महन्थ पक्षको पार्टीको नाम लोजपा कि लोसपा ?

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (लोकतान्त्रिक) दर्ताका लागि निर्वाचन आयोगमा गत बुधबार निवेदन दिएका महन्थ ठाकुरले नयाँ नाम लिएर शुक्रबार (आज) नै अर्को निवेदन दिने भएका छन् । अहिले ठाकुरसहितका नेताहरु छलफलमा छन् । यसपछि आजै दर्ताका लागि आयोग जाने नेता एकवाल मियाँले मकालुखबरलाई जानकारी दिए । ‘छलफल हुन्छ र निष्कर्षमा पुगिसकेपछि आजै आयोग जानेछौँ,’ नेता मियाँले भनेका छन् ।

निर्वाचन आयोगले सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार एउटा पार्टीको नाममा ‘विशेषण’ झुन्ड्याएर अर्को दल दर्ता गर्न नमिल्ने बताएपछि ठाकुरले अर्को नाम प्रस्ताव गरेका छन् । एक नेताले मकालुखबरसँग भने, ‘लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा छलफल भइरहेको छ । सँगै लोकतान्त्रिक जनता पार्टी (लोजपा) राख्ने विषयमा पनि छलफल भइरहेको छ । केही साथीहरुले समाजवादी भने हट्न नहुने पनि भनिरहेका छन् । त्यसमा पनि विचार गरिरहेका छौँ ।

जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता डा. बाबुराम भट्टराई–उपेन्द्र यादव समूहले पाएपछि ठाकुर दलविहीनजस्तै बनेका थिए । तर, सरकारले संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत पुर्याएर दल दर्ता गर्नसक्ने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि ठाकुरले बुधबार जसपा लोकतान्त्रिक दर्ताका लागि निवेदन दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *