अवैध बालुवा बेच्ने थापाले गरे प्रहरीमाथि हातपात
पोखरा । कास्कीका घाटहरु अहिले पनि बिना दर्ता चलिरहेका छन् । दैनिक गिटी बालुवा उत्खनन् भइरहेको छ । नियन्त्रणको संयन्त्र नहुँदा अवैध काम गर्नेहरुलाई झनै प्रश्रय मिलेको छ ।
घाट उत्खनन्का लागि टेण्डर आह्वान गर्दा स्थानीय जम्मा पारेर उत्खनन् गर्न नदिने र स्थानीयसँगै मिलेर अवैध रुपमा गिटी बालूवा बेच्ने गर्दा नदीको जोखिम बढेको छ । पोखरा २५ मसिनाबगरस्थित सहश्रघाट महानगरले टेण्डर आह्वान गरेको थियो । त्यहाँका स्थानीयले बस्तीलाई जोखिम हुने भनेर अवरोध गरेपछि ठेक्कामा गएन । तर त्यहिँका स्थानीय रामचन्द्र थापाले लामो समयदेखि अवैध रुपमा घाट चलाउँदै आएका छन् ।
अवैध उत्खनन् गरेको सूचनाका आधारमा कास्की प्रहरीले अनुगमन गर्दा उनी रंगेहात पक्राउ परे । ‘सुरुमा प्रहरीले सोधपुछ गर्यो । उहाँ जंगिन थाल्नुभयो । प्रहरीमाथि नै हातपात गर्न थालेपछि उहाँलाई पक्राउ गरिएको छ,’ प्रवक्ता सुवास हमालले भने, ‘सार्वजनिक हीत, स्वास्थ्य, सुरक्षा, सविधा र नैतिकता विरुद्धको कसुरमा मुद्धा चलाईएको छ ।’
थापालाई १० दिन म्याद थपिएको छ । उनले धेरै पहिलेदेखि अवैध रुपमा गिटी बालूवा बेच्ने गरेको अनुसन्धानबाट खुलेको छ । अन्य घाटहरुमा पनि रातीको समयमा उत्खनन् बढी भएको छ । प्रहरीले सबैतिर अनुगमन गरिरहेको हमालले बताए ।