मासुभात र आँसुभातको भेद
‘एकपटक मेरा मित्रहरुले मलाई वेश्यालयको गल्लीमा पनि लगे । त्यहाँ मलाई राम्रो कुरा गरेर एउटी महिलाको घरमा पुर्याए । मैले त्यसलाई पैसा दिनु पर्दैनथ्यो । हिसाब भइसकेको थियो । मलाई त दिल बहलाउनु मात्र थियो । म घरमा त घुसें तर जसलाई ईश्वरले बचाउन चाहन्छ । त्यसलाई ऊ गिरेर पनि पवित्र राख्दछ । त्यो कोठरीमा एकदमै अन्धो भएँ । मलाई बोल्ने होस भएन । लाज लागेर म त्यो महिलाको खटियामा बसें । तर मुखबाट बोली नै निस्केन । त्यसले रिसाउँदै मलाई दुईचार नराम्रो कुरा सुनाई र बाहिर जाने बाटो देखाइदिई । त्यसबेला त मलाई मेरो पुरुषत्वमाथि प्रश्नचिन्ह लाग्यो । मैले चाहे म पृथ्वीमाताले स्थान दिएमा पृथ्वीमाताको गर्भमा पुगुँ तर यसरी सहीसलामत बाँच्न पाएकोमा मैले भगवानलाई आभार प्रकट गरें ।’
शान्तिका नायक महात्मा गान्धीको यो भोगाइबाट के तथ्य प्रमाणित हुन्छ भने मान्छे गल्ती गरेर होइन, गल्ती छोपछाप गर्न बोलिएका झुटका पुलिन्दाबाट पाखण्डी बन्न पुग्छ । सरकारी जागिरबाट एकाध वर्षभित्र भारतीय राजनीतिको केन्द्रमा पुगेका केजरीवालले रिक्साचालकको हातबाट थप्पड खाए । तर त्यसैदिन उनी गुलाफको फूल लिएर रिक्साचालकको घर पुगे । मुद्दा फिर्ता लिएर उसलाई अभयदान दिए । फलस्वरुप रिक्साचालकले उनको पाउ परेर पश्चातापको आँसु बर्सायो । सुशील कोइराला, झलनाथ खनाल र पुष्पकमल दाहाललाई गालामा सेक्ने प्रवेश बस्नेत, देवीप्रसाद रेग्मी र पदम कुँवरले कति पछुतो माने होलान् ? न त भाडाको गाडीको ९२ लाख नगद र बहुमूल्य गरगहना भेटेर बुझाइदिएको ढोंग रचेर सारा संसारलाई थाङ्नामा सुताएर मुलुककै पहिलो राष्ट्रपति रामवरण यादवबाट आर्शिर्वाद लिन भ्याएकी अनुजा बानियाँलाई त्यो कर्मप्रति कुनै खेद् होस् । बरु उनले ‘नेपाली पत्रकारिताको पाइन जाँचेको’ भनेर पित्तल र सुन खुट्याउन नसक्ने भनेर बौद्धिक जगतलाई चुनौती दिइन् । अनुजाको त्यो चड्कनपछि पनि चौथो अंगको चेत अझै खुलेको छैन ।
सफल र असल नेता ढलौटको मूर्तिजस्तै हुन् । जबसम्म मूर्तिले आकार प्रकार लिँंदैन, तबसम्म शिल्पीले उसलाई ठटाउनु ठटाउँछ । जब धातुले भगवानको आकार लिन्छ, उही लम्पसार परेर नमन गर्छ । महात्मा गान्धी, नेल्शन मण्डेला यही कोटीका नेता हुन ।
यस्ता सनकी कर्म विदेशका ठूलाले पनि गर्छन् । एउटा पुरानो चिहानको वरिपरि पर्खाल लगाउन चन्दा संकलन गरिदै थियो । मार्क टवेनसंग चन्दा माग्दा उनले दिन इन्कार गरे । चिहान सुरक्षा कमिटीले किन भनेर प्रश्न गर्यो । ट्वेनको तर्क थियोऔ ‘चिहानभित्र जो छन्, तिनीहरुको बाहिर आउने क्षमता नै छैन । जो चिहान बाहिर छन्, तिनीहरुको भित्र पस्ने इच्छै छैन । अनि चिहानलाई किन सुरक्षित पार्नुपर्याे ?’
भनिन्छ- यदि शंकालु दृष्टिले हेरियो भने आफ्नै बाबुको अनुहार पनि ढेडू जस्तो देखिन्छ रे ! गल्तीबाट सिक्दै अनि सिकाउँदै जानु नै कर्तव्य हो । लगाएको लुगालाई न्यानो कपडा भनेर स्वीकारियो भने त्यो निश्चय नै कपडा हो । यदि त्यसको केस्रा केलाउन थालियो भने त्यो धागोको रेसामा पुगेर अन्त्य हुन्छ । एउटा रेसम किरोले त मृत्युपछि पनि मान्छेको आङ छोपेर अमर हुने काम गर्छ भने विवेकशील मानिसले लोभ त्यागेर सुकर्म गर्नु उसको परम् कर्तव्य हो ।
सफल र असल नेता ढलौटको मूर्तिजस्तै हुन् । जबसम्म मूर्तिले आकार प्रकार लिँंदैन, तबसम्म शिल्पीले उसलाई ठटाउनु ठटाउँछ । जब धातुले भगवानको आकार लिन्छ, उही लम्पसार परेर नमन गर्छ । महात्मा गान्धी, नेल्शन मण्डेला यही कोटीका नेता हुन । पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाले पछिल्लो कार्यकाल आमाले पढ्ने गरेको बाइबल छोएर मानव जगत र आफ्नो जन्मभूमिको हितमा काम गर्ने कसम खाएर शुरुवात गरेका थिए । अझ एकथरि भन्छन्- ईण्डोनेशियामा बसेका ओबामामाथि हिन्दु धर्मको गहिरो प्रभाव छ । उनी हनुमानसंग अनुगृहित छन् । कतिपय अवस्थामा शक्तिको कामना गर्दै हनुमानको लकेट पनि आफ्नो साथमा राख्छन् । वैज्ञानिक समेत रहेका भारतीय पूर्व राष्ट्रपति अब्दुल कलाम कुरान पढेपछि नित्य रामधूनमा रमाउँथे ।
अमेरिकामा गरिएको एक सर्वेक्षणले १० जनामध्ये ८ जनाले ईश्वरीय सत्तालाई स्वीकारेको देखाएको थियो । विश्वका हरेक राजनीतिका मूल्य मान्यताहरु धर्मको धरातलमा बाँचेका हुन्छन् । तर चलनचल्तीमा रहेको ‘ईश्वर’ शब्दमाथि अविश्वास गरी जनताका नाममा कसम खाएका हाम्रा देशका कमरेडहरु न ईश्वरको अनुकम्पामा अड्न सके, न जनताको भरोसामा बाँधिन सके । विज्ञानको न्यूट्रोन, प्रोटोन र ईलेक्ट्रोनमा विश्वास गर्ने कमरेडहरुलाई के थाहा भौतिक शास्त्रले ईश्वरीय सत्ताको निर्माणकर्ता, पालनकर्ता र संहारकर्ताबीच तादात्म्य खोजिसकेको छ । संस्कार संस्कृति र परम्पराको खानी मानिने पूर्वी सभ्यताबाट पश्चिमाहरु लाचार छन् । भनिन्छ- नासाले गर्ने वैज्ञानिक आविष्कारहरु बेदबाट निर्देशित छन् । वेदलाई कहिल्यै पुरानो नहुने विज्ञान मानिन्छ । नेपालमा संस्कृतका पाठशाला खरानी बनाउनेहरुलाई थाहा छ छैन, जर्ज ह्यारिसन र म्याडोनाजस्ता विश्व प्रसिद्ध कलाकारहरु कोही संस्कृत भाषा सिक्दै छन् भने कोही गेरुवस्त्र लगाएर गंगाको तीरमा ध्यानमग्न हुन थालेका छन् ।
नेपालमा संस्कृतका पाठशाला खरानी बनाउनेहरुलाई थाहा छ छैन, जर्ज ह्यारिसन र म्याडोनाजस्ता विश्व प्रसिद्ध कलाकारहरु कोही संस्कृत भाषा सिक्दै छन् भने कोही गेरुवस्त्र लगाएर गंगाको तीरमा ध्यानमग्न हुन थालेका छन् ।
अहिले युरोप अमेरिकाको संसदमा त्यहाँका विधायकहरुलाई वेद, गीता र महाभारतका अंग्रेजीमा उल्था गरिएका ठेली थमाइन्छ । दर्जनौं गेरुवस्त्र लगाएका गोराहरु हातमा भागवत बोकेर विक्री गर्न हिँडेको दृश्य काठमाडौका गल्ली गल्लीमा देखिन्छ । एउटा समय थियो- भारत वर्षलाई पश्चिमाहरुले समृद्ध देश भन्थे । यहाँ जे चाह्यो, त्यही पाइन्छ । हो, त्यही पाउनका लागि कोलम्बस जहाज चढेर यता आएका थिए । दुर्भाग्यवश जहाजको कम्पास बिग्रिएपछि उनी वर्तमानको अमेरिकातर्फ घचेटिएका थिए । ईश्वर भनेको अनुशासनको अर्को नाम हो । अनुशासनविना संसारमा सभ्य समाजको कल्पना गर्न सकिन्न । जनता भनेको माध्यम मात्र हो ।
प्रधानमन्त्री पाइने लोभमा बाउआमाको किरिया नगरेर, सहमतिको दौडमा आमाको किरिया छोट्याएर, बाउआमा बाँचुन्जेल नातो टुटाउने पार्थिव भएपछि राता टालाको मुनि उभिएर मुट्ठी कस्दैमा क्रान्तिकारी होइँदैन । आफ्नो संस्कृति संरक्षण गर्न सक्नुहुन्न भने तपाईंहरुलाई अरुको विषयमा बोल्ने अधिकार छैन् । कुखुराको भाले नबासे पनि विहान भएजस्तै तपाईंहरुको भाषणविना पनि जनताको दैनिक अध्याय रोकिदैन् । हेक्का राख्नुस् कार्यकर्तालाई घाँटीघाँटीसम्म उत्तरकोरिया पढाएर दक्षिणकोरिया र अमेरिकाको भीसाका लागि सडकमा सुताउनु क्रान्ति नभएर भ्रान्ति हो । विशुद्ध क्रान्तिको भनेको फगतः आत्मशुद्धि हो । तपाईंहरुले राजनीतिमा पढेका लाखौं कोरा शब्दले भन्दा ठूलो सामर्थ्य यो धर्तीमा एउटा ‘ऊँ’ शब्दले राख्छ । धर्म, संस्कृति र परम्परालाई जब तपाईंहरुले राजनीतिक रंगमा घोल्नुभयो, त्यो नै तपाईंहरुका लागि दुर्दिन सावित हुँदै गएका छन् । धर्म, संस्कृति भावनासंग जोडिएको वस्तु हो । दुन्दुभि जसरी बजाउने वस्तु होइन । यो त लुगा लगाएजस्तो हो ।
जसलाई जसको शरीरले जे माग्छ, उही धारण गर्ने हो । धर्म न सापेक्ष हुन्छ, न निरपेक्ष नै । यो सत्यलाई स्वीकार्ने हो भने न लुकेर भैंसीको पूजा गर्नुपर्छ, न धर्मभिरुको आरोप लाग्ला भनेर दशैंको अक्षताबाट डराउनुपर्छ, न कार्यकर्ताले विलासी भन्ठालान भनेर स्टीलको गिलासमा ह्विस्की हालेर खानुपर्छ । नेपालमा छोरीको संख्या किन बढ्यो ? उत्तर हाजिर छ- तीनवटा छोरी जन्माउँदा पनि छोरो चाहिने विडम्बनाबाट प्रचण्डजस्ता ठूला नेता पनि मुक्त हुन सक्नुभएन । कृष्णप्रसाद भट्टराई, सुशील कोइरालाले त जहानै जोडेनन् । तर उनीजस्तै हुन खोज्दा कांग्रेसमा कति कुमार बढे त्यसको विश्लेषण भएको छैन् ।
प्रधानमन्त्री पाइने लोभमा बाउआमाको किरिया नगरेर, सहमतिको दौडमा आमाको किरिया छोट्याएर, बाउआमा बाँचुन्जेल नातो टुटाउने पार्थिव भएपछि राता टालाको मुनि उभिएर मुट्ठी कस्दैमा क्रान्तिकारी होइँदैन् ।
वीपी कोइराला आफ्नो जीवनभर कहिल्यै पशुपतिनाथको आँगनमा गएर भाकल गरेनन् । देउतासंग केही मागेनन् । उनी भन्थे- भगवानले मलाई भन्दा पहिला उनकै छत्रछायाँमा रहेका माग्ने, दीनदुखीको पुकारा सुन्नुपर्छ । उनीहरुको कल्याण गर्नुपर्छ । तर तिनै वीपी जसले उनको स्वस्थ शरीरको कामना गरेर विगुत लिएर जानेको श्रद्धालाई कहिल्यै अपमान गरेनन् । भगवानको आस्थामा लीन हुनेले आफूमाथि गरेको निश्छल स्नेहलाई उनले ईश्वरीय अनुकम्पा ठाने । यद्यपि बीपी यस्ता हस्ती थिए, जसले महानग्रन्थ गीतामाथि समालोचना गर्ने दुस्साहसी काम पनि गरेका थिए । यही गुणले उनी नेपाली राजनीतिका विभूति भए ।
आज भारतपछि जर्मनीमा किन धेरै संस्कृत विश्वविद्यालय खुल्दैछन् ? अमेरिकाले आफ्नो देशमा अग्निहोत्री विश्वविद्यालय खोल्ने सुरसार किन कस्दैछ ? भगवानका नाममा चढाएको एकमुट्ठी अन्न र दुईचार पैसामा राजनीति गर्न पल्केका हाम्रा नेताहरुलाई यस्ता सत्यबारे कति जानकारी छ ? प्रधानमन्त्री कि पशुपतिको मूलभट्ट ? यी दुईमध्ये एक रोजाउने हो भने धेरै नेताहरुको रोजाइ मूलभट्ट हुनेमा सन्देह छैन । पदलाई पैसा र सुविधाको मापनमा बुझेका नेताहरुलाई यज्ञमा होमिने अन्न र घिउको रसायनले वातावरणीय असन्तुलनलाई सन्तुलनमा ल्याउने वैज्ञानिक प्रमाण फेला परेको तथ्य यहाँका सम्पदा नासिएपछि मात्र थाहा होला । न आफू जान्ने, न अरुले भनेको मान्ने अचम्मको मनोविज्ञानमा उनीहरु फसेका छन् ।
रुसी क्रान्ति र फ्रान्सेली क्रान्तिका कोरा सिद्धान्त भट्याउँछन् । मार्क्स र लेनिनका गाथा गाउँछन् । माओको रेडबुकको बखानमा समय सिध्याउँछन् । लेनिन र माओको जस्तै तेल, जेल घसेर जुल्फी पनि लर्काउँछन् । तर सवै जनताले गुलियो चिया नखाएसम्म चिनी नखाने लेनिनको संकल्प आफ्नो व्यवहारमा उतार्न हच्किन्छन् । आफ्ना सन्तानका लागि अमेरिकी र ब्रिटिस जीब्रोको अंग्रेजी मापदण्डमा चलेका नामी निजी स्कुलको खोजीमा दौडिने नेताहरु जनताका छोराहरुलाई जातजाति, धर्म र भाषागत स्कुलको औचित्यमाथि प्रवचन दिन्छन् । आफ्नो भाषा, संस्कृतिमाथि अपनत्व प्रकट गर्नु भनेको खोटो मोहोर बोकेर सपनामा बाँच्नु होइन । नेपाली भाषामा पोख्त जनशक्तिले आफ्नै भूमिमा एक छाक भात सुरक्षित गर्न नसकेको जान्दाजान्दै एक्काइसौं शताब्दीमा धर्म, जात र संस्कृतिको गुठी खोल्दै हिँड्नु भनेको अर्को अपराध हो । यसले कसैको हित गर्दैन । एउटा नौ डिजिटको मोबाइल त हरियो थिचे उठ्छ र रातो थिचे काटिन्छ बाहेकको ज्ञान नभएकाहरुले सनातनी समाजका अवयवहरुमाथि धावा बोल्नु भनेको आफैंमाथि तातो भुतभुते खन्याउनु हो । सक्छौ अब आर्थिक युद्ध गर । सक्दैनौ, सपार्ने कोशिस गर तर, भएको नविगार । जनयुद्धका धमास अब नदिए हुन्छ । लाटकोसेरोले दिउँसो आँखा नदेख्नुमा जसरी सूर्यको दोष हुँदैन, त्यसरी नै तपाईंहरुको अकमण्र्यताको भागी स्वयं तपाईंहरु नै हो । जनताको हितमा गरिने राजनीतिमा बुद्धि, विवेक, साहस र धैर्यको आवश्यकता पर्छ । जतिसुकै उपाय लाएपनि पानी नभएको ठाउँमा डुंगा चल्न सम्भव छैन् ।