लुम्बिनीका मुख्यमन्त्री केसीद्वारा शपथ ग्रहण

काठमाडौँ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार प्रदेश प्रमुखको कार्यालयमा केसीले मुख्यमन्त्रीको शपथ लिएका हुन् ।

प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री केसीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) लुम्बिनी प्रदेशका संसदीय दलका नेता शंकर पोखरेलले बुधबार (हिजो) पदबाट राजीनामा दिएपछि केसीले आज ४२ जना प्रदेश सभा सदस्यहरुको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका थिए ।

गठबन्धनका मुख्य घटक कांग्रेस र माओवादीबीच आठ–आठ महिना सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।

प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको बहुमत पुर्‍याएर दाबी पेश गर्न २४ घण्टाको समय दिएका थिए । गठबन्धनमा नेपाली कांगेसका १९, माओवादी केन्द्रका १८, जसपाका ३, जनमोर्चाका १ र १ स्वतन्त्र जना गरी ४२ जना सांसद छन् ।

को हुन् के सी ?
केसी तत्कालीन माओवादी केन्द्रले सशस्त्र विद्रोह संचालनार्थ गठन गरेको जनमुक्ति सेनाका डिभिजन कमिसार थिए । एमाले–माओवादीको एकताबाट बनेको नेकपामा उनी केन्द्रीय सदस्य र संसदीय दलको उपनेता थिए ।

नेकपा (मसाल)को विद्यार्थी संगठनबाट राजनीति थालेका रोल्पा लिवाङका केसी ०५९ सालमा माओवादीबाट फुटेको मोहन वैद्यको पार्टीमा लागेका थिए । ०७३ मा प्रचण्ड नेतृत्वको माओवादीमा फर्किएर प्रत्यक्षतर्फ रोल्पा १ बाट निर्वाचित भएका उनी शंकर पोखरेल नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानूनमन्त्री थिए ।

नेकपा विभाजनपछि गण्डकी प्रदेशमा नेपाली कांग्रेस र लुम्बिनीमा नेकपा (माओवादी केन्द्र)ले मुख्यमन्त्री पाउने सहमति भएअनुसार ५१ वर्षीय केसीलाई लुम्बिनीका चार दलले मुख्यमन्त्री प्रस्ताव गरेका थिए ।

प्रवीणता प्रमाणपत्र तहसम्म अध्ययन गरेर ०४८ देखि ०५० सम्म शिक्षण पेशामा आवद्ध उनी ०५० देखि ०५२ सम्म नेकपा (एकता केन्द्र) को रोल्पा इलाका सेक्रेटरी थिए । ०५५ सालमा माओवादीमा लागेका उनी एक वर्ष दाङ, सल्यान र प्युठानको संयुक्त सेक्रेटरी रहेका थिए ।

०५६ मा पार्टीको भेरी–कर्णाली क्षेत्रीय ब्यूरो सदस्यमा बढुवा भएका उनी ०५७ मा जनमुक्ति सेनाको कम्पनी कमिसार र पार्टीको केन्द्रीय सदस्य बने । ०५९ सालदेखि पोलिटब्यूरो सदस्य र बागमती–नारायणी ब्यूरो इन्चार्जको भूमिकामा रहेका केसी ०६० मा भारतको पटनाबाट गिरफ्तार भए र ०६३ मा रिहा भएका थिए ।

२०६३ देखि ६८ सालसम्मको अवधिमा ‘जनमुक्ति सेना’को तेस्रो डिभिजन कमिसारका साथै विभिन्न ब्यूरो इन्चार्ज रहेका उनी त्यसपछि पार्टीको युवा दस्ता योङ कम्युनिष्ट लिग (वाईसीएल) इन्चार्ज बनेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *