प्रधानमन्त्री भएपछि कांग्रेस कार्यालय गएकै छैनन् देउवा

काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि आफ्नै पार्टीको केन्द्रीय कार्यालय पुगेका छैनन् ।

देउवाले कार्यालय जानुको सट्टा केन्द्रीय कार्यसमितिको बैठक आफ्नै निवासमा राख्ने गरेका छन् । बिहीबार पार्टी कार्यालयमा बोलाइएको बैठक पनि देउवा निवासमै सारिएको छ ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक साताअघि नै ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा बिहीबार दिउँसो २ बजे बस्नेगरी केन्द्रीय समितिको बैठक बोलाएका थिए । तर, देउवाले अन्तिम समयमा बैठक सारेर आफ्नै निवासमा बोलाएका हुन् ।

१४ औँ महाधिवेशनको संघारमा क्रियाशील सदस्यताको विवादका कारण केन्द्रीय कार्यालयमा नेता तथा कार्यकर्ताको धर्ना चलिरहेको छ । देउवाविरुद्ध पार्टी कार्यालयमा विरोध प्रदर्शनको तयारी भएको थाहा पाएपछि देउवाले बैठक बुढानिलकण्ठमै बस्ने निर्णय लिएको स्रोत भनाइ छ ।

क्रियाशील सदस्यताको विवादलाई लिएर कार्यकर्ताले धर्ना र अनशन थालेपछि देउवाले पार्टीका सबै काम निवासबाटै गरिरहेका छन् । उनी केन्द्रीय कार्यालय नपुगेकै महिनौँ भएको छ । देउवा असार ४ र ५ गतेको केन्द्रीय समितिको बैठकपछि केन्द्रीय कार्यालय गएका छैनन् ।

प्रधानमन्त्री भएलगत्तै पार्टीका भेला र बैठकहरू सरकारी निवासमा नगर्ने प्रतिबद्धता जनाएका देउवाले पदाधिकारी र पूर्वपदाधिकारीसम्म सहभागी हुने अधिकांश बैठक बुढानिलकण्ठमै बसाउँछन् । केन्द्रीय कार्यसमितिकै बैठक उनको निवासमा बस्न लागेको यो नै पहिलो पटक हो ।

‘म त सानेपा जाने तयारीमा थिएँ, तर अचानक उता बस्ने म्यासेज आयो । बुढानीलकण्ठमा यसरी बैठक बस्न लागेको त यो पहिलो पटक नै हो,’ एक केन्द्रीय सदस्यले भने । कांग्रेसको वर्तमान केन्द्रीय कार्यसमितिमा १२५ जना छन् । जबकी देउवा निवासमा त्यतिका मान्छे अटाएर बैठक गर्न सकस हुने निश्चित छ ।

सानेपास्थित केन्द्रीय कार्यालयमा सभापति, वरिष्ठ नेता रामचन्द्र पौडेल र पदाधिकारीका लागि छुट्टाछुट्टै कार्यकक्ष छन् ।

तर, त्यहाँ नेताहरू भने कमैमात्र भेटिन्छन् । नेताहरूले सबै भेटघाट र छलफल निवासबाटै गर्ने गरेका छन् । अब त केन्द्रीय समितिको औपचारिक बैठक नै निवासमा बस्न लागेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *