बोसो लागेका बेला केही दिन प्रतिपक्षमा बस्न गाह्रो हुन्छ : गगन (भिडिओ)

काठमाडौँ । नेपाली कांग्रेसका सांसद गगन थापाले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्रतिपक्षका प्रश्नहरूको जवाफ दिनुपर्ने बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै थापाले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सरकारप्रति उठाएका प्रश्न र लगाएका आरोपमा अनेकौँ कुण्ठा, अहंकार, क्रोध र ईर्ष्या रहेको भएपनि प्रतिपक्षले उठाएका प्रश्नको जवाफ सरकारले कामले दिनुपर्ने बताएका हुन् । ‘प्रतिपक्षले गर्ने प्रश्न निम्छरो हुँदैन’, थापाले भने‚ ‘सरकारले ती सबै प्रश्नको जवाफ कामबाट दिनुपर्छ ।’

प्रमुख प्रतिपक्षी दलका नेता ओलीले गत २६ गते संसदमा सरकारको नीति तथा कार्यक्रम लगायतबारे अनेकौँ प्रश्न उठाएको प्रति आफू चकित परेको भन्दै थापाले आफ्नो कार्यकालमा ओली नेतृत्वको सरकारले के गर्‍यो ? भन्ने प्रश्न गरे ।

‘हरेक दिन एउटा एउटा भ्रष्टाचारको काण्ड घटाउने, त्यस्ता काण्डमा संलग्नलाई जोगाउने, भ्रष्टाचारको अनुसन्धान गर्ने निकायलाई पङ्गु बनाउने, बनाउनुपर्ने कानून नबनाउने‚ नबनाउनुपर्ने कानून संसद छलीछली बनाउने अनि अहिले तिनै विषयमा संसदमा प्रश्न उठाउँदै गर्दा उहाँको मनमा मैले के गरेँ भन्ने लाग्यो कि लागेन होला ?’ थापाले भने ।

थापाले प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दलको नेताको भूमिका ओलीलाई सुकाएको भन्दै प्रधानमन्त्रीको भूमिका सुहाउँछ भनेर प्रधानमन्त्री बनाइएका देउवाले अब धमाधम काममा ध्यान दिएर आफू त्यो भूमिकाका लागि योग्य रहेको प्रमाणित गर्नुपर्ने बताए ।

‘बोसो लागेका बेला केही समय प्रतिपक्षमा बस्न गाह्रो हुन्छ’, थापाले भने‚ ‘तर केही छैन बिस्तारै बानी लाग्छ ।’ उनले विपक्षी दलका नेताका रुपमा ओलीलाई सुहाएको प्रतिक्रियाहरू आइरहेको भन्दै त्यहि भएर संसदले ओलीलाई विपक्षीको भूमिकामा राखेको र अब १८ महिना त्यहि भूमिका दिने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *