कांग्रेस नेता धनराज गुरुङलाई मातृशोक, देउवाद्वारा दुःख व्यक्त
काठमाडौँ । नेपाली कांग्रेसका नेता धनराज गुरुङ मातृशोकमा परेका छन् । नेता गुरुङकी आमाको मंगलबार राति ९२ वर्षको उमेरमा निधन भएको हो ।
नेता गुरुङले सामाजिक सञ्जाल फेसबुकमार्फत् आमाको निधन भएको जानकारी दिए । ‘आमा ! मलाई ठेस लाग्दा हजुरलाई दुख्ने थियो । मेरो दुखमा हजुरको आँखा रसाउने गर्थे । पन्चायती शासनका विरुद्ध लड्दा हजुरले मलाई ‘तिमी राजाको विरोधी भएका छौ रे ! मारी देला ! जोगिएर हिँड !’ भन्नुहुन्थ्यो। ९२ वर्षको उमेरसम्म असीम माया र आशीर्वाद दिइरहनु भयो । तर आज स्तब्ध पारेर जानुभयो । आमा !!,’ उनले लेखेका छन् ।
देउवाद्वारा दुःख व्यक्त
यस्तै प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले गुरुङजीकी आमाको निधनप्रति दुःख व्यक्त गरेका छन् । ‘नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङजीकी आमाको निधनको खबरले स्तब्ध भएको छु,’ देउवाले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘उहाँको आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु ।’