले यो चुनावलाई अस्तित्वको लडाइँ मानेका छन् । यो फाल उम्किएपछि नेतृत्वमा आउन शारीरिक, मानसिक र समयको दबाबका दृष्टिले पनि असम्भव बुझेका नेताहरुका लागि यो अन्तिम संघर्ष हुनसक्छ । त्यसैले गुट, फूट, चुट, झूट सबै अस्त्र सामान्य हुने अवस्था छ ।
हुँदा हुँदा कांग्रेसका संस्थापक नेता बीपी कोइराला पुत्र डा. शशांक कोइराला, गणेशमान पुत्र प्रकाशमानसिंह र महेन्द्रनारायण निधि पुत्र विमलेन्द्र निधि एकजुट भएका समाचार आएका छन् । समकालिन राजनीतिमा यिनीहरु एकजुट भएको समाचार नै असमाचारभित्रको समाचार हो । यी तीनै राजकुमार नेपालको राजनीतिमा प्रयोग भएर नरुचाइएका स्वाद हुन । ६० नाघेका ७० नपुगेका यी तीनजनै पात्रमा असल बाउका खराव सन्तानको अंश हावी छ । न यिनीहरुमा हाँसको चाल छ, न कुखुराको । यदि शेरबहादुर देउवाको नेतृत्व असफल भएर कांग्रेस रसातलमा पुगेको ठान्ने हो भन्ने त्यसको हकदार यी तीन राजकुमार प्रमुख रुपमा छन् । माछा देखेभित्र हात, सर्प देखे बाहिरी हातको रणनीतिमा यी तीनवटै खेलाडी माहिर छन् ।
विरासतको राजनीतिबाट पद पाएपनि कर्मले स्थापित हुने अवसर कांग्रेसका संस्थापक नेता बीपी कोइराला पुत्र डा. शशांक कोइरालाले गुमाए । विना पूर्वाग्रह भन्ने हो भने म्यानेजर त के खजान्ची हुने क्षमता पनि उनमा देखिएन ।
बीपी कोइराला आफ्ना चार सन्तान मध्ये प्रकाश कोइरालालाई राजनीतिमा आएको देख्न चाहन्थे । यही उद्देश्य प्राप्तिका लागि प्रकाशलाई राजनीतिशास्त्र पढाए । दुई छोरा प्राविधिक भएर जनताको सेवा गरुन भन्ने उनको चाहना थियो । त्यसैले माइलो श्रीहर्ष इन्जिनीयर र कान्छो शशांक डाक्टर भए । आँखाको दृष्टि दिने विद्या पढेका शशांक राजनीतिमा होमिए । बीपीकै छोराको नातोमा कार्यकर्ताले चुनाव जिताइ दिए । महामन्त्री भनेको कांग्रेसको अलराउण्डर म्यानेजर पद हो । यही पदमा हुँदा उनका कान्छा काका गिरिजाप्रसादले यो पदलाई ‘हीरा’ बनाए । महामन्त्री पद धारण गरेको चार वर्ष पार गर्दा शशांकले डाक्टरी अभ्यास त गुमाए नै, राजनीतिमा मकैको ढोड प्रमाणित भए । न आफ्ना बा बीपी, ठूला बा मातृकाजस्तो बौद्धिकता देखियो, न काकाजस्तो संगठनमा वर्चस्व नै । शेरबहादुरले तयार गरेको कीर्ते कागजमा हस्ताक्षर गरेर रामचन्द्र पौडेलले गरेको गुटगत भेलामा देउवाविरुद्ध विषवमन गर्नु यिनको कार्यशैली बन्यो । विरासतको राजनीतिबाट पद पाएपनि कर्मले स्थापित हुने अवसर उनले गुमाए । विना पूर्वाग्रह भन्ने हो भने म्यानेजर त के खजान्ची हुने क्षमता पनि उनमा देखिएन ।
कुशल महामन्त्रीका लागि शेरबहादुर देउवा सभापति हुनु खुँदो हो । देउवासंग निकट भएकाहरुको अनुभवमा विश्वास दिएपछि शेरबहादुर जे गर्न पनि तयार हुन्छन् । त्यसो त शेरबहादुर अनौपचारिक भेटघाटमा शशांकलाई नामले बोलाएर ‘तँ’ सम्बोधन गर्छन् । बीपी कै मर्यादा बचाउन नवलपरासीका शुभेच्छुक कार्यकर्ताले कांग्रेस नामको लट्ठी उठाए पनि जित्ने क्षेत्रमा लगेर दुई कार्यकाल सहजै चुनाव जिताए । तर यिनले संसदमा पाँच मिनेट भाषण गरेको सुनिएन । डा. मिनेन्द्र रिजाल र गगन थापाले कांग्रेस संसदमा छ भन्ने इज्जत जोगाइदिए । कोभिडको आतंकले लास भएर जल्ने अधिकार सुरक्षित नभएको अवस्थामा यिनको डाक्टरी विद्या कार्यकर्ता माझ ‘हेल्थ टिप्स’का लागि पनि काम लागेन । आफ्नो बाबुले स्थापना गरेको पार्टीको रोडम्यापका विषयमा दुई लाईन बोल्ने क्षमता देखिएन । कोमामा पुगेर फर्किएको नाफाको जिन्दगी फगत मनोरन्जनमै बित्यो । धर्मनिरपेक्ष राज्यको संविधान घोषणा गर्ने आफ्नो पार्टीको जशलाई बेमौसमी हिन्दुराज्यको कुरा गरेर यिनले आफ्नो अल्पज्ञान छरपस्ट बनाए । मदिराका तालमा ओली र प्रचण्डलाई फुटाउने जस्ता बेतुकका तर्क सार्वजनिक गरेर भोलिपल्ट आफ्नै बचनमा टिपेक्स लगाए । जुन नेताले आफ्नो सानो परिवार व्यवस्थापन गर्न सक्दैन भने उसले तीन करोड जनता व्यवस्थापन गर्छ भने सोच्नु नै गलत हो ।
प्रकाशमानसंग न बाउको राप छ, न बौद्धिकताको ताप छ । उनको राजनीतिमा डनवादको प्रभाव देखिन्छ । कुनै दिन संसदमा बोलेर यिनले पकड जमाएको कुनै कांग्रेसीजनले देख्न पाएनन ।
शेरबहादुर देउवा क्याम्पबाट कोइराला क्याम्पमा छिरेका प्रकाशमान सिंहले पनि आफ्नो कुनै भिजन पुष्टि गर्न सकेका छैनन् । सुशील कोइराला सभापति हुँदा महामन्त्री भएका उनलाई नेवार भएको योग्यताले मात्र साथ दिएको छ । उनकै कारण अनपेक्षित पात्रलाई काठमाडौं महानगरको मेयरमा टिकट दिँदा पोल्टामा आएको मेयर पद गुमाउनुपरेको तीतो विगत कांग्रेसजनले बिर्सिएका छैनन् । तीर्थराम डंगोल, भिमसेनदास प्रधान वा अन्य कुनै नेवार समुदायको पात्रलाई टिकट दिइएको भए स्वतः चुनाव कांग्रेसको पोल्टामा थियो । उपमेयर कांग्रेस विजयी हुनुले पनि यो तथ्य पुष्टि हुन्छ । काठमाडौंको राजनीति आफ्नो ठेक्का दाबी गर्ने यिनी अघिल्लो चुनावमा विवेकशील पार्टीका रविन्द्र मिश्रलाई थोरै मतान्तरले जितेका थिए । त्यसो त कांग्रेसका लौह पुरुष गणेशमान सिंहले पत्नी मंगलादेवी र छोरा प्रकाशमान चुनावमा पराजित भएपछि रन्थनिएर यहाँका मतदातालाई ‘भेडा’सम्म भन्नपछि परेका थिएनन् । प्रकाशमानसँग न बाउको राप छ, न बौद्धिकताको ताप छ । उनको राजनीतिमा डनवादको प्रभाव देखिन्छ । कुनै दिन संसदमा बोलेर यिनले पकड जमाएको कुनै कांग्रेसीजनले देख्न पाएनन् । धन भएर के गर्नु ? यिनको निर्वाचन क्षेत्रमा एउटा मास्क र सेनिटाइजर बाँडेको अनुभव मतदाताले गरेनन् । बरु यिनको परिवारबाट राजनीति सिकेका नविन्द्रराज जोशीले लोकप्रियता आर्जन गरे । भला उनी अहिले यो संसारमा छैनन् ।
अघिल्लो चुनावमा मधेशमा टिकट बाँड्ने मुखिया बनेका यिनले अपवादबाहेक कांग्रेस जिताउन सके । कतिसम्म भने सर्लाही निर्वाचन क्षेत्र भएका राजेन्द्र महत्तो यिनको निर्वाचन क्षेत्र जनकपुर पसेर धुलो चटाइदिए ।
शेरबहादुर देउवाको क्याम्पबाटै कांग्रेसमा पछिल्लो राजनीतिक करियर बनाएका विमलेन्द्र निधिका लागि यो संगत महँगो बन्यो । देउवाबाट सभापति पद अपुतालीमा उछिट्याउँछु भनेर ढुक्क भएका यिनका लागि यो चुनाव थाल खाउँ, न भात खाउँ जस्तै बन्यो । उनमा न अघि बढ्ने सामर्थ्य छ, न पछि हटने सुविधा । भोट बैंकका रुपमा रहेको मधेशको संगठन खरानी बनाएको गम्भीर आरोप यिनीमाथि छ । मधेशी दलको भर्तीकेन्द्रमा भर्ना भएकाहरु अधिकांश कांग्रेससँग चित्त दुखाएर जाने छन् । त्यो चित्त दुखाईको कारण यिनै निधि हुन् । अघिल्लो चुनावमा मधेशमा टिकट बाँड्ने मुखिया बनेका यिनले अपवादबाहेक कांग्रेस जिताउन सकेनन् । कतिसम्म भने सर्लाही निर्वाचन क्षेत्र भएका राजेन्द्र महत्तो यिनको निर्वाचन क्षेत्र जनकपुर पसेर धुलो चटाइदिए । नेविसंघको राजनीतिबाट आएपनि दम्भी, अनुदार, आफ्नो कुरा माथि पार्नुपर्ने र देउवाको आड लिएर प्रतिभाशाली राजनीतिकर्मीलाई कर्नर पारेको आरोप यिनीमाथि छ ।
१४ औं महाधिवेशनमा आइपुग्दा नेपाली कांग्रेसको नेतृत्वमा ८० हाराहारीका र पदाधिकारीमा ६० नाघेकाहरुको प्रतिस्पर्धा देखिन्छ । जुन ६६ वर्षअघि वीरगञ्जमा भएको राष्ट्रिय महाधिवेशनका दृश्यभन्दा हरेक मानेमा भद्दा मजाक लाग्छ । त्यो अधिवेशनमा ४६ वर्षीय सुवर्णशमशेर जवरा र ४० वर्षका गणेशमान सिंहका बीच सभापतिमा प्रतिस्पर्धा भएको थियो । २३६ मत ल्याएर सुवर्णशम्शेर सभापति हुनुभयो । ४१ वर्षीय बीपी सभापति पद छोडेर पार्टीको अभिभावक बन्नुभयो । महामन्त्रीमा निर्वाचित तुलसी गिरी २९ र विश्वबन्धु थापा भर्खर २६ वर्षका थिए । यही दृश्यले भन्छ- अहिलेको कांग्रेस कुन बाटो हिँड्दैछ ?