कोभिडले थलिएको पर्वतारोहण क्षेत्र : पर्यटक आउने आशमा पुनर्ताजगी
पोखरा । लकडाउनका कारण पर्यटकीय गतिविधि ठप्प छ । पर्वतारोहण झनै थलिएको क्षेत्र हो । नेपालको पर्यटन पर्वतरोहण र पदयात्रासँग जोडिन्छ । तर पर्वतारोहणका गतिविधि रोकिएपछि आरोहीहरुलाई पुनर्ताजगी तालिम दिइएको छ । लकडाउन र अन्तर्राष्ट्रिय उडान बिस्तारै खुल्दै गएकाले पर्वतारोहीहरू आउने आशमा उनीहरूलाई तालिम दिइएको हो ।
नेपाल पर्वतारोहण संघ (एनएमए) गण्डकी प्रदेशले दुई दिनसम्म पोखराको खहरेस्थित विस स्पोर्ट्स इन्डोर हबमा बोल्डरिङ तथा वाल क्लाइम्बिङ तालिम दिइएको हो । बिहीबार र शुक्रबार भएको तालिममा गत माघमा मुस्ताङको धम्पुस पिक (६,०१२ मी) आरोहण गरेका र तनहुँको विमलनगरमा रक क्लाइम्बिङमा भाग लिएका १५ जना सहभागी थिए ।
सहभागीलाई अन्तर्राष्ट्रिय मान्यताप्राप्त माउन्टेन गाइड प्रशिक्षक प्रेम गुरुङ र सहायक प्रशिक्षक राम गुरुङले अप्ठ्यारा पहाड, खोँच र हिमालमा अपनाउनुपर्ने सुरक्षा सतर्कताका बारेमा तालीम दिएका थिए ।
तालिम स्थलमा रहेको कृत्रिम पर्खालमा डोरीबिना चढ्ने, डोरीको सहायताबाट झर्ने, आरोहणका क्रममा अप्ठ्यारोमा फसेकाको उद्धार गर्नेलगायत विधि सिकाइएको हो । नेपाल आउने पर्यटकलाई सुरक्षित महसुस गराउन यस्ता तालिम फलदायी हुने पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले बताए । एनएमए गण्डकी प्रदेशका अध्यक्ष शेषकान्त शर्माले व्यवहारिक सीपमा दक्ष बनाउन तालिम आयोजना गरिएको जानकारी दिए ।
आवश्यक पर्ने जनशक्ति उत्पादन गरेर पोखराले नै आम्दानी गर्न सक्ने उनको भनाई छ । गण्डकीमा भएका हिमालको प्याकेज काठमाडौँले बेच्छ । पोखरा र आसपासका जनशक्तिले आम्दानी गर्न पाएका छैनन्,’ उनले भने, ‘पर्वतारोहीले सुरक्षाको महसुस गर्न सक्ने अवस्था भयो भने यहिँका व्यवसायी, गाईड र मजदुरले लाभ पाउँछन् ।’ संस्थाका सचिव सुदीप गौतमले पर्वतारोहण सबैजसो सिजन र महामारीमा समेत सम्भव हुने भएकाले पर्वतीय पर्यटनमा जोड दिन सरकारसँग आग्रह गरे ।