कांग्रेसमा चर्कियो क्रियाशील विवाद, पौडेल समूहले विवाद झिकेको आरोप

काठमाडौँ । कांग्रेसमा क्रियाशील सदस्यताको विवाद थप चर्किएको छ । बिहीबार बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको बैठकमा बोल्ने नेताहरूबीच सदस्यता छानबिनको विषयलाई लिएर आरोप-प्रत्यारोप भएको हो ।

केन्द्रीय सदस्यहरूले सदस्यताका विषयमा नेताहरूले विवाद झिकेर तनाव सिर्जना गरेको आरोप लगाएका छन् । केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले वरिष्ठ नेता रामचन्द्र पौडेलले क्रियाशील सदस्यताका विषयमा विवाद सिर्जना गर्ने, तर दोष अर्कैलाई थोपर्ने गरेको भन्दै आरोप लगाए ।

अर्का केन्द्रीय सदस्य हृदयराम थानीले पार्टीमा संस्थापन पक्षले फर्जी क्रियाशील सदस्यता थप गरेको भन्दै समाधानका लागि आग्रह गरे । ‘रामचन्द्र दाइ, हाम्रो जिल्लाको समस्या समाधान गरिदिनुपर्‍यो । क्रियाशीलको समस्या समाधान नभई महाविधेशन हुने अवस्था छैन,’ थानीले भनेका थिए ।

उनीपछि बोलेका नेता बस्नेतले वरिष्ठ नेता पौडेलमाथि आक्रोश व्यक्त गरे । उनले पौडेलबाट कुनै अपेक्षा नराख्न आग्रहसमेत गरे । ‘गोविन्दराज जोशीलाई तह लगाउनका लागि पुष्कर ओझालाई उहाँले शहीद बनाउनुभयो । थानीजी उहाँबाट के आश गर्नुहुन्छ ?,’ बस्नेतको भनाइलाई उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘नेताहरू आफूअनुकूल भए मिलेमतो गर्ने‚ नत्र कार्यकर्ताको भावना, विधि र विधानको कुनै मतलब छैन ।’

बस्नेतको गृहजिल्ला सिन्धुपाल्चोकको नयाँ क्रियाशील सदस्यता र समायोजन भई आएका नेता कार्यकर्ताको विषयमा चर्को विवाद छ । त्यही विषयमा बस्नेतले पौडेलमाथि आक्रोश पोखेका हुन् । उनले अहिले अन्य पार्टीबाट प्रवेश गर्नेहरूलाई क्रियाशील सदस्यता दिन आनाकानी गरे अन्य पार्टीबाट कांग्रेसमा प्रवेश गर्नेहरूमा उत्साह हराउने बताए ।

‘अन्य पार्टीबाट प्रवेश गर्नेहरूलाई सहजै सदस्यता दिनुपर्नेमा यहाँ रोक्ने काम भइरहेको छ । यसरी अन्याय गर्ने हो भने भोलि पार्टीमा अरू को मान्छे आउँछ ? नेता कार्यकर्ता अन्य पार्टीबाट कांग्रेसप्रति कसरी आकर्षित हुन्छन् ?,’ बस्नेतले प्रश्न गर्दै अघि भने, ‘त्यसैले यसमा विधि विधानअनुसार नै सदस्यता दिएर अन्य पार्टीबाट आएका साथीहरूलाई सहज बनाइदिनुपर्छ ।’

नेता बस्नेतले सिन्धुपाल्चोकलाई पार्टीका नेताहरूले फरक ढंगले हेरेको भन्दै गुनासो गरे । अर्का केन्द्रीय सदस्य कर्णबहादुर बुढाले पनि अन्य राजनीतिक दलबाट प्रवेश गर्नेहरूलाई क्रियाशील सदस्यता दिन इन्कार गर्नु गलत हुने बताए ।

बुढा दुई वर्षअघि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कांग्रेस प्रवेश गरेका नेता हुन् । ‘हामीले पाउने सदस्यता अहिलेसम्म टुङ्गो भएको छैन । पार्टीको केन्द्रीय समितिले अनुमोदन गरेको क्रियाशील सदस्य के कारणले रोकियो ? त्यसको जवाफ चाहियो ? हामीले सदस्यता नपाउने कारण के हो ? हामी पार्टीको विधि विधानविपरीत हामीले कहाँ गल्ती गर्‍यौँ ?,’ बुढाले प्रश्न गरेका थिए ।

‘महाधिवेशन समयमै हुनुपर्ने हो । तर, अब सम्भव देखिँदैन । त्यसैले परिस्थितिअनुकूल छिटो गरौँ भन्ने धेरै साथीहरूको प्रस्ताव देखियो,’ केन्द्रीय सदस्य बुढाले भने, ‘सबैभन्दा ठूलो कुरा ज्यान नै हो । ज्यान जोगाएर परिस्थितिअनुकूल हुने गरी छिटोभन्दा छिटो महाधिवेशन गर्ने वातावरण सुनिश्चित गरौँ भन्ने कुरा धेरै जनाबाट आएको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *