प्रेम मापक ‘मेहन्दीको रङ्ग’

काठमाडौं । कृषिप्रधान देश नेपाल, यहाँका अधिकांश समुदायका सदस्यहरुको प्रमुख पेशा कृषि हो । त्यसो त स्वाभाविक रुपमा उनीहरु  धेरैजसो समय खेतबारीमा बिताउँछन् । झनै असार, साउन महिनालाई ‘मुठी खाइ मुरी उब्जाउने’ समयको रुपमा अर्थ्याइन्छ ।

000

उनीहरुले कहिले हिलाम्य खेतमा, कहिले जब्बर बाँझोमा त कहिले टन्टलापुर घाममा काम गर्छन् । त्यसकारण उनीहरुका हातखुट्टामा मौसमी समस्या आउँछ । कसैको हातमा फोका उठछन् त कसैको खुट्टा हिलोले गहिर्‍याउँछ । यसलाई गाउँले भाषमा ‘हिलो लागेको’ भनेर भनिन्छ ।
खेतको काम सकिएलगत्तै असारको अन्तिम दिन ‘लुतो फ्याँक्नेसँगै तिउरीको पात हातमा लगाउने’ गरिन्थ्यो । यसको आफ्नै पौरस्त्य मान्यता हुन्थ्यो । पछिल्लो समय यसको मान्यतामा ह्रास आएकोप्रति हामी सबै जगजाहेर छौँ ।

असार महिनामा हिलो लागेको हातखुट्टामा तिउरी, फिट्किरी, ध्वाँसो, चुक राखेर सिलौटोमा पिसेर पेस्ट बनाइन्थ्यो । तत्पश्चात् उक्त पेस्टलाई हातरी लेपन गरिन्थ्यो र मुठ्ठी बनाएर फर्सीको पातले ढाक्ने गरिन्छ । ढाकेको पातलाई अड्याउन मकैको खोस्टालाई धागोझैँ बनाएर बाँध्ने गरिन्थ्यो । उक्त लेपले हिलोमा काम गरेको हातमा औषधिको काम गर्छ/गर्थ्यो । साथै नङमा बसेको तिउरीको रङ्गलाई नकाटी माघे सङ्क्रान्तिसम्म राखेर खोलानालामा पुगेर काटेर फ्याँक्ने गरिन्थ्यो ।

000

तर, जमानाले कोल्टो फेर्दै आउँदा यस्ता परम्परागत मान्यतामा पाश्चात्य शैली झल्किँदै आएको छ । तिउरीको स्थान सोलीमा आएका विभिन्न ब्रान्डका मेहन्दीले लिएका छन् । योसँगै श्रीमान्काे प्रेम यही केमिकल प्रयोग गरिएका मेहन्दीको रङ्गको गाढा र फिक्कापनसँग दाँज्न थालिएको छ । अहिले त यतिसम्म भइसकियो की– माया गर्ने, बुझकी र सहयोगी श्रीमान्सँग महिलाहरू मेहन्दीको रङ्ग फिक्का बसेकै आधारमा समेत झगडा गर्न थालेका छन् ।

000

यही यथार्थतालाई निर्देशक लक्ष्मण सुवेदीले आफ्नो लघु चलचित्र ‘मेहन्दीको रङ्ग’ मार्फत देखाएका छन् । बाहिर अन्य युवतीसँग रमाउने तर, घरकी श्रीमतीसँग ठिक्क पार्न जान्नेको श्रीमतीको भ्रम र पत्नीव्रता श्रीमान्प्रति श्रीमतीले मेहेन्दीको रङ्ग हेरेर गरेको नराम्रो व्यवहारलाई चलचित्रमा देखाइएको छ । समग्रमा चलचित्रले पछिल्लो नेपाली समाजको यथार्थताबारे बोलेको छ । चलचित्रमा भोलाराज सापकोटा, सरस्वती खत्री, मनीषा सापकोटा र नीर न्यौपानेले अभिनय गरेका छन् भने लेखन तथा निर्देशन स्वयम् सुवेदीले गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *