गाडीको सिटमै अस्ताइन् धर्मा, आफन्तले बुझे शव
धनगढी । श्रीमान्सँग आफू सामान्य बिरामी भएको भनेर उपचारका लागि गाउँबाट श्रीमान्कहाँ नेपालगञ्ज जान लागेकी रुकुम–पश्चिमको आठबिसकोट नगरपालिका–९ सिन्दुरपानीकी २८ वर्षीया धर्मा बटलाले बिहीबार राति बसको सिटमै प्राण त्यागिन् । बिहीबार घरको चाँजोपाँजो मिलाएर ना ३ ख ३७८८ नम्बरको नाइट बस चढेर उनी उपचारका लागि नेपालगञ्ज जाँदै थिइन् । गाउँमा भएका मेडिकलमा उपचार सम्भव नभएपछि श्रीमान्कै सल्लाहमा नेपालगञ्ज जाँदै गरेकी उनले श्रीमान् भेट्न पाइनन् ।
३२ महिनाको दुधे बालक काखमा च्यापेर एक्लै नाइट बस चढेकी उनीसँग बसमा पनि चिनेजानेका कोही थिएनन् । तर श्रीमानसँग पटक–पटक फोन सम्पर्क भइरहन्थ्यो । फोनमा उनले श्रीमान्लाई आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेकोसमेत बताउँदै आएकी थिइन् । तर मध्यरातमा सबै सुस्ताएको बेला उनी पनि सुस्ताइन् सधैंका लागि । उनले राति वान्ता गरेकी थिइन् । बसमा सवार यात्रुहरुकाअनुसार वान्ता गरेपछि पनि उनी बच्चालाई काखमै राखेर बसेकी थिइन् । सबै सुन्ताइरहेको बेला मध्यरातमा बच्चा एक्कासी रोयो । सबै यात्रु बिउझिँदा बच्चा उनको काखबाट खसको भेटियो । उनी बेहोस् भएपछि बच्चा खसेको रहेछ । यात्रुहरुले धर्मालाई उठाउन खोज्दा उनी सधैंका लागि अस्ताइसकेकी थिइन् ।
उनको मृत्युपछि बच्चा रुन थाल्दा अन्य यात्रुले बच्चालाई उनको काखमा राखिएका थिए । सोही अवस्थामा बसका एक यात्रुले तस्बीर खिचेका थिए । सोही तस्बीर अहिले निकै भाइरल भइरहेको छ । मृतक धर्मालाई पछिल्लो बिहान नेपालगञ्जको भेरी अस्पताल पुर्याइएको थियो । अस्पतालमा धर्मालाई मृत घोषणा गरेको थियो ।
नेपालगञ्जको भेरी अस्पतालको आइसियुमा राखिएको उनको शव आफन्तहरुले अन्तिम संस्कारको लागि लगेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले माइती र घर दुबै पक्ष आएर शव अस्पतालबाट लगेको बताए । धर्मकुमारीलाई प्रेसर हाइ र लो हुने समस्या रहेको श्रीमान दलबहादुर बटलाले बताए ।
बटालको माइतीघर डडेल्धुराको अजयमेरु गाउँपालिका वडा नम्बर ३ गुनपाल हो । उनले रुकुम–पश्चिमको आठबिसकोट नगरपालिका–९ का दलबहादुरसँग बिहे गरेकी थिइन् । दलबहादुरको उनी दोस्रो श्रीमती थिइन् ।