दिनेश पाख्रिनले चलचित्र ‘डन २’ बनाउँदै
काठमाडौँ । दिनेश पाख्रिनको २०६३ सालमा प्रदर्शनमा आएको चलचित्र ‘मिस्टर डन’ को सिक्वेल ‘डन २’ निर्माण हुने भएको छ । दिनेश पाख्रिनकै कथा रहने चलचित्रका कलाकारहरू फाइनल भईसकेको तर सम्झौता हुन बाँकी रहेको पाख्रिनले बताए । गोपालकाजी कायस्थले वितरणको जिम्मा लिएको चलचित्र दशैंपछि छायाङ्कनमा जाने छ ।
दिनेश थापा प्रस्तुतकर्ता रहेको चलचित्रको निर्माता निर्मल लामा,विक्रम तामाङ र हेलेन पाख्रिन रहेका छन् । एक्सन जनरामा निर्माण हुने चलचित्रको सम्पूर्ण टिम र कलाकारको बारेमा छिट्टै जानकारी गराउने निर्माता निर्मलले बताए । पाख्रिनको निर्देशनमा बन्न लागेको चलचित्रमा समावेश हुने गीतमा राजेश पायल राईले आवाज दिएका छन् ।
विकास चौधरीको सङ्गीतमा बनेको गीत पुतलीसडक अवस्थित मिरा साउन्ड रेकर्डिङ स्टुडियोमा राईले स्वर भरेका हुन् । ‘बग्यो त्रिशूली’ बोलको रोमान्टिक गीतमा शब्द हरि उप्रेतीको रहेको छ ।