अछाम अस्पतालमा भवनसँगै चिकित्सकको अभाव
अछाम जिल्ला अस्पतालमा भवनसँगै आवश्यक स्वास्थ्यकर्मी अभाव हुँदा बिरामीको उपचारमा समस्या भएको छ । कोरोना महामारीका बिच सीमित स्रोत साधनका भरमा रहेको अस्पतालमा दरबन्दीअनुसारका चिकित्सक पनि नहुँदा सेवा प्रवाहमा समस्या भएको अस्पतालले जनाएको छ ।
कोरोना महामारीकै अवधिमा थुप्रै उपकरण र स्वास्थ्य सामग्री जुटाएको अस्पतालमा भवन र दरबन्दीअनुसारका मेडिकल अधिकृत, विशेषज्ञ तथा स्वास्थ्यकर्मी भने छैनन् ।
कोरोनाको तेस्रो लहरको खतरा बढिरहेको बेला आइसीयू र भेन्टीलेटर सञ्चालनका लागि आवश्यक मेडिकल अधिकृतको अभाव भएको अस्पतालले जनाएको छ । जिल्ला अस्पतालमा तीनजना डाक्टरसहित ५५ जना स्वास्थ्यकर्मीको दरबन्दी भएपनि हाल ९ जनामात्र स्वास्थ्यकर्मीले सेवा दिइरहेका छन् । यस्तै ल्याब टेक्निसियनसमेत नहुँदा उपचारमा थप समस्या भएको छ ।
अस्पतालमा उपकरण थपिँदै गएपनि दक्ष जनशक्तिको अभाव रहेको अस्पताल व्यवस्थापनमा समस्या भएको छ ।
कोरोना सङ्क्रमित, ज्वरो, दम, झाडापखाला, रुघाखोकीलगायतका बिरामी बढ्न थालेपछि आवश्यक उपकरण जडानमा कठिनाइ हुनुका साथै उपकरण थन्क्याउनु पर्दा गुणस्तरीय सेवा दिन कठिनाइ भएको अछाम अस्पतालका प्रमुख डा. सोनाली बाँस्कोटाले जानकारी दिइन् ।
करिब ४० वर्षअघि बनेको अछाम अस्पतालको भवन जीर्ण भइसकेको छ । १५ शय्याको अस्पताल हाल ५० शय्यामा रुपान्तरण गर्ने सरकारको लक्ष्य भएपनि काम त्यसअनुसार अघि बढ्न सकेको छैन । प्रदेश सरकारबाट प्राप्त भएका १० वटा आईसीयू शय्या र अन्य साधारण गरी ३५ वटा शय्या अस्पतालको कुनामा थन्क्याइएका छन् । तर बिरामीको चाप बढ्दा एउटा शय्यामा दुई तीन जनासम्म बिरामीको उपचार गर्नुपर्ने अवस्था छ ।
अस्पतालमा भवनको अभावका कारण बिरामीले राम्रो सेवा नपाएको र केहीबाहेक अन्य औषधी मेडिकलमा किन्नुपरेको स्थानीय सिद्धप्रसाद ढुङ्गानाले बताए ।
अछाम अस्पतालमा दैनिक एक सय ५० देखि एक सय ६० जनासम्म बिरामी आउने गरेको अस्पतालका प्रमुख डा. बाँस्कोटाले जानकारी दिइन् ।
सरकारले अछाम अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्ने भने पनि नयाँ भवन निर्माण गर्न कुनै पहलकदमी भने गरेको छैन ।