प्रधानमन्त्री सरकारभन्दा बढी पार्टीको काममा सक्रिय : कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले प्रधानमन्त्री सरकारको भन्दा पार्टीको काममा बढी सक्रिय भएको आरोप लगाएका छन् ।

शुक्रबार कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय सदस्य कोइरालाले सरकारलाई बधाई तथा शुभकामना दिँदै नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले शत प्रतिशत समय नै सरकारको काम खर्चिनुपर्नेमा ७५ प्रतिशत पार्टीको काममा खर्चिएको बताएका हुन् ।

‘प्रधानमन्त्रीजी ले १००% समय सरकार सञ्चालनमा ध्यान दिनुपर्नेमा ७५% समय पार्टीको काममा खर्च भएको छ । यसरी सरकार सञ्चालन कसरी प्रभावकारी हुन सक्छ ?’ उनले बताए ।

दुई महिनादेखि १५ मन्त्रालय नेतृत्वविहीन रहेको भन्दै नेता कोइरालाले यसले जनहितमा काम गर्न सक्छ र शुसासन दिन सक्छ भन्ने सन्देश नदिने बताएका छन् ।

संख्याका हिसाबले अल्पमतमा रहेपनि कांग्रेसले सरकारको नेतृत्व गरिरहेको र गठबन्धनको सरकार भएकाले सरकारसामु धेरै चुनौती रहेको नेता कोइलाले औँल्याएका छन् ।

डा. कोइरालाले बैठकमा राखेको मन्तव्यको सम्पादित अंश:

१. सरकारलाई बधाई ! शुभकामना-सफलताको कामना ।

२. प्रधानमन्त्रीजी ले १००% समय सरकार सञ्चालनमा ध्यान दिनुपर्नेमा ७५% समय पार्टीको काममा खर्च भएको छ । यसरी सरकार सञ्चालन कसरी प्रभावकारी हुन सक्छ ?

३. २ महिनादेखि १५ मन्त्रालय नेतृत्वविहीन छन् । यसले कसरी जनहितमा काम गर्न सक्छ र सुशासन दिन सक्छ ?

४. संख्याका हिसाबले नेपाली कांग्रेस अल्पमतमा छ तर‚ पनि कांग्रेस यतिबेला सरकारको नेतृत्व गर्दैछ । गठबन्धनको सरकार छ । अहिले सरकारका सामु धेरै चुनैती छ ।

५. यतिबेला अन्तर्राष्ट्रिय परिस्थिति कांग्रेस पार्टीको प्रतिकूल छ । हाम्रा छिमेकी राष्ट्र र मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई सन्तुलनमा राख्नुपर्नेछ । त्यसकारण पार्टीको सम्पूर्ण शक्ति सरकारलाई सफल बनाउन केन्द्रित हुनुपर्ने देखिन्छ ।

६. आज दु:ख लागेको छ । सानेपाको कार्यलय छाडेर केन्द्रीय समिति बैठक यहाँ गर्दैछौँ । पार्टी कार्यलयमा धर्नामा बसेका हाम्रै साथीहरू हुन् । उनीहरूको माग हामीले सुन्नैपर्छ । १३औँ महाधिवेशनमा पनि केन्द्रीय सदस्य साथीहरू नै पार्टी कार्यलयमा धर्नामा बस्नुभएको थियो तर पार्टी अफिसमै बैठक बस्यो र साथीहरूको माग सुनुवाइ भयो । मेरो विनम्र आग्रह छ कि हरेक केन्द्रीय समिति बैठक पार्टी अफिसमै राखौँ ।

५. अधिवेशन : संविधान र कानून हामीले नै बनाएका हौँ । यहाँ हुनुभएका धेरै साथीहरू संविधानसभामा हुनुहुन्थ्यो । त्यसमा उल्लेख भएका र लेखिएका कुराहरुलाई कांग्रेस जस्तो लोकतान्त्रिंक पार्टीले बिर्सन मिल्दैन । कांग्रेस पार्टी लोकतन्त्रको पाठशाला पनि हो। पदाधिकारी र पुर्व पदाधिकारीले महाधिवेशनको टुङ्गो लगाउँनुहोला भनेर केन्द्रीय सदस्यहरु कुरेर बस्यौं तर उहाँहरुमा ईच्छाशक्ति देखिएन ।

६. क्रियाशील सदस्यता : तल्लो तहबाट, विधान र प्रक्रियागत ढङ्गले आएका छानबिन समितिले मापदण्ड बनाई निर्णय गरिएका बाहेक केन्द्रबाट बिधि बिपरित थपिएका क्रियाशिल सदस्यता र पार्टी समायोजन नाममा प्रकृया नपुर्‍याई वितरण गरिएका सदस्यताले जटिलता उत्पन्न गरेको हो । नेतृत्व र क्रियाशील छानबिन समितिले क्रियाशिलमा धेरै समस्या छैन भनेर भनिसकेकाले यसमा अल्झिन आवश्यक छैन । जुन-जुन स्थानमा समस्या छ त्यहाँ १३ औँ महाअधिवेशनका क्रियाशिललाई आधार मानेर अधिवेशनमा जाऔँ ।

७. निर्देशिका : गत निर्वाचनमा विद्रोही उमेदवार, प्रस्तावक र समर्थकको नाम क्रियाशील नवीकरणमा समावेश भएको हुन सक्छ त्यसलाई हटाँउने व्यवस्था निर्देशिकामा गरिनुपर्छ भनेर क्रियाशिल सदस्य छानबिन समितिका संयोजक रमेश लेखकज्यूले राखिसक्नु भएको छ । कतिपय स्थानमा पार्टीका आधिकारिक उमेदवारको नवीकरण छुटेको छ । नवीकरण छुटेकाको हकमा १३औँ महाधिवेशनको कार्ड लिएर आएमा महाधिवेशन प्रक्रियामा सहभागी हुन दिने व्यवस्था निर्देशिकामा राख्नुपर्छ ।

८. अहिले केही पदाधिकारी एवं जिम्मेवार नेताहरूबाट विशेष महाधिवेशन अथवा यहि कार्यसमितिलाई डेढ/दुई वर्ष समय थप्ने कुरा सुनिँदैछ । कोही केन्द्रीय सदस्यले यस्तो कुरा गरेका छैनन् । पार्टीको विधान र संविधानले दिएको समय गुज्रिसकेकाले नियमित अधिवेशनमा जानुको विकल्प छैन ।

विशेष महाधिवेशन र म्याद थप्ने कुरा कदापि मान्य हुँदैन । क्रियाशील सदस्यताको समस्या समाधान नभई महाधिवेशन हुनै सक्दैन । पटक- पटक हामीले कार्यतालिका बनायौँ तर‚ क्रियाशीलको विवादले कार्यतालिका प्रभावित भयो, यो पटक त्यस्तो नहोस् । छिटोभन्दा छिटो क्रियाशील सदस्यताको समस्या टुङ्ग्याएर डेढ/दुई महिनाभित्र महाधिवेशन सम्पन्न गरिनुपर्छ ।

९. नेपाली कांग्रेसको अधिवेशन हाम्रो नेतृत्व चयनको मात्र विषय होइन । यो मुलुकको भविष्य कता कसरी जान्छ भनी निर्धारण गर्ने यो महाधिवेशन हो । यसमा देशवासीको चासो र चिन्ता त छ नै, अन्तराष्ट्रिय समुदायको पनि हामीप्रति दृष्टि छ । तसर्थ कांग्रेसको १४औ महाधिवेशनको संघारमा हामीले एकतावद्ध भएर हामीप्रति भरोसा र विश्वास गर्नेको मन जित्न सके नेपालमा लोकतन्त्रको भविष्य सुन्दर हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *