बागी गजेन्द्र !
काठमाडौं । संसद् देशको कानून बनाउने थलो हो । जहाँ, सांसदहरुले जनताका कुरा राख्ने र सरकारको जवाफ खोज्ने काम गर्नुपर्ने मान्यता राखिन्छ । तर, हाम्रो संसद्ले नागरिकका कुरा प्रभावकारी रुपमा राख्न नसकेको गुनासो पहिले पनि थियो, आज पनि छ र भोलि पनि हुनेछ सायद ।
तर केही सांसद छन् जो, अल्लि फरक ढङ्गले विषयहरुको उठान गर्छन् र सरकारको ध्यानाकर्षण गराउँछन् । त्यस्तैमध्येका एक हुन् गजेन्द्रबहादुर महत ।
महतले संसद्मा उठाएका केही विषयः
०७८ साउन १९ गते— ‘सरकार र मन्त्रीहरुको कारणले हामी सांसदहरुले लोगो लुकाएर हिँड्नुपर्ने अवस्था आएको छ । अर्थमन्त्रीज्यूले निःशुल्क बत्ती उपलब्ध गराउने भनेर भन्नुभएछ । कर्णालीका जनताले खनखन पैसा तिर्छौँ भन्दा त बत्ती पाएका छैनन्, अनि निःशुल्क बत्तीको कुरा गर्ने ? भर्खरै हामीले एउटा गफाडी सरकारलाई बिदा गरेका छौँ । अब यो सरकार पनि झनै गफाडी हुने हो कि के हो मलाई चिन्ता लागेको छ सभामुख महोदय ।’
अर्को प्रसङ्गमा संसद्मै उनले भनेका थिए— ‘गिरिजाप्रसाद कोइरालाज्यूले जंगलमा बसेका माओवादीलाई संसद्सम्म ल्याए भनेर एकजना माननीयले सधैं भनिराख्नुहुन्छ । यसले हामीलाई घोचिरहन्छ । अथवा एमालेले माओवादीलाई शान्ति प्रक्रियामा ल्यायो भन्नुहुन्छ । म के भन्न चाहन्छु भने तपाईंहरुको पनि एउटा थोरै इतिहास पल्टाइदिउँ, तपाईंहरुलाई जत्तिबेला ज्ञानेन्द्रले कठालो समातेर काला पहाड पठाइदिएको थियो, त्यहाँबाट तपाईंहरु कसरी आउनुभयो ? जेलमा कोचेको होइन त तपाईंहरुलाई ? अनि तपाईंहरुलाई यहाँ कसले ल्यायो ? हामीले १२ बुँदे समझदारी गरेर सबै यहाँ आएका होइनौँ ? अनि हामीलाई जंगलबाट ल्यायौँ भनेर किन धक्कु लगाइराख्ने भन्या ? तपाईंहरुलाई पनि हामीले काला पहाडबाट ल्याएका हौँ । हरेक कुरा सोचीविचारी बोल्दा राम्रो होला । किनकि हामी सँगसँगै छौँ । हिजो एमालेसँगै थियौँ, आज कांग्रेस सँगसँगै छौँ । को शत्रू, को दुश्मन ? भोलि के हुन्छ थाहा छैन ।’
000
०७७ चैत १० गते— ‘हाम्रा श्री ५ को सरकारका प्रतिनिधि के भन्दैछन् भने हामी विकसित राष्ट्रमा पुगिसक्यौँ । प्रमाणपत्र आउँदैछ । कसले आँखा चिम्लेर प्रमाणपत्र दिँदैछ ? म जान्न चाहन्छु । जुम्ली जनता जान्न चाहन्छन् । यो घूस दिएर ल्याएको प्रमाणपत्र त हैन ? यो कर्णालीका जनताको ठूलो चासोको विषय छ ।’
000
०७८ बैशाख ३० गते— ‘मेलम्ची देखाएर डिजेल र पेट्रोलको भाउ बढेको छ । धरहरालाई देखाएर डन्डी र सिमन्ेटको भाउ बढेको छ । विकास र समृद्धि देखाएर नुन, तेल, दाल, चामलको भाउ बढेको छ । पार्टी वृत्तको झगडा देखाएर सभामुखको ढाँडी भाँचियो । कोरोना देखाएर जनतालाई ऋणमा डुबाइयो । राष्ट्रवाद देखाएर चुच्चे नक्सा पनि गायब पारियो । सबै पार्टीको ध्यान जाओस्, सरकारको ध्यान जाओस् ।’
000
सरकार र मन्त्रीहरुको कारणले हामी सांसदहरुले लोगो लुकाएर हिँड्नुपर्ने अवस्था आएको छ ।
०७५ जेठ १७ गते— ‘बजेट हल्लिन गाह्रो छ । तर बजेटले मलाई हल्लाइराखेको छ । मेरो जुम्लालाई हल्लाइराखेको छ । बजेट आकाशको फल आँखातरी मर वा लङ्कामा सुन छ कान मेरो बुच्चै भन्ने उखानजस्तै भएको छ । मेरो जुम्लाका लागि हर्ष न बिस्मात भएको छ बजेट । (अर्थमन्त्रीज्यू) चाहिने कुरा गर्नुस्, चाहिएको छैन त्यो ४ करोड । स्थानीय तहमा वडा सदस्य बसालेर हामीले विनियोजन गर्नुपर्ने रे ! यो कहीँ मिल्ने कुरा हो ? कसले सहन्छ यस्तो कुरा ? यो कुरामा अर्थमन्त्रीले सोचुन् । कोही मन्त्री हुँदैमा सांसदलाई अपमानित गर्न पाइँदैन ।
000
०७६ माघ १७ गते— ‘छाउगोठका नाममा हाम्रा घर भत्काइएका छन् । एउटा व्यक्तिको मृत्यु भयो भन्दैमा घर भत्काउन पाइन्छ ? ८ जना मान्छेको होटलमा मृत्यु भएको छ । अब होटल भत्काउँदै हिँड्ने ? हजारौं मान्छेको बसमा मृत्यु भएको छ । बस जलाउँदै हिँड्ने ? चाहिँदो कुरा गर्नुपर्यो नि ।’
000
गजेन्द्रबहादुर महत माओवादी केन्द्रको तर्फबाट जुम्ला–१ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् । उनले हरेक पटक अरु सांसदले उठाएको विषयभन्दा फरक खालका विषयवस्तुको उठान गरिरहेका हुन्छन् । त्यसो त उनको बोल्ने शैली र लवज पनि फरक छ । यसैकारण हुनुपर्छ कि, कुनै बेला संसद्मा आफ्नो कुरा राख्दा रुने सांसद भनेर पनि महतलाई भनिन्थ्यो । पछि उनले प्रष्टोक्ति दिए, ‘म रोएको होइन, मेरो बोली नै यस्तै हो ।’
संसद्मा हरेक पटक गरेको विषयको उठान र उक्त विषयले राष्ट्रिय राजनीतिमा पाएको चर्चाले उनी छोटो समयमै लोकप्रिय बनेका छन् । उनले उठाउने हरेक विषयले उनी सधैं पार्टीबाट बागीजस्तै लाग्छन् । यद्यपि महतले आफूलाई बागी नमान्ने बताउँछन् । ‘म आफूलाई पार्टी र सरकारका सन्दर्भमा बागी ठान्दिनँ,’ मकालुखबरसँग महतले भने, ‘यो राजनीतिक एजेण्डाहरुमा फरक धारणा हुनु, फरक सिद्धान्तहरु अवलम्बन गर्नु र फरक विषयबारे बोल्नु स्वाभाविक नै हो ।’
यत्तिसम्म कि महतले पार्टीकै पहलमा नियुक्त नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङमाथि पनि फरक धारणा राख्छन् । पार्टी अध्यक्ष प्रचण्डकै सिफारिसमा सरकारले नियुक्त गरेको कुलमानबारे गत शुक्रबार मात्रै महतले संसद्मै बोले, ‘कुलमानबाहेक अरु किन देख्दैन सरकारले ? कुलमान बूढो भएपछि सरकारले के गर्छ ?’
कुलमानलाई तपाईं मन पराउनुहुन्न ? मकालुखबरले राखेको जिज्ञासामा महतले भनेका छन्, ‘कुलमानजी मेरै समकालीन साथीजस्तै हुनुहुन्छ । व्यक्तिगत रिसइबी कुनै केही पनि होइन, तर सरकारको छनौट देखेर मलाई ठिट लाग्छ । त्यसैले मैले बेगल धारणा राखेको हुँ । कुलमान मात्रै हुन् त ? अथवा विद्युत् प्राधिकरण मात्रै हो त ? सोचीविचारी चल्नुपर्छ । त्यसो भए त कुलमान बूढो भएपछि त नेपाल सरकारले के गर्ने ?’
000
वर्तमान राष्ट्रिय राजनीति, पार्टी, सरकार, संसद्लगायत सबैबारे अन्यभन्दा फरक धारणा राख्छन् महत । कुनै न कुनै हिसाबले सरकारसँग, पार्टीसँग, संसद्सँग अनि सिङ्गो व्यवस्थासँग असहमति जनाउने महत भन्छन्, ‘फरक धारणा राख्नु भनेको राजनीतिको विशेषता हो । सहमति, असहमति, समझदारी, असमझदारी यी यावत् चिजहरु राजनीतिमा भइ नै रहन्छन् ।’
महत पार्टीसँगै पनि असन्तुष्ट छन् । जुम्लीका लागि पार्टीले पहल नगरेकोमा उनी दुखी छन् । आफू सिर्फ जनताको सेवामा जुटेको उनको भनाइ छ । भन्छन्, ‘मलाई मन्त्री चाहिएन । मागेर लिइँदैन पनि । बस्, आफ्नो क्षेत्रको जनताको दुःखमा मल्हम लगाउन पाए खुसी हुन्छ ।’
आफूले पार्टी अध्यक्ष प्रचण्डसँगै कहिल्यै मन्त्री नमागेको महत बताउँछन् । मन्त्री हुनका लागि राजनीति नगरेको उल्लेख गर्दै महत थप्छन्, ‘यो सब फण्डाजस्तो लाग्छ मलाई । जनताको दुःखसँग ज्ञात हुनु नै राजनीतिको स्वर्णिम पाटो हो, विशेषता हो ।’
आफू पार्टी अध्यक्ष प्रचण्डसँग असन्तुष्ट रहेको महत बताउँछन् । ‘म सरकारसँग, पार्टीसँग र अध्यक्षसँग पनि असन्तुष्टि छु,’ महतले भने, ‘म अहिलेको सरकारसँग पनि असमत छु । पार्टीसँग पनि, पार्टी अध्यक्षसँग पनि । यसको कारण पछि खुलाउँदै जाउँला ।’
प्रचण्डसँग के के कुरामा असहमति राख्नुहुन्छ ? भन्ने प्रश्नमा महत भन्छन्, ‘यही यही विषय भन्नेबारे म बोल्दिनँ । तर, नेतृत्वसँग, पार्टीसँग असहमति हुनु भनेको ठूलो कुरा होइन ।’
000
देशमा आमूल परिवर्तन गर्ने मनोकांक्षासहित सशस्त्र विद्रोहमा होमिएका महत शान्ति प्रक्रिया शुरु भएपछिको झन्डै एक दशकपछि संसद् भवन छिरेका हुन् ।
नेपाल मजदुर किसान पार्टीबाट राजनीति शुरु गरेका महत ०५६ सालदेखि माओवादीमा जोडिए र संसद्सम्मको यात्रा तय गरे । सशस्त्र विद्रोह ताका जुम्लाको जनसरकार प्रमुखसमेत भएका महत आफूलाई जनताप्रति इमान्दार जनप्रतिनिधिका रुपमा चित्रण गर्छन् ।
त्यसो त उनी जुम्लाका एक्ला सांसद पनि हुन् । त्यसो हुँदा आफूलाई राजनीतिक भार धेरै भएको उनको अनुभव छ । ‘योभन्दा अगाडि चार जना माननीय थिए, महत भन्छन्, ‘चारजना माननीयले मैलेभन्दा चार गुणा बढी काम गर्न सक्ने भए । प्रत्येकले एउटा आयोजना लैजाँदा पनि चारवटा जान्थ्यो । मबाट जनताले धेरै आशा गरेका छन्, जिताएर पठाएका छन् । यसर्थ म सधैं जनताकै लागि हुँ भन्ने भाव राख्छु ।