हामीलाई पनि कुलमान हुनुको आभाष होस्
देशमा अहिले कुलमान घिसिङको चर्चा छ । विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त कुलमान हुनुभन्दा अघि देशमा नयाँ प्रधानमन्त्रीका रुपमा शेरबहादुर देउवा चयन भए पनि शायद उनको भन्दा धेरै चर्चाचाहिँ उनले नियुक्त गरेका महाप्रबन्धक कुलमानको भयो, भइरहेकै छ ।
हुन पनि जादु जस्तै लाग्नेगरी कुलमानले आफ्नो पहिलो कार्यकालमा लोडसेडिङको कालो समयलाई उनले उज्यालो समयमा बदले । उनले रातारात बिजुली उत्पादन गरेर वा कुनै चटक गरेर यो सब गरेका होइनन् । विद्युत व्यवस्थापन, चुहावट नियन्त्रण, डेडिकेटेड लाइनको व्यवस्थापनजस्ता केही काम गरेका थिए‚ जसले गर्दा घण्टौँ लोडसेडिङ भोग्न बाध्य आम नागरिकलाई ठुलो सुविस्ता मिलेको थियो ।
यहि कामले गर्दा कुलमान सबैको हाई-हाई भए । काम गरे जनताले कति माया गर्ने रहेछन् भन्ने कुराको पाठ पनि बने कुलमान ।
अहिले कुलमान फेरि केही समय प्राधिकरणको कार्यकारी निर्देशक बनेका छन् । यो खुसीको खबरका साथमा हामी तेह्रथुमबासीले चाहिँ कुलमानले हामीलाई पनि घण्टौँको अँध्यारो समयलाई उज्यालोमा परिणत गरिदिने आशा गरेका छौँ ।
हाम्रो तेह्रथुम जिल्ला सदरमुकामसहित ग्रामीण क्षेत्रमा विगत ४-५ महिनादेखि विद्युत नियमित आपुर्ति नहुने समस्याले आक्रान्त बनाएको अवस्था छ । अहिलेसम्म पनि पटक-पटक बिजुली जाने र घण्टौँसम्म नआउने दैनिकीका बिच यहाँ आमनागरिक, सरकारी र गैरसरकारी कार्यालयका सेवाग्राही र कर्मचारीसमेत आजित हुनु परेको छ ।
चैत-वैशाखमा आउने हावाहुरीका कारण विद्युत आपूर्तिमा हुने अवरोधको बारेमा त हामी आमउपभोक्ता सचेत र जानकार छौँ । त्यस्तो भवितव्यको कुरा अर्कै भयो तर‚ त्यसपछिका दिनहरूमा समेत विद्युत् नियमित नहुँदा हामी अत्यन्तै मारमा परेका छौँ । यो समस्या निराकरणका लागि विद्युत प्राधिकारण जिल्ला शाखामा पटक-पटक खबरदारी गर्दा पनि कुनै ठोस समाधान आएको छैन ।
भन्दा भन्दा पनि नभएपछि हामी ‘लोडसेडिङविरुद्धका दबङ नायक’ कुलमानलाई सम्झन बाध्य छौँ । शायद कुलमान विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा फेरि फर्किँदा सबैभन्दा धेरै हामी तेह्रथुमबासी खुसी भएका छौँ कि जस्तो लाग्छ किनभने हामीले अब हामी अँध्यारोमा बस्नुपर्दैन भन्ने आशा गरेका छौँ ।
म्याङलुङ्ग–२, तेह्रथुम ।
Ekdam Samarthan Nirmal sir ko kurama