कांग्रेस महाधिवेशनबारे नेताका अनेकथरी प्रस्ताव, महाधिवेशन कि ज्यान ठूलो ?

काठमाडौँ । १४औँ महाधिवेशनबारे छलफल गर्न बोलाइएको कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक जारी छ । शुक्रबार दोस्रो दिन पनि महाधिवेशनको कार्यतालिकाका विषयले भने प्रवेश पाएन ।

तर, नेताहरूले भने त्यसबारे अनेकथरी धारणा र प्रस्ताव राखेका छन् । बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बिहीबारदेखि शुरु बैठक शुक्रबार आठ घण्टासम्म चल्यो । बैठकमा चार जना आमन्त्रित केन्द्रीय सदस्यसहित २७ जना केन्द्रीय सदस्यहरूले धारणा राखे । तर, बैठकले महाधिवेशनबारे कुनै निर्णय गर्न सकेन । बरू नेताहरूले अनेकथरी धारणा राखेर महाधिवेशनको विषयलाई गिजोलेका छन् ।

बैठकमा नेताहरूले भदौमै महाधिवेशन गरौँ भन्ने जोडमात्रै गरेनन्, कसैले त अहिले महाधिवेशन नै नगरौँ भन्ने प्रस्तावसमेत गरे ।

बैठकबाट बाहिरिने क्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले ‘बैठकमा महाधिवेशन नै नगरौँ’ भन्ने प्रस्तावसमेत आएको जानकारी दिए । तर, उनले त्यसबारे थप बोल्न भने अस्वीकार गरे । ‘कसैले भदौमै गरौँ भनिरहेका छन्, कसैले असोजमा भन्छन्, कसैले मंसिरमा भन्छन्, कतिपय साथीहरूको कुरा पहिले मान्छेको ज्यान जोगाउनुपर्ने भन्नेछ,’ बैठकपछि एक केन्द्रीय सदस्यले भने, ‘हुन पनि हो । अब यस्तो महामारीको बेला छ, पार्टीको वैधानिकता र महाधिवेशनको कुरा एउटा हो, तर महाधिवेशन कि ज्यान ठूलो ? भन्ने प्रश्न गम्भीर हो । यो विषय गम्भीररुपमा उठेको छ ।’

केन्द्रीय सदस्य श्यामकुमार घिमिरेले तत्काल महाधिवेशन हुने सम्भावना टरेको बताए । ‘सभापतिज्यू अहिले पनि के गरौँ ? तत्कालै गर्न पनि तयार छु भनिरहनुभएको छ । तर, जसले जे भनेपनि तत्काल महाधिवेशन हुने सम्भवना देखिँदैन । प्राविधिक हिसाबले पनि यो असम्भव छ,’ उनले भने, ‘दशैँअघि महाधिवेशन हुने सम्भावजना टर्‍यो ।’

शुक्रबार केन्द्रीय समिति बैठकमा प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा.रामशरण महत, बलबहादुर केसी, महेश आचार्य, फरमुल्लाह मन्सुर, उमाकान्त चौधरी, अर्जुनप्रसाद जोशी, डा.शेखर कोइराला, जीवनबहादुर शाही, कमला पन्त, अजयकुमार चौरसिया, धनराज गुरुङ, रत्न शेरचन, मीनबहादुर विश्वकर्मा, बद्री पाण्डे, श्यामकुमार घिमिरे, रामकृष्ण यादव, बहादुरसिंह लामा, जंगीलाल राय, रामजनम चौधरी, हेमराज तातेड र आमन्त्रित सदस्यहरु हसन अन्सारी, किरणराज शर्मा पौडेल, कृष्णकिशोर घिमिरे र जनकराज कलौनीले बोलेका थिए ।

अर्को बैठक शनिबार दिउँसो २ बजेबाट पुनः बुढानिलकण्ठमै बस्नेगरी स्थगित भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *