पोखराका सम्पदा ठेक्का अघि नबढाउन उच्च अदालतको आदेश
पोखरा । पोखरा महानगरपालिकाले केहि महत्वपूर्ण सम्पदा ४० वर्षका लागि ठेक्कामा दिने सम्झौता गरेसँगै उच्च अदालत पोखराले ती ठेक्का अघि नबढाउन अन्तरिम आदेश दिएको छ ।
महानगरले सेती सिल्ट्रेसन, सेती खोँच र पाताले छाँगो निजी कम्पनीलाई ठेक्का दिइसकेको छ । त्यसविरुद्ध पोखराका कानून व्यवसायीहरूले रिट हालेका थिए ।
उच्च अदालतले आइतबार अवेर अन्तरिम आदेश जारी गर्दै ठेक्का प्रक्रिया अघि बढ्नबाट रोकेको हो । महानगरले सेती क्यानोनसँग सेती खोँच र पाताले छाँगो ठेक्का सम्झौता गरेको थियो भने फेवा सिल्ट्रेसनसँग ड्यामको सम्झौता गरेको थियो ।
तत्कालका लागि काम अघि नबढाउन आदेश जारी भएको उच्च अदालत पोखराका रजिष्ट्रार श्रीलाल पौडेलले जानकारी दिए । कानून व्यवसायी सविन तिवारी सहित ३ जनाले रिट दर्ता गराएका हुन् ।
उनीहरूले ठेक्का नै रद्ध हुनुपर्ने माग गरेका छन् । फेवा ड्याम २४ वर्ष र बाँकी दुईवटा आयोजना ४० वर्षका लागि ठेक्का दिइएको हो ।