भेस्ट खोलेर कालो वस्त्रमा मुख्यमन्त्री कार्यालय अगाडि उत्रिइन् सावित्री

धनगढी । महिला अधिकारकर्मी सावित्रा सुवेदीले मंगलबार सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा प्रदेश मन्त्रीपरिषद्को कार्यालय अगाडि कालो बस्त्रमा केही मिनेट मौन प्रदर्शन गरेकी छन् ।

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्यारा सार्वजनिक गर्नुपर्ने माग गर्दै सुवेदीले मुख्यमन्त्री कार्यालय अगाडि केही छिन मौन रुपमा विरोध प्रदर्शन गरेकी हुन् ।

मुखमा कालोपट्टी‚ मुख र छातीमा कालो कपडा बाँधेर मौन प्रदर्शनमा उत्रिएकी उनले निर्मलाको बलात्कारीलाई फाँसी दे, मेरो शरीर मेरो अधिकार, निर्मलालाई न्याय देलगायतका प्लेकार्ड बोकेकी थिइन् । उनले पाइन्ट र जुत्ता पनि कालो नै लगाएकी थिइन् ।

अगाडि सुन्तला कलरको भेस्ट लगाएर आएकी उनी पछि छातीमा बाँधिएको कालो वस्त्र र कालो पट्टीसहित मुख्यमन्त्री कार्यालय अगाडि करिब १० मिनेटजति मौन उभिइन् ।

मौन विरोधपछि बोल्दै उनले निर्मलाको न्यायका लागि सरकारले नसके अब महिलाहरू चुप नबस्ने बताइन् । ‘तीन वर्षदेखि धनगढी पुगेर निर्मलाको न्यायका लागि मुख्यमन्त्रीलाई प्रश्न गर्दै आइरहेकी छु,’ उनले भनिन्, ‘अझै कति वर्ष धनगढीमा आएर निर्मलालाई न्याय दे भनेर कराउनुपर्ने हो ?’ निर्मलालाई न्याय दिएर मुख्यमन्त्रीलाई इतिहास लेख्ने मौका रहेको भन्दै उनले त्यसका लागि ढिलाइ नगर्न आग्रह गरिन् ।

सरकारलाई बारम्बार निर्मलाको हत्यारालाई कारबाही गर र उनलाई न्याय दे भन्दा पनि सरकार कानमा तेल हालेर बसिरहेको उनको आरोप छ। ‘निर्मलालाई न्याय नदिलाउँदासम्म हामी महिलाहरु चुप बस्दैनौंँ’ उनले भनिन् ।

कञ्चनपुरको भीमदत्त नगरपालिका-२ की १३ वर्षीया निर्मला पन्तको २०७५ साउन १० गते बलात्कारपछि हत्या भएको अवस्थामा घर नजिकैको उखुबारीमा शव भेटिएको थियो ।

उनले निर्मला मात्रै नभई अहिले दैनिक पाँच÷सातवटा छोरीचेली बलात्कारको शिकार भएर मृत्यु हुँदा पनि सरकार नबोल्नु बिडम्बना भएको बताइन् । महिलाहरू नाङ्गै हिँड्छन् भनेपनि कसैलाई बलात्कार गर्ने अधिकार नभएको भन्दै उनले आक्रोश पोखिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *