प्राज्ञले सम्पदा चिन्दैनन् भने अरुबाट के आशा गर्ने ?

म अहिले शोकमा छु । कोभिडको जगजगी र तनावका बीच मलाई अर्को पीडा थपिएको छ । यो देशमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर (कविकुञ्ज) भत्काएको खबर सुनेदेखि मलाई मेरो परिवारकै कोही व्यक्तिको निधन भएको जस्तो लागिरहेको छ । यो अवस्थाको म थप व्याख्या गर्न सक्दिनँ ।

हामीले वर्षौँसम्म जस्ताको तस्तै राख्न सक्ने एक अमूल्य निधि गुमाएका छौँ । हामीले गुमाएको भन्दा पनि प्रज्ञा प्रतिष्ठान र त्यहाँका प्राज्ञहरूको कुबुद्धिका कारण यो सबै भएको छ । प्रज्ञा प्रतिष्ठानले महापाप गरेको छ‚ अक्षम्य अपराध गरेको छ । यसको जति सजाय भएपनि वा जति क्षमायाचना गरेपनि त्यो अपूग नै हुन्छ ।

करीब २ वर्षअघि मलाई प्रज्ञा प्रतिष्ठानका कुलपतिलगायतले बोलाउनुभयो । मैतीदेवीमा रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको घरलाई सवलीकरण गर्न सकिएला कि नसकिएला भन्ने उहाँहरूको चासो थियो । (त्यसबेला कविकुञ्जको पूर्जा पनि सरकारको हातमा आइसकेको थिएन होला ।) म उहाँहरूलाई सँगै लिएर कविकुञ्जमा गएँ । म घरको माथिल्लो तलासम्म नै चढेर हेरेँ ।

घर सबलीकरण गर्न सकिने अवस्थाको थियो । भक्तपुरमा मैले किनेर नमूना घर बनाएको घर र कुखुराको खोरभन्दा दोब्बर‚ तेब्बर बलियो अवस्थामा थियो‚ कवि कुञ्ज । म त्यो देख्नासाथ खुसी भएँ‚ अब प्रज्ञाले सक्रियता लियो भने यो अमूल्य निधिलाई जोगाएर राख्न सकिन्छ भनेर म पुलकित भएँ । म कविकुञ्जमा पुग्दै गर्दा मनमा अनेकौँ सपनाहरू देख्दै गएको थिएँ । म मैतिदेवीमा महाकवि देवकोटाको घरमा थिएँ तर‚ मन भने जर्मनीमा पुगेको थियो ।

म फ्राङ्फर्टमा रहेको गोइथेको घर, जाल्सबर्गमा रहेको मोजाको घर सम्झिरहेको थिएँ । त्यहाँ उहाँहरूको घरलाई जस्ताको तस्तै सबलीकरण गरेर राखिएको छ । मैले कविकुञ्ज हेरिसकेपछि गोइथे र मोजाको घरभन्दा राम्रो गरी यसको सबलीकरण गर्न सकिन्छ भन्ने निष्कर्षमा पुगेँ र सबै कुरा उहाँहरूलाई सुनाएँ । उहाँहरू कन्भिन्स हुनुभएको जस्तो मलाई लाग्यो । तैपनि मैले यसबारेमा थप प्रमाण आँखाअघि नै देखाउँछु भन्ने सोचेर उहाँहरूलाई भक्तपुर लिएर आएँ । मैले किनेको पुरानो घरको तस्बिर देखाएँ‚ जुन घर १८० वर्ष पुरानो हो ।

मैले किनेर त्यसलाई सबलीकरण गरेको छु । र गएको महाभूकम्पमा त्यो घर एक रौँ जति पनि चर्किएको छैन । त्योभन्दा बलियो अवस्थामा रहेको देवकोटाको घर बचाउन नसकिने कुरै थिएन । आधा दिनजति लगाएर नमूना घर घुमाएर सबै वृत्तान्त मैले सप्रमाण देखाएँ । यी सबै कुरा हेरेपछि उहाँहरू पूरापूर कन्भिन्स हुनुभयो भन्नेमा म ढुक्क भएँ । उहाँहरूसँगै एकजना आर्किटेक्ट पनि हुनुहुन्थ्यो । उहाँ पनि कन्भिन्स हुनुभएको थियो ।

महाकविको घर जोगाएर राख्न सकिने भयो भन्ने कुराले म धेरै नै खुसी भएँ । मलाई यसमा गर्व र आनन्द लाग्यो । किनभने प्रज्ञाले नै त्यो अग्रसरता लिएपछि र प्रज्ञाकै कुलपति उप्रेती सरसहित कन्भिन्स भएपछि अब यो काम हुँदैन भन्ने शंका गर्नुपर्ने कारणै थिएन ।

त्यो घर मैले किन्दाको तस्बिर देखाएँ । उहाँहरू कन्भिन्स हुनुभयो । त्यसपछि म कविकुञ्जलाई जोगाउन सकिने भयो भनेर खुसी भएँ । यो कुरा सानो कुरा पनि होइन । तपाईं सम्झनुस् त‚ देवकोटाले लेखेको ठाउँ‚ सुतेको ठाउँ‚ खाएको ठाउँमा हामी जान पाउनु, त्यहाँ बसेर फील गर्न पाउनु भनेको सानो कुरा हो ! यो त अद्वितीय अवसर हो नि हाम्रा लागि । तर अब त त्यो अवसर सकियो नि ! यो सानो खति हो र ?

उहाँहरूले किन यस्तो निर्णय गर्नुभयो‚ म चकित छु । कारण त अब मलाई के थाहा र ! तर‚ मलाई लाग्छ- मैले त एक डेढ करोडमै यो सबलीकरण गर्न सकिन्छ भनेको थिएँ । अहिले ७/८ करोडमा ठेक्का लगाएको कुराहरू आएको छ । यो सुन्दा त पैसाका लागि शिवजीका पनि तीन नेत्र भनेजस्तै भएको हो कि भन्ने शंका त जन्मायो नै ।

महाकविको घर पनि जसरी हुन्छ ‘एज इट इज’ राख्नुपर्ने थियो । हाम्रोमा स्रष्टाहरूका कति नै घरहरु छन् र ? भएका केही सीमित घरहरू पनि भत्किसकेका छन् । महाकविको घर जोगाउन सकिने कुरा गर्वको कुरा थियो ।

विश्वमै अभ्यास के छ भने कुनैपनि महान् व्यक्तिको घर भत्काइँदै भत्काइँदैन । जस्ताको त्यस्तै राखिन्छ । विश्वभरि के प्रचलन छ भन्ने कुरा प्राज्ञलाई थाहा हुँदैन र ? थाहा नभए खोजेर हेर्नुपर्‍यो नि ! प्राज्ञ भनेको विद्वान होइन र भन्या ? प्राज्ञलाई विश्वभरि के भइरहेको छ भन्ने थाहा हुनु पर्दैन ? उहाँहरूले खोजेर हेर्नुपर्दैन ? त्यति गर्न नसक्ने केको प्राज्ञ ?

प्रज्ञाले यस्तो गर्दैछ वा गर्न सक्छ भन्ने सुइँको मात्र पाएको भए हामी जसरी पनि त्यसलाई रोक्ने थियौँ । सिंहदरबारलाई भत्काउनबाट बचाएको जस्तैगरी रोक्न सकिन्थ्यो । हामी गएर सुत्थ्यौँ नि ! यो हुन दिने थिएनौँ । तर कुनै अनुमान, आभाष नै भएन । एकाएक घर भत्काइयो । प्रज्ञाले गुरिल्ला शैलीमा महाकविको घर भत्कायो । त्यत्रो घर दुई/तीन दिनमा भत्काउनु भनेको चान्चुने कुरा हो र ?

मलाई त कोभिडले ग्रस्त बनाएको बेला यस्तो कुरा कसरी आउला र भन्ने पनि भयो । फेरि उहाँहरू त मसँग कन्भिन्स भएर सबलीकरण गरेरै जोगाउने भनेर जानुभएको थियो । मैले उहाँहरूलाई विश्वास गरेको थिएँ । प्रज्ञाका कुलपतिलगायत प्राज्ञहरूले बोलेको कुरालाई विश्वास नगरेर पनि त भएन । तर उहाँहरुले भित्रभित्रै कैँची मारिसक्नुभएको रहेछ । मलाई के थाहा । यस्तो फटाइँ गर्नुहोला भन्नेबारे सोच्न पनि सोचिएन ।

यो अक्षम्य अपराध हो । यो क्षमा पाउने कुरा नै होइन ।

उहाँहरूले पुरानो भएको भनेको सुनेँ तर‚ यो सुनेर म चकित भएँ‚ किनभने म स्वयम् पुगेर माथिल्लो तल्लासम्मै गएर हेरेको छु । त्यो मैले किनेर बनाएको नमूना घरभन्दा दुई-तीन गुणा बलियो अवस्थामा थियो । अनि उहाँहरूका कुरा म पत्याउँछु र ? जे होस् उहाँहरूले यो अक्षम्य अपराध गर्नुभएको छ । यसले उहाँहरूको चिन्तन‚ सोचाइ र बौद्धिकतामाथि नै प्रश्न उठ्यो ।

तपाईँ नै भन्नुहोस्- प्राज्ञले सम्पदा चिन्दैनन् भने अरुबाट के आशा गर्ने ?

(सम्पदा तथा पुराना भवनहरूको संरक्षणमा जुटेका संरक्षणकर्मी  रवीन्द्र पुरीसँग मकालुखबरकर्मी लक्ष्मण कार्कीले गरेको कुराकानीमा आधारित)

प्रतिक्रिया

2 thoughts on “प्राज्ञले सम्पदा चिन्दैनन् भने अरुबाट के आशा गर्ने ?

  1. शीर्षक मिलेन । कि प्रज्ञाले चिन्दैन भने हुन्छ कि प्राज्ञले चिन्दैनन् भने हुन्छ ।

  2. निस्चय नै संरक्षण गर्नु पर्ने कविज्यूको ऐतिहासिक धरोहर उपर अत्यन्त दुःखद् कार्य !

Leave a Reply

Your email address will not be published. Required fields are marked *