धितोपत्र व्यवसाय गर्न विकास बैंकहरुद्वारा अनुमति माग
काठमाडौं । डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालले धितोपत्र व्यवसाय गर्न पाउने व्यवस्था गरिदिन माग गरेको छ । नेपाल राष्ट्र बैंकद्वारा ‘ख’ वर्गको बैंकका रुपमा मान्यता प्राप्त विकास बैंकहरुको उक्त संस्थाले नेपाल धितोपत्र बोर्डलाई पत्र लेख्दै यस्तो व्यवस्था गर्न माग गरेको जनाएको छ ।
धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ६२ ले ‘बोर्डको सिफारिसमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी प्रचलित कानून बमोजिम स्थापना भएका बैंक वा वित्तीय संस्थाले आफ्नो सहायक कम्पनी मार्पmत मात्र धितोपत्र व्यवसाय गर्न पाउने गरी तोकिदिन सक्नेछ’ भन्ने व्यवस्था गरेकोले आफूहरुले पनि धितोपत्रको कारोबार गर्न पाउनु पर्ने एसोसिएशनको माग छ ।
धितोपत्र सम्बन्धी ऐनलाई कार्यान्वयन गर्न बोर्डले बनाएको धितोपत्र व्यवसायी नियमावली, २०६४ को दफा ७ को १ नं. बुँदाले ‘प्रचलित कानून बमोजिम स्थापना भएको ‘क’ वर्गका बैंक वा विशेष ऐनद्वारा स्थापित वित्तीय संस्थाको कम्तिमा ५१ प्रतिशत स्वामित्व भएको सहायक कम्पनीले बोर्डबाट अनुमतिपत्र प्राप्त गरी धितोपत्र दलाल वा धितोपत्र व्यापारीको कार्य गर्न सक्नेछ’ भन्ने व्यवस्था गरेकोले उक्त व्यवस्था अनुसार आफूहरुले पनि धितोपत्रको कारोबार गर्न पाउनु पर्ने माग गर्दै पत्र लेखेको हो ।
राष्ट्रिय स्तरका विकास बैंकहरुको औषत चुक्ता पूँजी ३ अर्ब ४० करोड रुपैंयाँ नाघिसकेको र १ हजारभन्दा बढी शाखाबाट करिब ४१ लाख खातावालाहरुलाई बैंकिङ् सेवा प्रदान गर्दै ३ लाख बढी ग्राहकलाई कर्जा प्रवाह गरेका एसोसिएसनले जनाएको छ । त्यस्तैगरी, २०७८ असार मसान्त सम्ममा ४ खर्ब ४५ अर्ब रुपैयाँ निक्षेप परिचालन गरी ३ खर्ब ८३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको एसोसिएसनका अध्यक्ष प्रद्युमन पोखरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।