विशेष प्रदर्शनीमा मन पराइयो बिपना बस्नेतको चलचित्र

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रकी कलाकार तथा टेक्निसियन बिपना बस्नेतको जीवनमा आधारित चलचित्र ‘यात्रा जिन्दगीको’को तयार भएको छ । चलचित्रको विशेष शो शनिबार चलचित्र विकास बोर्डमा केही चलचित्रकर्मी तथा पत्रकारको उपस्थितिमा गरिएको थियो ।

बिपनाले आफ्नो जीवनमा भोगेको भोगाइलाई पर्दामा उतारेकी हुन् । उनले आफूभन्दा झन्डै दोब्बर उमेरको केटासँग विवाह गरेर, बुहार्तन खेपेर कीर्तिपुरको मत्छेगाउँ छोड्नु पर्दासम्मको कथालाई दर्शकमाझ देखाइएको छ । उनले यो चलचित्र महोत्सव देखाउनका लागि तयार गरेकी हुन् । पटक पटक उनीमाथि अवैध सम्बन्धको आरोप लाग्ने र अनाहकमा पिटाइ खानुपर्ने विषयलाई चलचित्रको दृश्यमा समेटिएको छ ।

उनले आफ्नो भोगाइलाई नाटकीकरण गरेको आरोप लगाउनेहरूको जवाफ स्वरूप प्रत्यक्षदर्शी स्थानीयको भनाइसमेत समेटेकी छन् ।

चलचित्र शिवम अधिकारीले निर्देशन गरेका छन् । चलचित्रको गीतको शब्द बिपना स्वयंले लेखेकी हुन् । चलचित्रमा बिपनाका पूर्व श्रीमान् रवि अधिकारीको भूमिका विशाल पहारीले सक्षम कलाकारको रूपमा निभाएका छन् । बिपनाको समेत अभिनय रहेको चलचित्र सम्पादन ताराबहादुर थापा ‘किम्भे’ को रहेको छ । टङ्क बुढाथोकीले सङ्गीत गरेको चलचित्र सम्भ्रान्त खड्काले खिचेका हुन् ।

विशेष प्रदर्शनीमा उपस्थित वरिष्ठ कलाकार नीर शाहले निर्देशन र अभिनयकलाको प्रशंसा गरे । उनले चलचित्रमा भएका कमी कमजोरीसमेत औँल्याउँदै रवि अधिकारीलाई वास्तविक जीवनमा भेट्ने चाह व्यक्त गरे ।

‘यो बिपनाको पाटो भयो’ भन्दै गर्दा नीरले अब अर्को पक्ष (रवि अधिकारी) को विषय समेत समेट्न सके चलचित्र पूर्ण हुने बताएका छन् । उनले रौद्र रस र कारुणिक रसको मिठो सम्मिश्रण चलचित्रमा देख्न पाएको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *