नयाँ पार्टी बनाए पनि एमालेसँग एकताको ढोका खुल्लै रहन्छ : नेपाल

‘ओलीका कारण पार्टी पुनर्गठन गर्नुपर्ने अवस्था आएको छ’

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी पुनर्गठन गर्ने अवस्था आएको बताएका छन् । पार्टीका जनसंगठनहरूको संयुक्त भेलालाई सम्बोधन गर्दै नेता नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली पार्टी विभाजन गराउन लागिपरेको आरोप लगाएका छन् ।

पार्टी एकताका लागि जति लचिलो हुँदा पनि ओलीले अटेर गरेको र एकतर्फी रुपमा पेल्ने, आरोपित गर्ने र पार्टीमा ठाउँ छैन भन्ने गरेकाले अध्यक्ष ओलीले पार्टी एक बनाउन नचाहेको प्रष्ट भएको नेपालले दाबी गरे ।

‘अब पार्टीलाई पुनर्गठन गर्नुपर्ने बेला आएको छ,’ नेता नेपालले भने‚ ‘नेपाल कम्युनिस्ट पार्टीलाई क्रान्तिकारी बनाउँदै अघि लैजाने, विचार मिल्नेसँग सहकार्य गर्ने बेला आएको छ । तत्कालै कुनै पार्टीसँग एकता गर्ने कुरा छैन । सहकार्यमात्र हुन्छ ।’ आफूहरूले नयाँ पार्टी बनाए पनि एमालेसँग विचार मिलेमा एकताको ढोका सधैँ खुला रहने उनले बताए ।

‘अहिले हामीले नयाँ पार्टी बनाइहालेको खण्डमा पनि ओली सच्चिए भने एमालेसँग एकताको ढोका सधैँ खुल्ला रहनेछ । पार्टी खुलेको एक हप्तामै वा महिनामै वा चुनावअघि वा चुनावपछि पनि एकता हुन सक्नेछ‚’ उनले भने । चुनावमा बेग्लाबेग्लै लड्न पनि सकिने वा चुनावी गठबन्धन पनि गर्न सकिने नेता नेपालले बताए ।

उनले जिल्ला जिल्लामा पार्टी संगठन निर्माण गर्दै अघि बढ्न कार्यकर्तालाई निर्देशन पनि दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *