प्रज्ञालाई प्रश्नै प्रश्न !
काठमाडौँ । यतिबेला नेपाल प्रज्ञा प्रतिष्ठान आलोचनाको तारोमा परेको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको निवासलाई संग्रहालय बनाउने भन्दै भत्काएपछि प्रज्ञा प्रतिष्ठान र यसको नेतृत्वमाथि चौतर्फी प्रश्न उठेका हुन् ।
महाकवि निवासलाई संग्रहालय बनाउने सरकारको निर्णयको स्वागत गरेका श्रष्टाहरू नै अहिले महाकविको निवास भत्काइएकोमा आक्रोशित बनेका छन् ।
लेखक नयनराज पाण्डे, कवि रमेश क्षितिजलगायत धेरैले सामाजिक सञ्जालमै प्रज्ञाको यो निर्णयको विरोध गरे । लेखक तथा प्राज्ञ सरुभक्तले त कान्तिपुरमा लेख नै लेखेर चर्को आक्रोशमात्र पोखेनन्‚ प्रज्ञाको नेतृत्वप्रति नै प्रश्न उठाए ।
पुराना भएका घर र सम्पदाको जिर्णोद्धारमा कहलिएका सम्पदाविद् रविन्द्र पुरीले महाकविको घर सबलीकरण गर्न सकिने हुँदाहुँदै प्रज्ञाले भत्काउने निर्णय गर्नु दुःखद मात्र नभएर गम्भीर र अक्षम्य अपराध नै भएको बताएका छन् । मकालुखबरसँग कुरा गर्दै उनले यो निर्णयले विद्वान मानिने ‘प्राज्ञ’ले सम्पदा संरक्षण भनेको के हो भन्ने नै नबुझेको दाबी गरेका छन् ।
‘ऐतिहासिक सम्पदा संरक्षण गर्ने भनेकै त्यसलाई जस्ताको तस्तै राखेर हो‚ भत्काएर होइन ।’ विश्वभरि कसरी सम्पदा संरक्षण गरिन्छ भन्ने नै थाहा नपाउने मान्छे केको प्राज्ञ ? उनले प्रश्न उठाएका छन् ।
सरुभक्त आफ्नो लेखमा सोध्छन्-
सयौँ स्थानमा हुन सक्छन् महान् प्रतिभाका संग्रहालय, तर तिनका घर कैयौँ स्थानमा हुँदैनन् भन्ने तथ्य प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीको ‘कविकुञ्ज भत्काउ दल’ लाई कसले बुझाउने ? सयौँ/हजारौँ वर्ष पहिले बनेका मठमन्दिर, भवनहरू जीर्णोद्धार भएका कयौँ उदाहरण छन् भने ७८ वर्ष पुरानो कविकुञ्जलाई जीर्णोद्धार गरी पहिलेको स्वरूपमा ल्याउने र संग्रहालयसमेत स्थापना गर्न नसकिने कुनै कुरै थिएन ।
यो पनि : कवि-कुञ्ज : नभत्काई जोगाउन सम्भव थियो ?
नेपाल प्रज्ञा प्रतिष्ठानले महाकविको घर भत्काउनु ‘बाध्यात्मक अवस्था’ भन्नु र जीर्णोद्धार गर्न नसकिने प्राविधिक ठहर भन्नुका पछाडि तपाईं कुन प्राज्ञिक बुद्धिमता देख्नुहुन्छ ? ती कस्ता ‘होनहार’ प्राविधिक हुन्, जसले ७८ वर्ष पुरानो घरलाई जीर्णोद्धार गर्न नसकिने ठहर गरे ? के प्राविधिकका योग्यतामाथि यहाँ शंका गर्न सकिँदैन ? यदि प्राविधिकका राय ‘भत्काउनू’ भन्ने नै थियो भने पनि गंगाप्रसाद उप्रेतीको प्राज्ञिक दलले असहमति जनाई अरू उपाय खोजी गर्नुपर्थ्यो । अरू प्राविधिकसित सरसल्लाह गर्न सकिन्थ्यो । तर, कुलपति उप्रेतीको दलको नियत कविकुञ्जलाई पुनर्जीवन दिनु थिएन भन्ने कुरा प्रतिष्ठानको विज्ञप्तिबाटै स्पष्ट हुन्छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानले साबिकको बाहिरी स्वरूप आउने, सुविधाका दृष्टिले आधुनिक र नेपाली मौलिकता कायम हुने, साथमा त्यहाँ आउने मानिसहरूका सुविधालाई पनि ध्यानमा राखी भवन निर्माण गर्ने योजना सार्वजनिक गरेको छ । त्यस योजनाबाट थाहा हुन्छ- कुलपति उप्रेतीको कविकुञ्ज भत्काउ दलको दृष्टिमा देवकोटा–घरको कुनै महत्त्व छैन ।
सरुभक्तले सम्पदाविद्ले महाकवि देवकोटाको घर भत्काउन सकिने अवस्था रहेको भन्दाभन्दै घर भत्काइनु सामान्य नभएको बताएका छन् ।
उनी लेख्छन्‚ ‘प्रधानमन्त्रीज्यू, महाकविको कविकुञ्ज भत्काउनु एउटा अपराध हो । भक्तपुरमा नमूना-घरलगायतका मौलिकता समेटिएका घरहरू निर्माण गरी प्रख्याति कमाएका रवीन्द्र पुरीले भनेका थिए, ‘कविकुञ्ज भत्काउनुपर्दैन, कविकुञ्ज नमुना घरभन्दा बलियो छ । पहिलेकै स्वरूपमा मर्मत गर्न सकिन्छ ।’ विज्ञहरूका यस्ता राय आउँदा-आउँदै पनि घर भत्काइनुलाई सामान्य रूपमा लिन सकिँदैन ।’ कविकुञ्ज भत्काउनु अपराध भएको पुरीले टिप्पणी गरेका छन् ।
यो पनि : प्राज्ञले सम्पदा चिन्दैनन् भने अरुबाट के आशा गर्ने ?
तर प्रज्ञा प्रतिष्ठानले देवकोटाको घर ढल्नै लागेकाले जोगाउन सम्भव नै नभएको जिकीर गर्दै आएको छ । प्रतिष्ठानका प्राज्ञ सभा सदस्य तथा सञ्चार तथा डायस्पोरा संयोजक शशी लुमुम्बु भने यो विषयलाई राजनीतिसँग जोडिएको जिकीर गर्छन् । कविकुञ्जलाई नभत्काई प्रबलीकरण गर्नसम्म नमिल्ने अवस्थामा रहेको लुमुम्बुको दाबी छ । भत्काएर अर्को भवन बनाउनुको विकल्प नभएकाले प्रतिष्ठानले त्यसैअनुसार काम अघि बढाएको उनको भनाइ छ ।
‘कवि-कुञ्ज ०७२ को भूकम्पपछि बस्नै नसकिने अवस्थामा पुगेको थियो,’ लुमुम्बुले भने, ‘हामी सञ्चारमाध्यमका साथमा ०७७ सालको मंसिरतिर अवलोकनमा जाँदा पनि एकदमै नाजुक अवस्था थियो । हामी एकतला माथिसम्म चढेर पनि हेर्यौँ, त्यसबेला हाम्रो कुलपति उभिनुभएको भाग नै भासिन खोज्यो र त्यहाँबाट हामी बिस्तारै निस्कियौँ । भर्याङ पनि भाँचिएको थियो । त्यो तलामा २ वा ३ जनाबाहेक बस्न सकिने अवस्था थिएन । एकदमै कमजोर भएको थियो । हामीमाथि पनि केही माटो खस्यो । खासमा कविकुञ्ज भग्नावशेष हुनमात्रै बाँकी थियो ।’
यस्तै प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले पनि प्रज्ञाले बनाएको समितिले देवकोटाको घर जोगाउन नसकिने निष्कर्ष निकालेपछि घर भत्काइएको जिकीर गरेका छन् ।