प्रदेश १ मा सरकारले गुमायो बहुमत, नेतृत्वमा एमाले समाजवादीको दाबी !
विराटनगर । एमालेका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा नेकपा एमाले (समाजवादी) गठन भएपछि प्रदेश १ का सत्ताको जोडघटाउ शुरु भएको छ । प्रदेश १ मा एमालेबाट कतिजना सांसद एमाले समाजवादीमा जाने भन्ने यकीन भइनसकेपनि अहिलेसम्म १० देखि १४ जना प्रदेश सांसद नयाँ पार्टीमा जाने अनुमान गरिएको एमालेका नेताहरु बताउँछन् ।
अहिले कतिपय नेताले मुख खोलिनसकेको र उनीहरु पर्ख र हेर कै नीतिमा रहेकाले नेकपा एमाले समाजवादीमा को को जालान् भन्न सकिने अवस्था छैन । तर‚ आन्तरिक जोड घटाउमा लागेका एमाले समाजवादी पार्टीका नेताहरू संख्यात्मक रुपमा सांसद कम हुने आँकलन भने गर्न थालेका छन् ।
‘११ जनाको कित्ता क्लीयर’
प्रदेशसभामा एमालेका ५१ जना सांसदमध्येबाट सभामुखसहित २० जना आफ्नो पक्षमा हुने एमाले समाजवादीले दाबी गर्दै आएको छ । जसमा भीम आचार्यको स्पष्ट धारणा नआएको, सभामुख खुल्न नमिल्ने र अर्की सांसद गुलेफुन मियाँलाई मुद्दा परेकाले १७ जना सांसद आफ्नो पक्षमा भएको नेकपा एमाले (समाजवादी)का नेता राजेन्द्र राईले दाबी गरे । तर नेकपा एमालेका नेताहरु भने त्यो संख्या घट्ने दाबी गर्छन् ।
तत्काल एमाले समाजवादीमा जानेहरूमा खोटाङका राजन राई, उदयपुरकी सुनिता चौधरी, संखुवासभाकी पदमकुमारी गुरुङ, भोजपुरका राजेन्द्र राई, तेह्रथुमका लक्ष्मण तिवारी, मोरङकी सावित्रा रेग्मी, उपेन्द्र घिमिरे र कृष्णकुमारी राई रहेको बताइएको छ । त्यस्तै गणेश काम्बाङ, खिनु लङ्वा लिम्बु र बलवहादुर साम्सोहाङलाई पनि नेकपा एमाले (समाजवादी)ले गणना गरेको छ । एमाले (समाजवादी)मा अहिलेसम्म ११ जना प्रदेशसभाका सांसद जाने पक्का भइसकेको र यो सँख्या २० सम्म पुग्ने नयाँ दलमा खुलेका एक सांसदले बताए ।
अहिलेसम्म एमाले छाडेर एमाले समाजवादीमा जाने सांसदको संख्या न्यून रहेको नेकपा एमालेको दाबी छ । ९३ जना सांसद रहेको प्रदेश १ प्रदेशसभामा सभामुखसहित एमालेका ५१ जना छन् । अहिले प्रदेशसभामा एकल बहुमत प्राप्त गरिरहेको एमाले नेतृत्वको सरकारलाई ११ जना सांसदले नयाँ पार्टी रोजेमा त्यो संख्या ४० मा झर्नेछ । सांसद संख्याको आधारमा बहुमत पाउन प्रदेश सभामा ४७ जना सांसद आवश्यक पर्ने हुन्छ । यसरी हेर्दा नयाँ पार्टीमा पाँचजना मात्र सांसद गएमा पनि शेरधन राई नेतृत्वको सरकारले बहुमत गुमाउने छ ।
एमाले (समाजवादी)को सरकारमा दाबी
पार्टी विभाजनसँगै प्रदेश १ को मुख्यमन्त्री कुन पार्टीले पाउने भन्ने सबैको चासो देखिएको छ । बहुमत पाएको नेकपा एमालेको विभाजनसँगै मुख्यमन्त्री राईको सरकार ढल्ने निश्चितप्रायः भएको छ । यो अवस्थामा प्रदेश १ को मुख्यमन्त्रीमा नेपाली कांग्रेस, एमाले (समाजवादी), माओवादी केन्द्र वा नेकपा एमालेबाटै अर्को कोही हुने भन्ने टुङ्गो लागिसकेको छैन ।
गणितका हिसाबले ठुलो दल नेकपा एमाले नै हुने भएपनि उसलाई सरकारमा टिकाई राख्न अरु दलले साथ दिने छाँट देखिँदैन । नेकपा एमालेपछिको ठुलो दलको रुपमा रहेको कांग्रेस सरकारमा जान सक्ने आँकलन कतिपयले गरेका छन् । माथिको अंकगणितअनुसार प्रदेश १ मा एमाले समाजवादीलाई सरकारको चाबी दिनुपर्ने भनेर उक्त पार्टीका नेताहरूले दाबी गर्न थालेका छन् ।
माओवादीले ३ वटा प्रदेशको मुख्यमन्त्री पाएको, कांग्रेसले प्रधानमन्त्री र गण्डकी प्रदेशको मुख्यमन्त्री पाएकाले दुवै पार्टीले प्रदेश १ को मुख्यमन्त्रीमा दाबी गर्न नहुने संघीय समाजवादीका नेताहरुको दाबी छ । यदि एमाले समाजवादीले सत्ताको चाबी पाए सिनियर नेताको रुपमा राजेन्द्र राई मूख्यमन्त्री बन्ने वा जीवन घिमिरे सोही पार्टीमा जाँदा उनको पनि सम्भावना रहने र भीम आचार्यको भूमिका के हुने भन्ने जस्ता तत्वले काम गर्ने देखिएको छ । एमाले समाजवादीभित्र कुरा नमिलेर सत्ता कांंग्रेसको हातमा गए‚ नेतृत्व राजीव कोइरालाले गर्ने निश्चित जस्तै छ ।
प्रदेश १ का १६ नेता एमाले समाजवादीको केन्द्रीय कमिटीमा
नेकपा एमाले विभाजित भएर गठन भएको माधवकुमार नेपाल नेतृत्वको नेकपा एमाले समाजवादीको केन्द्रीय कमिटीमा प्रदेश १ बाट १६ जना नेताहरू समेटिएका छन् । केन्द्रीय कमिटी सदस्यहरूमा जयन्ती राई (भोजपुर), जगन्नाथ खतिवडा (उदयपुर), घनेन्द्र बस्नेत (मोरङ), राजेन्द्र राई (भोजपुर), बलदेव चोधरी (उदयपुर), कृष्णकुमार राई‚ डा.देउमान सम्बाहाम्फे (मोरङ), भाष्कर काफ्ले (ताप्लेजुङ), रविन कोइराला (झापा), महम्मद महफुज अन्सारी (सुनसरी), नरेश खरेल (झापा) र महेश रेग्मी (मोरङ) छन् ।
उनीहरु यसअघि पनि एमालेको केन्द्रीय सदस्य थिए । प्रदेशमा नेपाल पक्षका भनेर चिनिएका केन्द्रीय सदस्यहरू मोरङका जीवन घिमिरे र खोटाङका राजन राई पनि ९५ जनामा परेका छैनन् । केन्द्रीय कमिटीमा पर्नेमा उदयपुरका सुरेश कार्की, पाँचथरका गणेश काङ्बाङ, मोरङकी विद्या चाम्लिङ मोरङ र उदयपुरकी दुर्गा परियार पनि छन् ।