सप्तकोशी फुटेको १३ वर्ष : प्रभावित भन्छन्- सम्झँदा अझै आँसु आउँछ
सुनसरी (कोशी कटान) । सुनसरीको कोशी गाउँपालिका- ४ जुद्धगञ्जका ईस्लाम मन्सुरी ४८ वर्षका भए । उनको परिवारले सप्तकोसीको आसपासमा नै जीवन बितायो । १३ वर्षअघि आजकै दिन पहिला उनको परिवार घरमै थियो । अचानक सप्तकोसीको बाँध फुट्यो र नदी गाउँ पस्यो भनेर बस्तीभरि हल्ला चल्यो ।
२०६५ साल भदौ २ गते दिउँसोको करिब १ बजेको समय थियो । एकाएक गाउँमा पानीको सतह बढ्दै गएको गाउँलेले थाहा पाए । उनको ५ बिगाहा खेतीयोग्य जमिनसहित घरबाट कुनै जायजेथा निकाल्न पाएनन् । कोसीको बाँध फुटेर गाउँ पस्दा सबै बगाएर लग्यो ।
उनी परिवारसहित भागेर ईनरुवातर्फ लागे । बस्ने ठाउँको कुनै टुङ्गो थिएन । उनीहरू ईनरुवाको बबियामा रहेको एउटा विद्यालयमा पुगे । केही दिनमा कोठा भाडामा लिएर बसे । एक वर्षपछि आफ्नो पुरानो घर भएको ठाउँमा फर्किए । तर हालत खराब थियो । ‘खेत कहाँ हो ? खोज्नुपर्यो’, उनी भन्छन्, ‘खेतमा २० फिटसम्म बालुवाले पुरेको थियो ।’ ६ महिनासम्म नदीको एक भंगालो उनको घर भएको ठाउँबाट कुदेको उनले त्यो दिन सम्झिए । भत्काएको ठाउँमा तटबन्ध बनाएपछि अहिले उनी पहिलाकै घर भएको ठाउँमा घर बनाएर बसेका छन् ।
कोसी गाउँपालिका-४ कै ६५ वर्षीय मोहम्मद मुस्ताक त्यो कहालीलाग्दो समय सझिँदै भन्छन्, ‘१० जनाको परिवार लिएर भागेको सम्झिँदा त अहिले पनि डर लाग्छ ।’ कोसी नदीले सुनसरीको पश्चिम कुसाहामा पूर्वी तटबन्ध भत्काएर गाउँ पसेको बेला उनी पनि घरमै थिए । ‘काम गरेर फर्किएको म आराम गर्न लागेको थिएँ, एकाएक फोन आयो, सप्तकोशी फुट्यो‚ गाउँ पस्यो भनेपछि म घरमा भएका १० जनालाई लिएर भागेँ,’ मुस्ताकले भने, ‘बाँध फुट्यो भन्ने हल्ला चलेपछि माथितिर हेर्दा त धुवाँजस्तो मुस्लो आएको थियो ।’
बाढी आउन थालेपछि परिवार लिएर हिँडेका मुस्ताक १२ किलोमिटर हिँडेरै ईनरुवा पुगेका थिए । खेतभरी धान थियो, खमारभरी अन्न थियो‚ सबै बगाएर खत्तम पारेको उनी सम्झन्छन् । घरबाट एउटा सामान पनि निकाल्न नपाएको सम्झँदा उनलाई अहिले पनि पीडा हुन्छ । सप्तकोशीले बाँध फुटाएर गाउँ पस्दा मरुभूमि बनेको खेती र बस्ती भर्खर लय समाउँदैछ तर अझै पुरानो अवस्थामा भने अझै पुगेको छैन ।
नहरचोकका ५५ वर्षीय मोहम्मद कलिम बाढी आएका बेला अहिले पनि निद्रा नलाग्ने बताउँछन् । ‘यो ठाउँ छोडेर कहाँ जानु, जाने ठाउँ पनि त छैन,’ उनी भन्छन्, ‘यदि बाढी आइहाल्यो भने भाग्ने हो‚ कतिबेला बगाउँछ के थाहा र ?’ विस्थापितहरूमध्ये अधिकांशले गाउँमै फर्किएर पक्की घर निर्माण गरिसकेका छन् भने कतिपय अझै फर्किएका छैनन् ।
जागेश्वर खान, खेलाफ खान, भुट्टी खान, भुदेश्वर खान, महेन्द्र खानलगायत अहिले पनि ईनरुवास्थित बलाहाको नहर आसपासमा बसेर जीवन गुजारिरहेका छन् । ‘छोडेर हिँड्दा गाउँ नै सबै हिँड्नुपर्छ‚ त्यसरी हिँड्दा कहाँ गएर बस्ने भन्ने त ठेगान हुनुपर्यो नि,’ उनीहरू प्रश्न गर्छन् ।
सधैँको त्रासमा बाँच्नुभन्दा बाहिर बस्दै सुरक्षित हुने ठानेर आफ्नो थातथलोमा नगएको नफर्किएकाहरूको भनाइ छ । वडा नम्बर ३ का वडा अध्यक्ष सुलेमान मन्सुरी त्यो बेलाको पीडा अहिले पनि ताजै रहेको सुनाउँछन् । अहिले सप्तकोशी नदीको भङ्गालो पश्चिमतर्फ बगेका कारण कोशीको डर तत्काललाई नभएको सुलेमानको भनाइ छ । ‘हरेक १० वर्षमा सप्तकोशीले धार परिर्वतन गर्छ,’ उनले भने, ‘बाँध फुटाउँदा भार पूर्वतर्फ बगेको थियो‚ अहिले पश्चिमतर्फ बग्दैछ ।’
फर्किएर घर बनाउँदै
२०६५ साल भदौ २ गते सप्तकोशी नदी पूर्वी तटबन्ध भत्काएर गाउँ पस्दा ४८ हजार मानिस प्रभावित भएका थिए । ३७ सय बिगाहा खेतीयोग्य जमिन कोसीले पुर्दा ३ हजार ३ सय ७० परिवारका घर भत्काएको थियो । विस्थापितहरू महिनौँ दिन शिविरमा बसे । र पछि घर फर्किए ।
पूर्व कृषिमन्त्री नन्दन दत्तको संयोजकत्वमा बनेको उच्चस्तरीय आयोगले निर्धारण गरेको जग्गाको मुआब्जा र क्षतिपूर्ति दिन गरेको सिफारिसका आधारमा मुआब्जालाई ४ भागमा वर्गीकरण गरेको थियो । तत्कालीन मन्त्री परिषद्ले विभिन्न भागमा वर्गीकरण गरी मुआब्जा दिने निर्णय गरेको थियो । जसमा रातो जोनमा भएकालाई २ लाख ५० हजार, निलो जोनमा परेकालाई २ लाख, पहेँलोलाई १ लाख र हरियोलाई ५० हजार प्रतिबिगाहाका दरले दिने निर्णय गरेकोमा त्यसअनुसार मुआब्जा दिइएको प्रशासनको भनाइ छ ।
सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोख्रेलले घटनाको १३ वर्ष बितिसकेकाले त्यो मुआब्जा लिन छुटेका कोही पनि नआएको बताए । १३ वर्षको बिचमा मुआब्जा र बालीको क्षतीपूर्ति पाएपनि प्रभावितहरु फेरि पुरानै ठाउँमा फर्किएका छन् । कोसी पसेर बगर बनेको जग्गामा अहिले पनि खेती हुन सकेको छैन । कोसी गाउँपालिकाका अध्यक्ष अयुब अन्सारी ४८ हजार जना विस्थापित भएकामध्ये २ प्रतिशत बाहिर रहेको हुनसक्ने बताउँछन् ।
अन्सारीका अनुसार राज्यले मुआब्जा दिएको छैन, जसको जग्गामा पुरेको थियो, बालुवा निकाल्नका लागि क्षतीपूर्ति दिएको हो । ‘बाढी पीडितले आन्दोलन गर्दा फर्कन चाहनेलाई बालुवा सफा गर्न भनेरक्षतिपूर्ति दिने सहमति भएको थियो,’ अध्यक्ष अन्सारीले भने । कोसीले प्रभावित भएका तत्कालीन गाविसहरू हरिपुर, श्रीपुर, पश्चिम कुसाह र लौकहीलाई मिलाएर अहिले कोसी गाउँपालिका बनाइएको छ । अहिले यी प्रभावित क्षेत्रका नागरिक धेरैजसो थाथथलोमा छन् । कतिपय झुपडीमै जीवन बिताउँदैछन् भने कतिपयले पक्की संरचना बनाएर आफ्नो बासस्थानको जोहो गरेका छन् ।