धानबाली विज्ञ भोलामानसिंह बस्नेतको निधन
काठमाडौँ । धानबाली विज्ञ भोलामानसिंह बस्नेतको निधन भएको छ । कोभिड संक्रमण भएपछि उपचार गराइरहेका बस्नेतको ओम अस्पताल चाबहिलमा निधन भएको उनका नातेदार मधु बीसीले जानकारी दिए । उनको आजै दिउँसो १ बजे पशुपतिको विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिएको पनि उनले जानकारी दिए ।
७१ वर्षका बस्नेतलाई २१ दिनपछि अस्पताल भर्ना गरिएको थियो । लगातार आइसीयुमा राखेर उपचार गराउँदा पनि उनको स्वास्थ्य अवस्था सुधार नभएको बीसीले बताए । स्वर्गीय बस्नेतका श्रीमती र २ छोरी छन् ।
भारतबाट कृषि विषयमा बीएस्सी गरेका बस्नेतले फिलिपिन्सबाट धान बालीमा स्नातकोत्तर तहको अध्ययन पूरा गरेका थिए । बस्नेतले लामो समय नेपाल कृषि अनुसन्धान परिषद् नार्कमा धान वैज्ञानिकका रुपमा काम गरेका थिए ।
कृषि संचार र प्रसारका पहिलो कार्यक्रम निर्देशकसमेत रहेका बस्नेत उनी झण्डै १ दशक रेडियो नेपालको कृषि कार्यक्रम, कृषि टेलिभिजन र कृषि संचार र प्रसारमा समेत काम गरेका थिए ।