राजाबिनै लोमान्थाङमा यार्तुङ

पोखरा । ‘यार’ भनेको बर्खा र ‘तुङ’ भनेको रमाईलो । बर्खा सकिएपछि मानिस भेला भएर उल्लासका साथ मनाउने पर्व हो यार्तुङ । हिमाली समुदायको प्रमुख पर्व यार्तुङ विशेषतः खेलकुद र राजसंस्थासँग जोडिएको छ । देशमा गणतन्त्र आएपछि राजसंस्था पूर्णतः उन्मुलन भएको छ । तर लोमान्थाङबासीले सांस्कृतिक राजा अझै मान्छन् । पहिले जस्तै पूर्ण जिम्मेवारी नभएपनि उनलाई प्रमुख आमन्त्रित व्यक्तिको रुपमा कार्यक्रममा निम्त्याईन्छ । राजा उपस्थित भएपछि त्यहाँ भेला हुने कोही पनि त्यो भन्दा ठूलो पदमा रहँदैन । सबै जनता हुन्छन् । जनप्रतिनिधि समेत सामान्य नागरिकको रुपमा उपस्थित हुने हुन् । पर्व मनाउँदा र सांस्कृतिक राजा मान्ने कुरामा राजनीतिले पनि कुनै असर गरेको छैन ।

‘राजा’ जिग्मे सिंगे परवल विष्टले आफूलाई ‘राजा’ मान्न तयार नभएपनि राजाले गर्दै आएका कामकाज भने निरन्तर गरिरहेका छन् । सबैजसो चाडवाडमा परम्परागत भेषभुषामा सजिएर रानीसहित उपस्थित हुन्छन्, यी ‘राजा’ । यार्तुङको दिन बिहानै गाउँले दरबारमा पुगेर ‘राजा’लाई शुभकामना दिन्छन् । राजाले आशिर्वाद दिने चलन छ । त्यसपछि गाउँका भद्र भलाद्मीका घरमा पनि शुभकामना दिने प्रचलन हुन्छ । यार्तुङका बेला चम्पा (उवाको पीठोबाट बनाईएको परिकार), मासु र छ्याङ खाने चलन छ । सबै कार्यक्रम सकिएपछि ‘राजा’ गाउँको बाहिरी परिक्रमा गरेर मूलद्वार हुँदै दरबार पसेपछि पहिलो दिनको यार्तुङ सकिन्छ । बाँकी दुई दिन पनि यसैगरि उल्लासमय रुपमा बित्छ । लगातार तीनदिन हुने यार्तुङ हिमाली समुदायको प्रमुख पर्व हो ।

मुस्ताङभरीको यार्तुङमध्ये लोमान्थाङको यार्तुङ बढी महत्वपूर्ण मानिन्छ । लामा गुरुले पात्रो हेरेर राजालाई प्रस्ताव गर्ने र राजाले निर्णय गरेपछि यार्तुङको मिति तोक्ने चलन छ । लोमान्थाङमा मनाईने यार्तुङ तीन दिनको हुन्छ । पहिलो दिन पुरुषको, दोश्रो दिन महिलाको र तेश्रो दिन लामाहरुको यार्तुङ हुन्छ । गरिबीका कारण लामो समय चाडवाड मनाउनै छोडिएको थियो । पछि पर्यटक जान थाले । अलिअलि कमाई हुन थाल्यो । १९ वर्षदेखि भने पुनः यार्तुङ र तिजि जस्ता महत्वपूर्ण पर्व निरन्तर मनाउन थालिएको छ । ‘लामो समय चाडवाड मनाउन सकिएन । गरिबीका कारण पाहुनालाई खान दिने कुरा पनि हुँदैनथ्यो,’ मुख्य पुजारी आम्ची घ्याच्चो विष्टले भने, ‘तिजी र यार्तुङ मनाउन छोडेपछि गाउँमा अनिष्ट भयो । जनावरहरु मर्न थाले, खेती बिग्रिन थाल्यो । हामीले सल्लाह गरेर पूराना पर्व मनाउन थाल्यौं ।’ यार्तुङ मनाएपछि खेती किसानी पनि राम्रो हुने विश्वास छ ।

२०७२ सालमा मुस्ताङी राजा जिग्मे परवल विष्टको निधन भएपछि त्यहाँ नयाँ ‘राजा’ चुनिएका छैनन् । राजाको छोरा नै राजा हुने चलन भएपनि ‘राजकुमार’ले गणतन्त्रमा राजसंस्था अशोभनीय हुने भन्दै राजा बन्न मानिरहेका छैनन् । स्थानीय चाहीँ सांस्कृतिक राजाको रुपमा रहनुपर्ने अडानमा छन् । यद्यपि गाउँघरमा हुने मेला महोत्सव र मुद्धा मामिलाका घटनामा राजासरह उपस्थिति जनाउँछन् । १ सय ४४ घर रहेको लोमान्थाङमा ८०० जनसंख्या छ । धेरैजसो पोखरा र काठमाडौंमा बस्छन् । केही विदेशमा छन् । खानेलाउने चिन्ता नभएपछि लोमान्थाङका स्थानीय परम्परागत पेशा (कृषि र पशुपालन) गर्न छोडिसके । तर चाडबाड मनाउन भने छोडेका छैनन् । गाउँलेलाई आधुनिकताले मज्जैसँग छोएको छ तर आफ्ना पुर्खाले देखाएको बाटो छोड्न सक्दैनन् उनीहरु । ‘राजा’ विष्टले यार्तुङलाई पर्यटन विकास गर्न उपयोग गर्न सकिने बताए । ‘लोमान्थाङ अव पर्यटनमय भएको छ । हाम्रा संस्कृतिलाई पनि पर्यटनसँग जोड्नु आवश्यक छ,’ उनले भने, यसको प्रमोसन गर्नु आवश्यक छ ।’

उनी अहिले पर्यटन व्यवसायमा आवद्ध छन् । उनले लोमान्थाङमै रोयल मुस्ताङ रिसोर्ट चलाउँछन् । सँधैको यार्तुङमा राजारानीलाई घोड सवार गराईन्थ्यो । मुख्य पुजारीसहित प्रमुख मान्छेहरु घोडामा हुन्थे । गाउँलेले चारैतिरबाट घेरेर राजारानीलाई दरबारबाट निकाल्थे । सयौं घोडा हुन्थे । अहिले कोरोनाले राजारानीको उपस्थिति बिनै लोमान्थाङमा यार्तुङ सुरु भएको छ । मुस्ताङी सांस्कृतिक राजा जिग्मे सिंगी पलवर विष्ट तथा रानी धोर्जे याङ्जी विष्ट काठमाडौंमै अड्किए । कोरोनाका कारण लगातार दोश्रो वर्ष रौनक विनाको यार्तुङ मनाईएको सांसद इन्द्रधारा विष्टले बताए । यार्तुङका बेला अन्य समयमा उपल्लो मुस्ताङमा विदेशी पर्यटक समेत सहभागी हुने चलन थियो । अरु कार्यक्रम नभए पनि घोडादौड प्रतियोगिता भने यसपालि पनि भएको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *