व्यङ्ग्य

कान डक्टर

त्यसबेला कानमा के भाथ्यो कुन्नि, अरुले यौटा बोल्दा रहेछन्‚ म अर्कै सुन्दो रहेछु । सुल्टो भन्दा उल्टो सुन्दो रहेछ कानले । कसैले ‘बाढी आयो’ भन्दा मैले ‘साडी आयो’ सुन्दो रहेछु ।

‘हाँडी’ भन्दा ‘राडी’ सुन्दो रहेछु । एक दिन साथीले ‘हिसाब गरौँ’ भनेको रहेछ‚ मैले ‘पिसाब गरौं’ भनेको सुनेँ । धन्नै कक्षा कोठामा सुइँक्याइदिइनँ । रातिको बेला थियो एउटा साथीले सुतौँ भन्दै रहेछ, मैले उठौँ भनेको पो सुनेछु । गाउँमा एक जनासँग झगडा परेर घर के आको थिएँ‚ छोराले सोधेको ‘भात खानु भो ?’, तर मैले सुनेँ ‘लात खानुभो ?’ म झसङ्ग भएँ ।

सुल्टो भन्दा उल्टो सुन्दो रहेछ कानले । कसैले ‘बाढी आयो’ भन्दा मैले ‘साडी आयो’ सुन्दो रहेछु ।

हर्के खड्काले गालामा पड्काएको झापडको डाम छाम्दै र काम्दै छोरालाई भनेँ‚ ‘लात त खाइनँ बाबु, उसले झापड हानेको हो । बुढीले भनिन् तपाईँको काम बिग्रिएछ, मैले अन्त्यमा सुनेँ तपाईँको कान बिग्रिएछ ।’

घराँ बाउ छोरामात्र थियौँ‚ त्यस दिन । छोरालाई पखाला लागेछ । तारन्तार दिशाको गोदाम घरमा ऊ कुदिरहेको थियो । उसले मलाई सोधेछ- बा, पखालाको औषधी खाम् ? तर मैले सुनेछु छालाको औषधि लाम् ? मैले भनेँ- के भन्छ यो ? पखाला लागेको बेलामा कहाँ छालाको औषधी लाउने ? खुरुक्क जीवनजल बनाएर खा । उसले के-के भन्यो कुन्नि, मेरो कानले शुद्ध सुन्ने भए पो । उसले रिसाउँदै कापीमा लेखेर देखायो- बा, मैले भनेको तपाईँले सुन्दै सुन्नुभएन, चिच्याएर कराउँदा मलाई शौचालय जानै नपर्ने गरी लगाएको पाइन्टसमेत बिग्रियो ।

अब त अत्ति भयो । कानको समस्याले मलाई हत्तु हैरान बनाउन थाल्यो । यसरी त भएन बा‚ भनेर निधो गरेँ- कान जँचाउन जानुपर्‍यो ।

राजधानी शहरमा कान जचाउन जान थालेँ । गाडीमा कन्डक्टरले ‘झर्नुस्’ भन्दो रहेछ‚ म ‘मर्नुस्’ भन्ने सुनेर तँ मलाई मर्ने आदेश दिने को होस् हँ ? भनेर उहीसँग झगडा गर्दोरहेछु । जब काठमाडौँ पुगेँ‚ नाम चलेको डाक्टरसँगै जचाउनुपर्‍यो भन्ने सोचेँ । लालुप्रसाद नामका नाम चलेका डाक्टरले मेरो कान जाँच्ने भए । उनले मेरो कानको खराबी जाँच्न दिसा, पिसाब, रगत, खकार, सिँगान सबैको नमूना लिए । अझ भन्दै थिए‚ अझ अर्को पटकसम्म कान नखुलेमा मासु नै निकालेर विदेश पठाउनु पर्छ रे । नाम चलेका डाक्टरले जाँच गर्दा राम्रै गर्लान् भनेर डाक्टरको ईशारामै चलेँ । डाक्टरले जाँच गरेको एक महिनापछि फेरि आउन भने । म घर फर्किएँ ।

म त माइक लगाएर बोलेको बाहेक केही नसुन्ने अवस्थामा पो पुगेँ । त्यसैले आजकल म एउटा राजनीतिक कार्यकर्तामात्र होइन‚ नेता नै भएको छु‚ किनभने हामीजस्ता नेताले अर्काले बोलेको कुरा सुन्नै पर्दैन । बरु ठूला-ठूला कुरामात्र गरे पुग्छ ।

घर फर्किएर कानमा औषधी राख्न थालेँ । तर कानको पार्टपूर्जाको ऊर्जा हराउन थाल्यो । झन् अवस्था नाजुक बन्दै गयो । कोही मान्छेले बोलेको सहजै नसुन्ने भएँ । म त माइक लगाएर बोलेको बाहेक केही नसुन्ने अवस्थामा पो पुगेँ । त्यसैले आजकल म एउटा राजनीतिक कार्यकर्तामात्र होइन‚ नेता नै भएको छु‚ किनभने हामीजस्ता नेताले अर्काले बोलेको कुरा सुन्नै पर्दैन । बरु ठूला-ठूला कुरामात्र गरे पुग्छ ।

त्यसपछि मेरो दैनिकी नै पत्रपत्रिका पढ्नु बन्यो । एक दिन पत्रिका पढ्दै थिएँ, यौटा समाचारले कानमा निकै समस्या पुर्‍यायो । त्यहाँ लेखिएको थियो- केही वर्षअघिका कन्डक्टर आजकल कान डाक्टर । समाचारको गुदी कुरो हेर्दै जाँदा त थाहा लाग्यो‚ उनै लालुप्रसाद, बिहारी सर्टिफिकेट लिएर आएर ‘कान डाक्टर’ बनेका रहेछन्, ‘कान डाक्टर’ बन्नुभन्दा अघि जागिर नपाएर उनी गाडीको ‘कन्डक्टर’ बनेका रहेछन् । यो थाहा पाएपछि मैले निकैबेर कान सुम्सुम्याई रहेँ ।

जदौ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *