बारीमै रमाइरहेका रामचन्द्र : फलफूल खेतीदेखि प्रशोधन उद्योगसम्म

धनगढी । हातमा डिग्रीको प्रमाणपत्र हुँदैमा मात्र पनि काम पाइन्छ भन्ने छैन । तर हातमा सिप र मनमा आँट हुने हो भने शैक्षिक योग्यताले मात्र दिन नसकेको ‘अवसर’ पाउनु गाह्रो पनि नहुने रहेछ । यसको एक उदाहरण हुन्, कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ८ का रामचन्द्र गिरी ।

औपचारिक अध्ययन एसएलसीसम्म मात्रै भएका उनले रोजगारीका लागि मरिहत्ते भने गरेनन् । मध्यम वर्गीय परिवारमा जन्मेका गिरीले घर गृहस्थी सम्हालिसकेपछि भने कुनै न कुनै ‘इलम’ गर्नु नै पर्ने थियो । पढाइ कम भएकाले पनि रोजगारीको अवसर कमै थियो । त्यसैले ‘स्वरोजगार’ बन्ने अवसर उनले खोजे । त्यसका लागि कृषी क्षेत्र सबैभन्दा सहज थियो । किनकि उनीसँग कुनै कृषी इलम थाल्न आवश्यक पर्ने जग्गा थियो ।

आर्थिक उपार्जनको बाटो रोज्न अब कि विदेश जानुपर्ने वा नेपालमै स्वरोजगार बन्ने विकल्प रह्यो । उनले भने आफ्नै ठाउँमा केही गर्ने ‘अप्सन’ रोजे । बेरोजगारी समस्याले नै उनलाई कृषि क्षेत्रमै लागेर केही गर्नुपर्छ भन्ने बाटो देखाएको उनी बताउँछन् । ६ वर्षअघि घरबाट केही किलोमिटरको दुरीमा रहेको वडा नम्बर ९ स्थित आफ्नै जग्गामा उनले फलफूल खेती सुरु गरे ।

कृषि सम्बन्धी कुनै सीप नसिकेका उनले जानी नजानी १३ कट्टा जग्गामा फलफूल खेती शुरु गरे । विशेषगरि लिची र कागती रोपे । उनको बारीमा अहिले एक सय बोट कागती र ५५ बोट लिची छन् । चार वर्षपछि उनले उत्पादन शुरु भयो । दुई वर्ष अघिदेखि उनले लिची र कागती बेचेर आम्दानी पनि गर्न थालिसकेका छन् ।

उनले फलेका लिची र कागती मात्र होइन कलमी प्रविधिबाट नयाँ विरुवा पनि उत्पादन गरेर विक्री थालेका छन् । उनले दुई वर्षमा कागतीका चार हजार बोट विक्री गरिसकेको बताए । पोहोर साल लिचीका १५ सयभन्दा बढी बोट विक्री गरिसकेको र यसवर्ष चार हजारभन्दा बढी लिचीका विरुवा उत्पादन गरेर बेच्ने लक्ष्य राखेको जानकारी मकालुखबरलाई दिए । ‘पोहोर पहिलो वर्ष हुनाले धेरैलाई थाहा पनि थिएन,’ रामचन्द्रले भने, ‘यस वर्ष बुकिङ सुरु भइसकेको छ, गत वर्षभन्दा दोब्बर बढी विक्री हुने आशा राखेको छु ।’

आर्थिक उपार्जनको बाटो रोज्न अब कि विदेश जानुपर्ने वा नेपालमै स्वरोजगार बन्ने विकल्प रह्यो । उनले भने आफ्नै ठाउँमा केही गर्ने ‘अप्सन’ रोजे ।

लिचीको उत्पादन एक डेढ महिनासम्म मात्रै हुन्छ भने कागती बाह्रै महिना फल्छ । ‘कागतीको बजार धेरै छ,’ रामचन्द्र भन्छन्, ‘मागअनुसार पुर्याउन सकिँदैन । यहाँ कागती उत्पादन कम हुँदा बजारमा भारतीय र पहाडबाट आउने कागतीले बजार लिन्छ ।’ उनको बारीमा अहिले बाह्रसय, सिड्लेस जातका कागती र कल्कत्तिया, रोज सेल्ट्रट, शाही सिड्लेस जातका लिची छन् ।

बारीभित्रै प्रशोधन केन्द्र
बारीमा उत्पादित लिची र कागती विक्री गर्न थालेपछि रामचन्द्रले आफूभन्दा पनि विचौलिया बढी फाइदामा गइरहेको देखे । किसानले मेहनत गरेर उत्पादन गरेका फलफूल बिचौलियाले केहीछिनमै आफूभन्दा बढी फाइदा लिइरहेको देखेपछि उनले एउटा जुक्ति निकाले, बारीभित्रै प्रशोधन केन्द्र सञ्चालन गर्ने । उनले आफ्नै बारीमा उत्पादित कागती, लिची र अन्य फलफूलबाट समेत अचारलगायत उत्पादन गर्ने सोच बनाए । त्यसका लागि उनले प्रशोधन उद्योग ‘श्री शान्ति बाटिका फलफूल प्रशोधन उद्योग’ दर्ता गरे ।

एक वर्षयता उनी यही उद्योगको नाममा विभिन्न अचार उत्पादन गरिरहेका छन् । उनले अचारको ब्राण्ड नाम ‘आनन्दी’ राखेका छन् । उनको उद्योगमा अहिले कागतीको अचार, लिची, तामा, अमला, खुर्सानी, डल्ले खुर्सानी, मिक्स अचारलगायतका विभिन्न किसिमका अचार उत्पादन भइरहेका छन् । ‘आनन्दी’ ब्राण्डको अचार अहिले धनगढीलगायत सुदूरपश्चिमका बजारहरुमा पुग्छ ।

अहिले उनी बाहिरबाट पनि फलफूल मगाएर अचार बनाइरहेका छन् । आफ्नो बारीबाट उत्पादित कागती र लिची चाहिएजति प्रशोधन उद्योगमै प्रयोग गर्छन् भने बाँकी विक्री गर्दै आएका छन् । अन्य अचारलगायत बनाउन प्रशोधन उद्योगका लागि भने बाँकी फलफूलहरु बाहिरबाट पनि मगाइरहेका छन् । उनको उद्योगमा अहिले अचारसंगै चुक, लेमन स्पाइसलगायतका अन्य चिजहरु पनि उत्पादन भइरहेका छन् ।

कोरोनाकोे असर
कोरोनाको महामारी सुरु हुनुभन्दा अगाडि उनको प्रशोधन केन्द्रले राम्रो गति समातिसकेको थियो । बारीको हेरचाह, उद्योग बनाउन कर्मचारी पनि राखेका थिए उनले । चार/पाँच जनालाई उनले रोजगारीसमेत दिएका थिए । तर पहिलो लकडाउनपछि उद्योगमा असर परेको उनले बताए । ‘पहिलो लकडाउन सुरु भएदेखि अहिलेसम्म ठाडो उठ्न सकिएको छैन ।’ फेरि पनि कोरोना संक्रमण बढ्दै जाँदा फेरि लकडाउन हुने हल्लाले उनलाई थप पिरोलीरहेको छ । ‘हामीजस्ता बजारकै भरमा परेका उद्यमीलाई लकडाउनले निकै मारमा पारेको छ ।’ उनी निराश हुँदै भन्छन् ।

कागतीबारी विस्तार
कागतीको राम्रो बजार देखेका रामचन्द्रले नजिकै अर्को १० कट्टा जमिनमा भर्खरै कागती रोपेका छन् । आफ्नै जग्गा र कागतीका बोट पनि आफ्नै बारीबाट उत्पादन भएका कारण नयाँ बारी विस्तार गर्न उनलाई असहज भएन ।

देशमा धेरै मानिसले रोजगारी नपाइरहेका बेला उनीहरुलाई कृषि क्षेत्रमै स्वरोजगार बनाउन सरकाले प्रभावकारी कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने उनको सुझाव छ ।

‘उद्यममा लागिसकेपछि विस्तार गर्नैपर्छ भनेर थप कागती खेतीलाई विस्तार गरेको छु,’ उनले भने, ‘अवस्था सामान्य भयो भने बजारको मागलाई धान्न सकिन्न । अवस्था हेरेर अरु फलफूल पनि विस्तार गरिनछ ।’ कागतीको अधिकांश उत्पादन आफै प्रशोधन गर्ने र बाँकी बजारमा पुर्याउने लक्ष्य उनको छ ।

ठेक्कामा ‘प्लान्टेसन’
कागती र लिची खेती गर्दै प्रशोधन उद्योगसमेत चलाइरहेका रामचन्द्र यत्तिमै समिति रहेनन् । उनले ठेक्कामा अरुको बारीमा विरुवा बनाइदिने ‘प्लान्टेसन’ को काम पनि गर्न थालेका छन् । उनले यसै वर्ष दुई ठाउँमा ‘प्लान्टेसन’ गरेका छन् । बिरुवा रोप्न चाहने तर दक्षता नभएकाहरुलाई ठेक्कामा विरुवा रोपिदिने काम गरिरहकेो उनले बताए ।

उनले यसवर्ष एक ठाउँमा धनगढीकै जुगेडामा एक विघा १२ कठ्ठामा आँप, लिची र कागतीको बारी बनाएर तयार पारेका छन् । ‘बारी तयार पर्दा सबै आफ्नै तर्फबाट खर्च गर्नुपर्छ,’ उनी भन्छन्, ‘एक विघामा त्यहाँ लगाउने बोटका आधारमा बारी तयार पार्दा डेढदेखि अढाई लाखसम्म खर्च आउँछ ।’ सबै काम सकेपछि बल्ल पैसा आउने उनले बताए ।

कृषि क्षेत्रमा केही गर्न चाहने व्यक्तिलाई राज्यले पनि हेर्नुपर्ने उनको सुझाव छ । देशमा धेरै मानिसले रोजगारी नपाइरहेका बेला उनीहरुलाई कृषि क्षेत्रमै स्वरोजगार बनाउन सरकाले प्रभावकारी कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने उनको सुझाव छ । सरकारले कृषि उत्पादनको बजारीकरणमा सहज गरिदियो भनेमात्रै पनि धेरै व्यक्तिहरु कृषि क्षेत्रमा आकर्षित हुन सक्ने उनको बुझाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *